अब हाम्रै भूउपग्रह
![अब हाम्रै भूउपग्रह](https://annapurnapost.prixacdn.net/media/albums/sattelite_20190227062454_XZPNGXeJvH.jpg)
अहिलेसम्म विदेशी भूउपग्रहमा निर्भर रहँदै आएको नेपालले वैशाखभित्रै ‘भूउपग्रह’ प्रक्षेपणको तयारी गरेको छ। हुन त यो भूउपग्रह सानो आकारको हुनेछ। १० क्युबिक सेन्टिमिटर घनाकार (क्युबोइड) आकारको उक्त भूउपग्रहको नाम नै ‘नानो स्याटलाइट’ राखिएको छ। सानो आकारको भए पनि अन्तरिक्षमा नेपालको पहिलो उपस्थिति रहने भएकाले नेपालका लागि भने यसको महत्त्व धेरै छ। नेपालको आफ्नै भूउपग्रह नहुँदा टेलिकम्युनिकेसन र प्रसारणसम्बन्धी सेवाका लागि विदेशीको भर पर्नुपर्ने बाध्यता छ। भारतले दक्षिण एसियाली मुलुकका लागि भन्दै छुट्टै सार्क भूउपग्रहसमेत प्रक्षेपण गरिसकेको छ।
सानो आकारको यो भूउपग्रहले डाटा संकलन र तस्बिर खिच्न सकिन्छ। भूउपग्रहले तापक्रम, आद्र्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ। यसले बादलको बहाव हेरेर मौसमको जानकारीसमेत दिनेछ। यतिमात्र नभएर यसको मद्दतले हिमनदीको अवस्था, हिमतालको विस्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएका स्थानाहरू पनि पत्ता लगाउन सक्नेछ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) को अगुवाइमा निर्माण हुन लागेको यो भूउपग्रहले विभिन्न अनुसन्धानका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ। ‘बर्डस्’ कार्यक्रमअन्तर्गत जापानस्थित क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) सँगको सहकार्यमा नेपालले भूउपग्रह तयार गरेको हो। ‘नेपस्याट–१’ नाम दिइएको यो स्याटलाइट निर्माणका लागि सरकारले नास्टलाई एक करोड ८२ लाख रुपैयाँ दिएको थियो।
भूउपग्रह निर्माणको नेतृत्व नेपालको तर्फबाट क्युसेटमा स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका आभास मास्के र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले गरेका छन्। वैशाखमा भूउपग्रह प्रक्षेपणको तयारीमा जुटेको नास्टले अहिले स्याटलाइटका तथ्यांकहरू संकलनका लागि चाहिने ग्राउन्ड स्टेसनसम्बन्धी काम भइरहेको जनाएको छ। नास्टका अनुसार ग्राउन्डमा स्टेसनले भूउपग्रहले पठाएको तथ्यांकहरूको विश्लेषण र संकलन गर्छ। यो स्टेसन नास्टको कार्यालय परिसरमा निर्माण गरिने छ।
भूउपग्रहसम्बन्धी अध्ययन अनुसन्धान गर्न नास्टले अघिल्लो वर्षको माघ ३ गते जापानको क्युटेक (क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी)सँग सम्झौता गरेको थियो। अमेरिकाको फ्लोरिडाबाट उक्त भूउपग्रह प्रक्षेपण हुनेछ। सन् १९५७ मा तत्कालीन सोभियत संघले अन्तरिक्षमा पहिलो मानवरहित यन्त्र भूउपग्रह पठाएपछि त्यसको एक वर्षपछि अमेरिकाले पनि भूउपग्रह अन्तरिक्षमा पठाएको थियो। विकसित देशबीच भूउपग्रह प्रक्षेपण गर्नेबारे प्रतिस्पर्धा नै देखिन्छ। छिमेकी भारतले पनि दुई वर्षअघि एकैपटक एक सय पाँचवटा भूउपग्रह प्रक्षेपण गरेर विश्वकीर्तिमान कायम गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)