काठमाडौंबाहिरबाट पनि सेनाको पेन्सनपट्टा
काठमाडौं : नेपाली सेनाले उपत्यकाबाहिरबाट समेत पेन्सनपट्टालगायत आवश्यक कागजपत्र बनाउने व्यवस्था गर्ने तयारी गरेको छ । अवकाश वा राजीनामा गरेपछि सैनिक अधिकारीहरू आवश्यक कागजपत्र बनाउन काठमाडौं आउनुपर्ने बाध्यकारी व्यवस्थालाई जंगी अड्डाले हटाउन लागेको हो ।
अधिकृतभन्दा तल्लो तहका सबै सैनिक अधिकारीले अवकाशपछि आफ्नै प्रदेशबाट आवश्यक कागजपत्र बनाउन पाउने भएका छन् । जसले गर्दा अवकाशपछिका कागजपत्र बनाउन काठमाडौं आउनुपर्ने झन्टझटबाट सैनिक अधिकारी मुक्त हुनेछन् ।
अवकाशप्राप्त सैनिक अधिकारीलाई सहज होस् भनेर सेनाले पहिलो पटक नेपालगन्जबाट अभिलेखालय स्थापना गरी सेवा थाल्ने तयारी गरेको हो । अहिले अधिकृतभन्दा तल्लो तहबाट निवृत्त भएका सैनिक अधिकारीले उक्त सेवा लिन पाउने सैनिक प्रवक्ता यामप्रसाद ढकालले बताए । सैनिक प्रवक्ता ढकालले अन्नपूर्णसँग भने, ‘बितारै अधिकृत वा सोभन्दा माथिल्लो तहका सैनिक अधिकारीले समेत प्रदेशबाटै उक्त सेवा लिन पाउने व्यवस्था गर्ने तयारीमा छौं ।’
जंगी अड्डाले उपत्यकाबाहिर पहिलो पटक त्यस प्रकारको सेवा दिने तयारी गरेको छ । नेपाली सेनाले जेठभित्र नेपालगन्जमा अभिलेखालय कार्यालय स्थापना गर्दै छ । राजीनामा वा अवकाशपछि कागजात बनाउन काठमाडौं आउनुपर्ने बाध्यात्मक परिस्थिति हटाएर सहज बनाउन नेपाली सेनाले उपत्यकाबाहिर समेत अभिलेखालय खोल्ने तयारी गरेको हो । अहिले अवकाश वा राजीनामा दिएपछि आवश्यक कागजपत्र बनाउन सैनिक अधिकारी काठमाडौं आउनुपर्ने बाध्यकारी परिस्थिति छ । प्रत्येक प्रदेशमा अभिलेखालय खुलेपछि सैनिक अधिकारीहरूले त्यहीँबाट आवश्यक कागजपत्र बनाउने छन । जंगी अड्डाले अवकाश वा राजीनामा गरेपछि सैनिक अधिकारीहरूले बनाउनुपर्ने पेन्सनपट्टा, सञ्चयकोष, इन्स्योरेन्सलगायत कागजपत्र उपत्यकाबाहिरबाट समेत बनाउन सकिने व्यवस्था गर्न लागेको हो । त्यसका लागि सेनाले प्रदेश ५ को नेपालगन्जमा अभिलेखालय शाखा स्थापना गरी सेवा प्रवाह गर्न लागेको छ । नेपाली सेनाले अन्य प्रदेशमा समेत अभिलेखालय विस्तार गर्दै लैजाने तयारी गरेको छ ।
अभिलेखालयले उपदान, पेन्सनपट्टालगायत आवश्यक कागजपत्र बनाउनेछ । काठमाडौंबाट हुनुपर्ने काम समेत एकमुष्ठ जम्मा गरेर अभिलेखालयलकै प्रतिनिधिले काठमाडौं आएर काम गरिदिनेछन् । पहिलो चरणमा उक्त सेवाबाट अधिकृतभन्दा तल्लो तहका सैनिक अधिकारी लाभान्वित हुनेछन् ।