ऋण लिन पनि घुस, दुईजना हेडमास्टरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : बैंकबाट ऋण निकाल्नका लागि घुस लिएर बिचौलियाको काम गर्ने दुई प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। पर्साका दुई प्रधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, छिपहरमाईका प्रधानाध्यापक प्रभु गिरी र रेडक्रस प्राथमिक विद्यालय मुडली फूलवरिया, पर्साका प्रधानाध्यापक अब्बास मियाविरुद्ध मुद्दा दायर गरेको हो ।
नेपाल बैङ्क लिमिटेड, श्रीपुर शाखा वीरगंजबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिइरहेका उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबी गरेर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दगालले जानकरी दिए ।
घुस लिइसकेको अवस्थामा रेडक्रस प्राविका प्रधानाध्यापक मियालाई अखितयारको टोलीले पक्राउ गरेको थियो । उनले पटक पटक गरी ४० हजार घुस लिइसकेका थिए । मिया १२ हजार घुस लिँदालिँदै पक्राउ परेका हुन् । उनले नेराप्राविका प्रअ गिरीसहितको मिलोमतोमा घुस लिएका खुलेको छ । उनीहरुविरुद्ध ५२ हजार बिगो मागदाबीसहित मुद्दा चलाइएको हो ।
प्रतिक्रिया दिनुहोस !
