बाबाजीले दिएको चकलेट खाँदा ३ बालबालिका बिरामी
गाईघाट : बाबाजीले दिएको चकलेट खाँदा उदयपुरको कटारी नगरपालिका-११ गहुँवारीका ३ बालबालिका बिरामी परेका छन्। बुधबार दिउँसो बाटोमा हिडँदै गरेका तीन बाबाजीले दिएको चकलेट खाँदा स्थानीय रुद्रबहादुर श्रेष्ठका २ वर्षीय छोरा मिनु श्रेष्ठ र शेरबहादुर खत्रीका ३ वर्षीय छोरा संयोग र ५ वर्षीया छोरी समिक्षा खत्री बिरामी परेका हुन्।
तीनैजना बालबालिकाको कटारी अस्पतालमा सामान्य उपचारपछि बिराटनगरस्थित नोवेल अस्पतालमा थप उपचारका लागि लगिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी धुर्वकुमार श्रेष्ठले बताए। उनीहरु खतरामुक्त रहेको श्रेष्ठले जानकारी दिए।
कटारी अस्पतालले चकलेटमा विषादी रहेको हुनसक्ने आशंका गरेपछि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको डिएसपी श्रेष्ठले बताए। चकलेट खान दिएको एक घण्टापछि तीनैजना बालबालिका बिरामी परेपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।
खबर गरेलगत्तै गएको प्रहरीको टोलीले चकलेट खान दिएको आशंकामा बाबाजीलाई नियन्त्रणमा लिएको जनाएको छ। चकलेटकै कारणले बिरामी परेको हो वा हैन् भन्ने एकिन भइनसकेकाले प्रहरीले बाबाजीको नाम सार्वजानिक गरेको छैन्। डीएसपी श्रेष्ठले भने, 'आशंकामा पक्राउ परेका बाबाजीले नै चकलेट दिएको हो, हैन् खुलिसकेको छैन्, बयानका क्रममा उनीहरुले स्वीकार नगरेकाले थप अनुसन्धान थालिएको छ।'