म्याग्दीको उच्च पहाडी क्षेत्रमा ९ पटक हिमपात
बेनी : मुस्ताङ र म्याग्दीको उच्च पहाडी क्षेत्रका बस्तीहरुमा मंगलबार रातिदेखि भएको हिमपातका कारण जनजीवन कष्टकर भएको छ। मुस्ताङमा यो सहित यस वर्ष ९ पटक हिमपात भएको छ। उपल्लो मुस्ताङका सडकमा बाक्लो हिउँ जमेकाले यातायात सेवा प्रभावित भएको छ। बाक्लो हिउँ जमेकाले सर्वसाधारण घरबाहिर निस्कन सकेका छैन्। गाईवस्तुलाई घाँस र आहराको समस्या हुन थालेको छ।
म्याग्दीको धवलागिरी, मालिका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको गुर्जा, घोडेपानी, लुलाङ, मुना, मुदी, टोड्के, कुइनेमंगले, मल्कवाङ, शिख, राम्चे, हिस्तान लगायतका ठाउँमा पनि चार फिटभन्दा बढी हिउँ जमेको स्थानीयबासीले बताएका छन्।
गर्मी याम सुरु भएपछि भएको हिमपातका कारण हिउँदे खेतिबालीमा असर पुगेको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताए। अन्नपूर्ण गाउँपालिका- ८ राम्चेका फासबहादुर गर्बुजाले हिमपातका कारण सडक, भवन, सिचाई, खानेपानीलगायत पूर्वाधार योजनाको काम प्रभावित भएको बताए। मध्य फागुनमा हिमपात भएको सम्भवत पहिलो भएको स्थानीय बुढापाकाहरुको भनाई छ।

प्रतिक्रिया दिनुहोस !