को हो हाम्रो मुख्य शत्रु ?
किन अचानक कुनै नाम धेरै चर्चित हुन पुग्छ ? पशुपति शर्माको कुनै गीत पहिले पनि लोकप्रिय रहेछ । ‘मलाई अमेरिका नि यै, मलाई जापान पनि यै’ बोलेको गीत कहिलेकाहीं सुने पनि गायकको नामसँग परिचित थिइनँ । तर अहिले पशुपति शर्माको धेरै ठूलो चर्चा छायो ।
यसै दैनिकमा पशुपतिको हालै सार्वजनिक भएको गीत ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाइन्न नेपालमै हो छुट’ युट्युबबाट हट्यो भन्ने समाचार पढेपछि सबैलाई के रहेछ त त्यो गीतमा भन्ने कुतूहल जाग्यो । तर हटाइयो भने पनि गुगल सर्चमा भेटियो । उक्त गीत दुई दिनमै ३० हजारले हेरिसकेका रहेछन् । उनको गाना त हट्यो तर लगत्तै हटाइएपछिका प्रतिक्रिया सम्बोधन गरेर वक्तव्य आयो उनको । त्यसलाई पनि झन्डै दुई लाखले हेरिसकेछन् इन्टरनेटमा हेर्दा । हेर्ने क्रम जारी छ ।
केही महिनाअघि काठमाडौंबाट विराटनगर जाँदा हवाईजहाजमा मेरो आडैको सिटमा एक महानुभाव थिए । उनका दुवै आँखा थिएनन् । उनी जन्मदैदेखि अन्धो वा जन्मान्ध जस्तो लाग्यो । हवाईजहाज रोक्नासाथ उनको मोबाइलमा घन्टी बजिरहेको थियो । छिटो आइपुग्नुपर्यो समयको कार्यक्रम जाँदैछ । मैले तपाईंको परिचय भनेर सोध्दा उनले भने, ‘मेरो नाम रमेश प्रसाई हो, म पत्रकार हुँ । एफएम रेडियोमा एउटा कार्यक्रम प्रस्तुत गर्छु ।’ मैले मेरो मोबाइलबाट उहाँको फोटा खिचें र फेसबुकमा राखें । पहिले नै चिन्नेहरूले कमेन्ट गरे ‘प्रखर वक्ता धरानका रमेश प्रसाई ।’
रमेशको पछिल्लो सम्बोधन पाँच लाख व्यक्तिले हेरिसकेका रहेछन् । त्यो क्रम जारी छ । लोकप्रिय भइरहेका छन् पशुपति शर्मा र रमेश प्रसाईका सम्बोधनहरू । दुइटैमा एउटा कुरा समान पाइन्छ । त्यो हो सत्तासीनहरूको कडा आलोचना ।
हामी अखबार पढ्नेहरूका लागि यी सम्बोधनका शब्द नयाँ होइनन् । किनभने हामी देशका दैनिक र साप्ताहिक पत्रपत्रिकामा ठूलादेखि साना भ्रष्टाचार, अनियमितता, सरकार र कर्मचारीका विवादग्रस्त कामका समाचार र टिप्पणी पढ्दैछौं । कैयन् जनताले पढिसकेको वा सुनिसकेका कुरा कुनै गीतकार, कलाकार वा पत्रकारले रोचक ढंगले प्रस्तुत गरेको सुन्दा झन् दमदार भएका छन् । सञ्चारजगत् र जमानाले २०÷२५ वर्षमा धेरै गुणात्मक र मात्रात्मक परिवर्तन हेरिसकेको छ । अब जनसमक्ष पुग्न धेरै खर्च गरेर वा माइकिङ गरेर मान्छेलाई बसमा चढाएर सभास्थलमा ओसार्नु पर्दैन ।
रमेशले धरानमा बोलेको कुरो नेपाल र विदेशमा गरी पाँच लाख मान्छेले हेरिसके, सुनिसके र अझै सुन्दैछन् । अखबारमा मात्र होइन, पुस्तकहरूमा पनि देशमा भ्रष्टाचार झनै मौलाएको चित्र उद्धृत भएको पाइन्छ । सुशीला कार्कीको न्याय नामक पुस्तकमा पनि प्रधानमन्त्रीले भ्रष्टाचार न्यूनीकरणमा केही गर्न नसकेको स्पष्ट छ । प्रहरी प्रमुख आईजीपीबाट त्यो पुरानो समयमा पनि २० लाख मागिएको अच्युत खरेलको पुस्तकमा उल्लेख छ । हालै कर्णाली प्रान्तको मन्त्री बनेपछि खड्गबहादुर खत्रीले स्वयं चारवटा ठेक्का प्राप्त गरेको समाचार पनि जनता पढ्न बाध्य छन् । विकास विकेन्द्रित गरिएको पाइएन तर भ्रष्टाचार भने विकेन्द्रित भएको सर्वत्र सुनिएको छ ।
राजनीतिक इच्छाशक्ति र स्वयंमा दृढ इमान भएका व्यक्तिको शासन हुँदा देश स्वच्छ मात्र होइन, संसारकै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको जनता बस्ने राष्ट्र बन्दोरहेछ ।
एउटा प्रान्तको सरकारले गाडी खरिद गर्दा गडबड गरेको समाचार आएका छन् । अर्को प्रान्तको सरकारले भोजभतेरमै कयौं करोड रुपैयाँ स्वाहा पारेका समाचार पनि छापिएका छन् । पानी खान नपाउने तेह्रथुमको एउटा गाउँपालिका प्रमुखले ६५ लाखको गाडी किनेर चढेको समाचार पनि छापिएकै छ । प्रधानसेनापतिमा पूर्णचन्द्र थापा आएपछि बल्ल एक सय ८७ जनालाई सेनामा पैसाको लेनदेनमा सैनिक भर्ती गरिएको भन्दै कोर्टमार्सल चलेको समाचार पनि पढिएकै छ । सुनकाण्डमा तस्कर, भरिया, ज्यानमाराका आरोप लागेका वर्तमान न्यायाधीश सुरेन्द्रशमशेरसहित आठनौजना न्यायाधीशलाई प्रधानन्यायाधीशले राजधानी झिकाए । शासन, प्रशासन, अदालत, सेना, प्रहरी यत्रतत्र सर्वत्र भ्रष्टाचार छ भन्ने जानकारी हरेक नेपालीलाई मात्र होइन विदेशीलाई पनि छ ।
व्यापार व्यवसाय बढाउने सूचकांक (बिजनेस डुइङ इन्डेक्स) मा २०१७ मा १०५ औं स्थानबाट हाम्रो देश २०१८ मा ११० औं नम्बरमा झरेछ । यस वर्ष भ्रष्टाचार अवधारणा सूचाकांकमा (करपस्न परसेप्सन इन्डेक्स) मा १२२ औंबाट तल १२४ औं मा झरेको छ । छिमेकी भारतको सरकार नेपालभन्दा ४६ स्थान गतिलो देखिएको छ, ७८ औं स्थानमा । यही एसिया महादेशको सानो देश सिंगापुर आज नेपालभन्दा १२० स्थानमा उच्च छ । डेनमार्क, न्युजिल्यान्ड, फिनल्यान्डसरह नै पुगेको सिंगापुर स्विडेन, नर्वेभन्दा बढी स्वच्छ शासन भएको देश मानिन्छ ।
त्यहाँ पनि एसियाकै भारतीय चिनियाँ र मलया मूलका मान्छे बस्छन् । तर सिंगापुरमा स्वच्छ शासन छ किनभने त्यहाँ शासन सत्ता चलाउनेहरू एकपछि अर्को इमानदार र भ्रष्टाचारविरोधी आए । राजनीतिक इच्छाशक्ति र स्वयंमा दृढ इमान भएका व्यक्तिको शासन हुँदा देश स्वच्छ मात्र होइन, संसारकै सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको जनता बस्ने राष्ट्र बन्दोरहेछ । सिंगापुर आज स्विट्जरल्यान्ड, नर्वे, अमेरिका इत्यादि संसारका सबैभन्दा बढी प्रतिव्यक्ति आम्दानी हुने सर्वोच्च १० देशमध्ये छ । सिंगापुरको प्रतिव्यक्ति आम्दानी आठौं स्थानमा ५७ हजार सात सय १४ डलर छ । सातौं स्थानमा रहेको अमेरिकाको प्रतिव्यक्ति आय ५९ हजार पाँच सय ३१ डलर छ ।
‘हलो काटी मुग्रो’ शीर्षक समाचार एउटा दैनिकले छापेको थियो । राजधानीमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान मासेर राष्ट्रपति भवन विस्तारको विरोधमा पूर्व आईजीपी खड्गजित बराल, राजेन्द्र सिंह, मोतीलाल बोहरालगायत अरू पूर्वप्रहरी उच्च पदस्थ अधिकारी रहेछन् ।
आज व्यापारी भन्दैछन्, व्यापार व्यवसायमा मन्दी छ । एक डलरको झोले कम्पनीसँग अर्बौंको हवाईजहाज खरिद गर्ने हाम्रा शासक र महाप्रबन्धकहरू छन् । २०७३÷७४ मा २५ करोडको मल खरिद भयो भनी भुक्तानी भयो तर मल किसानकहाँ भने पुग्न सकेन ।
एक हजार आठ सय ४८ ठेक्का अलपत्र शीर्षकको समाचार अन्नपूर्ण पोस्ट् दैनिक (१४ माघ २०७५) मा पढें । यसले गर्दा १ खर्ब १८ अर्ब रुपैयाँ जोखिममा परेको रहेछ । यसमध्ये ५६ प्रतिशत अर्थात १ हजार ३२ ठेक्काको म्यादसम्म थप नगरी बीचमै छाडिएको छ । बाँकी ४४ प्रतिशतको म्याद थपिँदै अल्मल्याएर राखिएको छ । सबैभन्दा बढी ६८.७६ प्रतिशत सडक विभागको ठेक्काको म्यादसमेत थपिएको रहेनछ । खानेपानी ढल निकासको ५९ प्रतिशत ठेक्का अलपत्र छ ।
त्यसैगरी सहरी विकास, सिँचाइ विभाग, विद्युत् प्राधिकरण, नागरिक उड्डयन प्राधिकरण, नेपाल टेलिकम, स्थानी पूर्वाधार विभाग इत्यादिमा गरी २४ अर्ब ठेकदारलाई दिइएको छ । यी र यस्ता बेथितिले के देखाउँछ भने जनतासँग कर लिअ, विदेशसँग ऋण लिएर जनताको ढाप्लोमा थुपार, त्यो पैसा ठेकेदारलाई देऊ आफ्नो कमिसन पक्का गर, भ्रष्टाचारको भागबन्डा गरी खाऊ अनि विकास अलपत्र पार्न राजस्व बर्बाद गर । यस्तो नीति लिएको शासन र प्रशासन कायम रहुन्जेल सुखी नेपालीको सपना असम्भव छ ।
पहिलेपहिले कम्युनिस्टहरू वर्ग विश्लेषण गर्दा मुख्य शत्रु को हो भनी छुट्ट्याउने गर्दथे । तर अहिले मुख्य शत्रु को भन्ने प्रश्न स्वतः हराएको छ । किनभने कम्युनिस्टहरू कांग्रेसका गिरिजाप्रसाददेखि पुराना कट्टर पञ्च लोकेन्दबहादुर चन्द, सूर्यबहादुर थापा, कांग्रेसबाट छुटेर राजा ज्ञानेन्द्रको मनोनीत भएका शेरबहादुर देउवाका सरकारमा मन्त्री भएका छन् कम्युनिस्ट नामधारीहरू । त्यसैले आजको नेपालको प्रधान शत्रु भनेको सर्वव्यापी भ्रष्टाचार रहेछ । यो अनियन्त्रित रहुन्जेल जनताको उन्नति हुन्छ भन्ने ठान्नु मृगमरिचीका मात्र हुनेछ ।