नगरको विद्युतीय तार भूमिगत गरिने

नगरको विद्युतीय तार भूमिगत गरिने

भक्तपुर : नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको पुरानो नगर क्षेत्रका विद्युतीय तार पनि भूमिगत गर्ने भएको छ। एसियाली विकास बैंकको आर्थिक सहयोगमा पुरानो नगर क्षेत्रको सम्पूर्ण विद्युतीय तार भूमिगत गरिने भएको हो।

यसको लागि भक्तपुर नगरपालिकासँगै मिलेर जीपीएस म्यापिङ भइरहेको प्राधिकरणको भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले जानकारी दिए। भक्तपुर नगरको ऐतिहासिक र पुरातात्विक सम्पदा अवलोकन गर्न प्रदूषण हुन नदिन विद्युतीय तार भूमिगत गर्न लागिएको उनले जानकारी दिए।

उनका अनुसार विद्युतीय तारसँगै टेलिफोन, इन्टरनेट, केबल नेटवर्कलगायत तारसमेत भूमिगत गरिनेछ। विद्युतीय प्रसारण लाइन भूमिगत भए पनि ट्रान्सफर्मर भने जमिनमाथि नै हुनेछन्। तर,त्यसलाई सम्पदा क्षेत्रअनुसार मौलिक संरचनाले ढाकिने भएको छ। विद्युत् प्राधिकरणले काठमाडौंका केही क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्य अघि बढाइसकेको छ। सोहीअनुसार जीपीएस म्यापिङ भइसकेपछि भक्तपुर नगरमा पनि भूमिगत गर्ने प्राधिकरणको योजना रहेको छ। ‘भक्तपुर नगरमा विद्युतीय तार भूमिगत गर्न एसियाली विकास बैंक तयार भइसकेको छ’, भक्तपुर वितरण प्रमुख श्रेष्ठ भन्छन्, ‘यसमा भक्तपुर नगरपालिकाले पनि चासो राख्दै आएको छ।’

१७ किलोमिटर तार फेरियो

यसैबीच केन्द्रले भक्तपुर नगरभित्रको करिब १७ किलोमिटर नांगो एवं पुरानो तार फेरेको छ। नांगा र पुराना तारले प्राविधि चुहावट बढेपछि नयाँ तार फेरिएको केन्द्र प्रमुख श्रेष्ठ बताउँछन्। ‘भक्तपुर नगरभित्रको १७ किलोमिटर नांगो एवं पुरानो तार झिकेर नयाँ एबीसी तार हालेका छौं’, उनले भने, ‘यसले प्राविधिक चुहावटसमेत नियन्त्रण हुनेछ।’ उनका अनुसार केन्द्रअन्तर्गतकै सबैभन्दा लामो नगरकोट फिडर टुक्राउने कामसमेत भइरहेको छ। भक्तपुरदेखि नगरकोटसम्म विद्युत् प्रवाह भएको यो फिडरको मुख्य प्रसारणलाइन करिब ४६ किलोमिटर लामो छ। ‘मुख्य प्रसारणलाइन लामो हुँदा पनि प्राविधिक चुहावट बढी हुन्छ’, उनले भने, ‘त्यसैले यसलाई टुक्राउँदै छौं।’

उनले ग्राहकतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेखनीय उपलब्धि हात लागेकाले प्राविधिक चुहावट नियन्त्रणमा समेत केन्द्र लागिपरेको सुनाए। विद्युत् प्रसारणमा करिब ८ प्रतिशत प्राविधिक चुहावट हुन्छ।

भक्तपुरमा केन्द्रअन्तर्गत माघ महिनामा १३.७९ प्रतिशत विद्युत् चुहावट भएको अभिलेख छ। यसमा प्राविधिक चुहावट ८ प्रतिशतलाई आधार मानिए ग्राहकतर्फ ५.७९ प्रतिशतमात्रै विद्युत् चुहावट भए मान्न सकिन्छ।तैपनि प्राविधिक र अप्राविधिक चुहावट १० प्रतिशतमा झार्ने लक्ष्यसहित काम भइरहेको केन्द्र प्रमुख श्रेष्ठ बताउँछन्।

सबै फिडरको स्तरोन्नति

उनले केन्द्रअन्तर्गत रहेको चारवटै फिडरको स्तरोन्नति गर्ने कामसमेत भइरहेको छ। उनका अनुसार सम्पूर्ण फिडरको मुख्य प्रसारणलाइनमा बढी झमताको कभर कन्डक्टरसहितको तार फेर्ने कार्य भइरहेको हो। यी सबै कार्य गर्न प्राधिकरणको केन्द्रीय कार्यालयले पर्याप्त बजेट विनियोजन गरेको प्रमुख श्रेष्ठले जानकारी दिए। उनले भने, ‘सम्पूर्ण फिडरको क्षमता बढाएसँगै कभर कन्डक्टरसहितको तार फेरिएपछि प्राविधिक चुहावट उल्लेख्य रुपमा न्यून हुने विश्वास लिएका छौं’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.