शिव, ज्योतिर्लिंग र महाशिवरात्रि

शिव, ज्योतिर्लिंग र महाशिवरात्रि

हिमालको काखमुनि रहेको सर्वोत्तम धार्मिक पावनभूमि ‘पाशुपत क्षेत्र’ बागमती तटमा अवस्थित छ। यो त्यही पवित्रभूमि हो, जहाँ फाल्गुन कृष्ण चतुर्दशीको रात्रिकालीन समयमा ज्योतिर्लिंगका रूपमा आदिदेव अर्थात् देवाधिदेव महादेव प्रकट भएको घडीलाई महाशिवरात्रि भनी सम्बोधन गरिएको हो। शिवलिंगलाई उत्पत्ति र सृष्टिको प्रतीक मानिन्छ। पाँचमुख, दस हात भएका र सम्पूर्ण देवका स्वरूपसमेत मानिने कैलासनिवासी शिव, त्रिदेवमध्ये एक सर्वशक्तिशाली देव हुन् भने जसका रौद्र (संहार) र सौम्य (मंगलकारी) प्रमुख दुई रूप देखिन्छन्।

प्राचीनकालदेखि वर्तमानसम्म सरसर्ति हेर्दा विभिन्न कालखण्डमा शिवलाई विविध रूपमा अनेक पर्यायवाची नाममा जस्तो– रुद्र, पशुपति, महादेव, इशान, महेश, शंकर, शम्भु, भोलेनाथ, भव, शर्व, गिरिश, कैलाशपति, गोरखनाथ आदिबाट सम्बोधन गरिएको प्रस्ट हुन्छ। ई.पू. १५०० अगाडिको विश्वको सर्वप्राचीन र सबभन्दा ठूलो ग्रन्थ ऋग्वेदमा नै रुद्रको रूपमा प्रस्तुति रहेको छ।

भनिन्छ– वेद नै शिव हुन् र शिव नै वेद। वेद नै हिन्दुधर्मको आधार सामग्री पनि हो। अझै ऋग्वैदिक समयअगाडिको सिन्धुघाँटीमा विकसित सभ्यता केन्द्रमा प्राप्त अवशेषहरूले त शिव वा शैवधर्मको प्राचीन अस्तित्वमा बल पुर्‍याएको ठम्याइ छ। अहिले शिवको शक्ति र लोकप्रियता झन्झन् बढ्न गई सर्व श्रेष्ठ देवको स्थान प्राप्त भएको छ।

वायुदेव, अग्निदेव तथा विषालु सर्प धारण गर्ने दिगम्बर स्वरूप, मुण्डमाला लगाई भष्मलेपन रूप एवं पशुको संरक्षक पशुपतिका रूपमा शिवलाई देखाइएको छ। कहीं विनाशकारी शक्तिको प्रतीक भयावह रूपमा त कतै रोगनिरोधक, जंगल–जंगल विचरण गर्ने चर्मी, शिखण्डी, जटाधारी तथा जगत् हितार्थ हलाहल कालकूट विषसेवन गर्ने नीलकण्ठी स्वरूपमा प्रस्तुत गरिएको छ। शिवलगायत शिवजीको शक्ति पार्वतीसहित शिवगणका गंगा, गणेश कुमार, नन्दी आदिको महिमाबारे विविध पौराणिक स्रोतले प्रकाश पारेका छन्।

प्राचीनदेखि आजसम्म नै नेपालका एक प्रमुख आराध्यदेव शिव अर्थात् ज्योतिलिंगका रूपमा पशुपति उद्भव रात्रि अर्थात् महाशिवरात्रिको अवसरमा काठमाडौं, देउपाटनस्थित पशुपति–मन्दिर प्रांगण स्वदेश–विदेशका तीर्थालुहरूको महासागर नै बन्दछ।

शिवरात्रिमा टोलटोलमा ‘महादेवलाई जाडो भयो दाउरा देऊ’ भन्दै केटाकेटी हिँडेको र साँझमा पशुपतिलगायत क्षेत्रमा धुनी बालेर मकै, भटमास, बदाम, तरुल आदि खाँदै रमाएको दृश्य मनमोहक हुन्छ।

पाँच मुहारको शिवलिंग पृथ्वी, जल, तेज, वायु र आकाश तत्वको प्रतीक मानिन्छ भने पूर्वतर्फ तत्पुरुष, पश्चिम सद्योजात, उत्तर वामदेव, दक्षिण अघोर र आकाशलाई इशान मानेर उपासना गरिन्छ। शिवलिंगमा माथिबाट तल क्रमशः रुद्र, विष्णु र ब्रह्म भाग र शक्तिको प्रतीक जलहरिलाई लिइन्छ।

महाशिवरात्रिमा शिवजीको षोडशोपचार विधि अर्थात् आवाहन, आसन, पाद्य, अघ्र्य, आचमन, स्नान, वस्त्र, उपवीत, गन्ध, पुष्प, धूप, दीप, नैवेद्य, ताम्बुल, दक्षिणा, आरती प्रदक्षिणा आदि क्रमबाट पूजा हुन्छ। रात्रिको चार प्रहरमा विधिपूर्वक चार किसिमको पूजा तथा महादीप, अखण्डदीप, लक्षबत्ती साथ बेलपत्र आदि शिवजीलाई अर्पण गरिन्छ। निराहार व्रतसमेत बसी मन्त्र जप, ध्यान, भजन–कीर्तनमा भक्तजन–साधु–सन्त, महात्मासमेतको सहभागिता रहन्छ। शिवरात्रि पर्वको केन्द्रस्थल यही पाशुपत क्षेत्र पशुपतिनाथ देखिए पनि देशका अन्य धार्मिक पीठमा समेत मेला लाग्छ। दिवा समयमा टोलटोलमा ‘महादेवलाई जाडो भयो दाउरा देऊ’ भन्दै केटाकेटी हिँडेको र साँझमा पशुपतिलगायत क्षेत्रमा धुनी बालेर मकै, भटमास, बदाम, तरुल आदि खाँदै रमाएको दृश्य मनमोहक हुन्छ।

देव, दानव, मानव सबैले आपत्विपत्मा गुहार्ने, पुकार्ने अनि साकार र निराकार दुवै रूपमा पूजित देव नै महादेव हुन्। विश्वका असंख्य जनसमुदायबाट विभिन्न नाम, काम र स्वरूपमा पुजिने पशुपति अर्थात् शिवसँंग सम्बद्ध सर्वाधिक लोकप्रिय पावन पर्व नै हो महाशिवरात्रि।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.