३० वर्षपछि मिस्टर भक्तपुर पावर हुने

३० वर्षपछि मिस्टर भक्तपुर पावर हुने

भक्तपुर : भक्तपुरमा ३० वर्षपछि दोस्रोपटक शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिताअन्तर्गत मिस्टर भक्तपुर पावर हुने भएको छ।प्रतियोगितामा महिलातर्फ समेत पहिलो मिस भक्तपुर पावरको स्पर्धासमेत हुने भएको छ।

भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा भक्तपुर नगरपालिका- ९ वडा खेलकुद समितिले आउँदो चैत ९ गते उक्त प्रतियोगिता गर्ने भएको हो। यसअघि २०४५ साल साउन १२ गते प्रथम मिस्टर भक्तपुर पावर भएको थियो। ३० वर्ष रोकिएको मिस्टर भक्तपुर यस वर्ष गर्न लागिएको प्रतियोगिताका संयोजक एवं फिटनेस संघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए।

उनले प्रतियोगितामा पुरुषतर्फ ६२ केजीमुनि र ६२ केजीमाथि गरी दुई तौल समूहमा स्पर्धा गराइने बताए। महिलातर्फ भने खुला हुने उनको भनाइ थियो। 'प्रत्येक तौल समूहका खेलाडीले तीन चरणमा बेन्च प्रेस, स्क्वाट र डेड लिफ्टतर्फ बारबेल उठाउनुपर्ने नियम बनाएका छौं,' उनले भने, ‘खेलाडीले यी तीनवटामध्ये जुनमा बढी तौल सफलतापूर्वक उठाए, त्यसैलाई मान्यता दिइनेछ।'

आयोजक समितिका अध्यक्ष राजेश प्रजापतिले खेलाडीहरुले तीनवटै चरणमा अनिवार्य भाग लिनुपर्ने नियम बनाइएको जानकारी दिए। पहिलो चरणमा कम्तीमा ५० केजी तौल उचाल्नुपर्नेछ। दोस्रो चरणमा भने कम्तीमा दुई किलो बढाएरमात्रै बारबेल उठाउन दिइनेछ।

'दोस्रो र तेस्रो चरणमा खेलाडीले उठाउने तौल निर्णायकलाई गोप्य रुपमा बुझाउनुपर्नेछ', अध्यक्ष प्रजापतिले भने, 'खेलाडीहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन नदिन यस्तो व्यवस्था गरिन्छ।' उनले पुरुषतर्फ ५० र महिलातर्फ २० जना शारीरिक सुगठनका खेलाडीहरु सहभागी हुने अनुमान गरिएको बताए। उनका अनुसार चैत ९ गते फाइनल हुनुअघि चैत ८ गते प्रिजजिङ राउण्ड हुनेछ।

प्रतियोगिताअन्तर्गत राखिएको बेन्च प्रेसमा खेलाडीले बेन्चमा उत्तानो परेर भारसहितको बारबेललाई आफ्नो छातीसम्म ल्याई दुवै हात सीधा हुने गरेर माथि उचाल्नु पर्नेछ। त्यस्तै स्क्वाटमा खेलाडीले भारसहितको बारबेललाई आफ्नो काँधमा राखेर हात पूरा तन्काएर माथि लानुपर्छ।

डेड लिफ्टमा भने खेलाडीले सीधा उभिएर भारसहितको बारबेललाई हातले कम्मर माथिसम्म उठाएर पुनः जमिनमा छोड्नुपर्छ। ३० वर्षअघि भएको मिस्टर भक्तपुर पावरको उपाधि विनेश जोन्छेले जितेका थिए। उनले बेन्च प्रेसमा ११५.५ केजी, स्क्वाटमा १२० केजी र डेड लिफ्टमा १३२ केजी गरी कूल ३६७.५ केजी उचालेर भक्तपुरकै बलियो पुरुष सावित गरेका थिए।

प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल र प्रमाणसहित आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको संयोजक मानन्धरले बताए। प्रतियोगिता भक्तपुर नपा ९ स्थित दत्तात्रय क्षेत्रमा खुला रुपमा गर्ने उनको भनाइ थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.