धर्मकर्म र राजनीति

धर्मकर्म र राजनीति

आधुनिक युगमा धर्मको पनि व्यापार हुन थालेको छ। धर्म परिर्वतन गराउने कर्म गर्दैमा राजनीतिक समर्थन व्यापक हुन्छ भन्ठान्नु महाभूल हो।


२०६३ सालको अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको हो। अन्यथा आदिअनादि कालदेखि यो राष्ट्र विश्वको एक मात्र हिन्दु राष्ट्र कायम भएर बसेको थियो। धर्मनिरपेक्ष राष्ट्र घोषणा भएकोमा हिन्दु धर्मावलम्बीहरू असन्तुष्ट हुन पुगेका छन्। कतिपयको भनाइ छ– धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्नु थियो भने त्यसअगाडि जनमत संग्रह गर्नुपर्थ्यो।

यथार्थमा संसारका सबै धर्ममा उत्तम विचार नै रहेका छन्। सबै धर्ममा हिंसा नगर्नू, अन्याय नगर्नू नै भनिएको छ। मुसलमानहरूको धार्मिक पुस्तक सरियतमा भएको व्यवस्थालाई पूर्णतः लागू गरिने हो भने मुसलमान महिला संसारका अन्य महिलाभन्दा धनी हुने थिए। क्रिस्चियन धर्मगुरुहरूले धार्मिक दानदातव्यलाई निजी रूपमा प्रयोग नगरी आम मानिसको स्वास्थ्य, सेवा तथा शिक्षा विकासमा लगानी गरेको पाइन्छ। त्यस्तै जुडिजम धर्ममा पनि महिलाको उच्च स्थान रहेको छ। जैन धर्मले कुनै प्राणीलाई पनि अघात नपुर्‍याउनू भन्ने सन्देश दिएको छ। बुद्ध धर्मले अहिंसा परमो धर्म भनेको छ। हिन्दु धर्ममा महिलाहरू अन्य धर्ममा भन्दा सम्मानित छन् भन्ने कुरा भगवान्को नाम उच्चारण गर्दा नै स्पष्ट हुन्छ। यो कुरा सीता, राम, लक्ष्मी, विष्णु आदिको सम्बोधनमा महिलालाई प्राथमिकता दिएबाटै प्रमाणित हुन्छ।

हिन्दु धर्मावलम्बीको जीवनदर्शनका बारेमा हाम्रा ऋषिमुनी र चार वेदले राम्रा पक्ष दर्शाएका छन्। समय अघि बढ्दै जाने क्रममा ती उच्च आदर्श प्रयोगमा ह्रास आउँदै गयो। अन्ततः महिलालाई हिन्दु धर्मले दिएको सम्मान र उच्च स्थानमा विकृति आई दासी, कमारी, बछिनी, बाँधा, नगरबधू आदि संज्ञा पनि दिन थालियो। यसका अतिरिक्त हिन्दु धर्मका मठाधीशहरूले मठमन्दिर र देवालयका दातदातव्य र सम्पत्ति निजी प्रयोगमा उपयोग गर्न थाले। पुरातन युगमा ऋषिमुनीहरूले वटुकहरूलाई आफ्नो आ श्रममै राखी अस्त्रशस्त्र, गृहस्थ आ श्रम सबै कुराको शिक्षा दिने गरेका थिए। बौद्ध धर्मावलम्बीहरूले अहिले पनि बौद्ध भिक्षुक र अनारिकालाई सानै उमेरदेखि गुम्बामा राखी बुद्ध धर्मसम्बन्धी ज्ञान दिने गर्छन्। क्रिस्चियन धर्ममा पनि भावी पादरी र ननहरूलाई चर्चमा राखी शिक्षादीक्षा दिने काम हुन्छ। हाम्रा हिन्दुधर्ममा परापूर्वदेखि गुरुजनबाट सञ्चालित प्रशस्त सांस्कृतिक पाठशाला खोलिएका थिए, जुन अंग्रेजी विषयक अध्ययनमा वृद्धि हुने क्रममा ती लोप हुँदै गए।

आज एकथरी हिन्दुहरूले नेपाल धर्मनिरपेक्ष राष्ट्र कायम भएयता अन्य धर्मले हिन्दु धर्ममाथि आक्रमण गर्न थालेको महसुस गर्न थालेका छन्। नेपालमा प्रशस्त मस्जिद खुलेका छन्। चर्च त टोलटोलमा छन्। भनिन्छ– नेपालमा क्रिस्चियनहरूको संख्या ३० लाख नाघिसकेको छ। जातीय भेदभावबाट तिरस्कृत, गरिब र पीडित वर्ग, जनजाति यस धर्मतर्फ आकर्षित भएको देखिएको छ। क्रिस्चियन धर्म किन यति धेरै फैलिँदै छ र यसका कारण केके हुन् भनी हिन्दु धर्मका सन्तमहन्तले मूल्यांकन गरेको देखिँदैन। यसका अतिरिक्त हिन्दु धार्मिक नेता र गुरुवर्गले नै पुराना परम्परा र मान्यता रेटेको देखिन्छ। आधुनिक युग प्रतियोगितात्मक युग हो। जुन क्षेत्रमा पनि प्रतियोगिता हुन्छ। समयसापेक्ष परिवर्तन गर्दै लानुपर्नेमा जडसूत्रवादी भई पुरानै कुरा अलापिँदै बस्ने हो भने विकास हुँदैन।

हिन्दु धर्ममा समयअनुसार परिवर्तन नआएको पहिलो विषय हो– छुवाछूत। तल्लो जाति र माथिल्लो जाति म्लेच्छ भनेर हिन्दु मन्दिरहरूमा प्रवेश गर्न निषेध गरिन्छ। दोस्रो विषय हो– नेपालभर हजारौं मन्दिर, देव, मठ र गुठी छन्। तिनका धनसम्पत्ति, भेटी कहाँ जान्छ र कसले खान्छ ? त्यसको हिसाबकिताब छैन। पशुपतिनाथ, गुह्येश्वरी, मुक्तिनाथ र जनकपुरको जानकी मन्दिरको आयको कहिल्यै पनि पारदर्शी भएन। मठमन्दिरका आयस्ताबारेमा पुजारी, भट्ट र भण्डारी अनि पण्डितहरूबीच रस्साकस्सी चलेर कहिलेकहीं मुद्दा बनी न्यायालयमा पुगेको पनि देखिन्छ। भगवान्का नाममा भक्तले चढाएको प्रसाद तथा दक्षिणा भगवान्ले खानु हुन्न, त्यो त आम गरिब र दुःखीलाई दिनुपर्छ। ठूला आयस्रोत भएका र नाम प्रख्यात भएका कुनै पनि मन्दिरका नाममा वा तिनको स्रोतबाट स्कुल, कलेज र अस्पताल खुलेको जानकारीमा छैन। प्रायजसो मन्दिरको सम्पत्ति, आयस्ता मन्दिर व्यवस्थापन समिति, स्थानीय राजनीतिकर्मी, गुरु, पुरेत र पण्डितहरूबीच भागबन्डा हुने गरेको सुनिन्छ। द्वन्द्वकालका बेला स्वर्गद्वारी मठको जग्गाजमिनमा ठूलो आक्रमण भएको थियो।

स्वर्गद्वारीमा सयकडौं वटुक पढ्छन्। तिनको खर्च त्यहाँ राखिएका गुठी जग्गाको आयस्ता, मन्दिरको भेटी र आयस्ताबाट हुने गर्दछ। त्यस्तो पवित्र उद्देश्य लिई खोलिएको धार्मिक संस्थाको जग्गाजमिन तिनै हिन्दुहरूले आफ्नो कब्जामा लिनका लागि माओवादीको बिल्ला लगाई जबर्जस्ती कब्जा गरेका थिए। यथार्थमा हिन्दु धर्ममाथि आक्रमण भयो भन्ने हिन्दुहरू नै मठमन्दिर आदिको भेटी, जायजेथा गुठी गमन गरेको जगजाहेर छ। राजधानीको महँगो गुठीको जग्गालाई पाखा भित्ताको जग्गासँग सट्टापट्टा गरी हालीमुहाली गरेको यथार्थ छन्। यस्ता कर्म अन्य धर्मकाले गरेको नभई हिन्दु धर्म मान्नेहरूले नै विभिन्न धार्मिक कर्मका निम्ति राखिदिएको गुठीको जायजेथालाई मस्यौट गरी परापूर्वमा गुठीका निम्ति राखिदिएको सम्पत्ति मासी दाताको आत्मामा चोट पुर्‍याएको देखिएको छ। सर्वोच्च अदालतमा हुँदा एउटा मुद्दा पढेकी थिएँ, जसमा हिन्दु परिवारले परापूर्वमा बनेको मन्दिर मासी त्यहाँ राखिएका देवीदेवताका मूर्तिहरू यत्रतत्र फ्याँकी त्यसैमाथि पाँचतले भवन बनाई भोग गरेको थियो।

पच्चीस–तीस वर्षपूर्व काठमाडौं मनिदर नै मन्दिरको सहरका रूपमा देखिन्थ्यो। सबैतिर खुला थियो। सानाठूला सबै मन्दिर निर्धक्क खडा थिए र प्रत्यक्ष रूपमा टाढाबाट पनि देख्न सकिन्थ्यो। अब ठूला मन्दिरवरिपरिका जग्गा मिचेर ठूला–ठूला मलहरू बनेका छन् र सानातिना मन्दिरहरू, खुलामा भएका देवताका मूर्तिहरू कसैको आँगनभित्र वा भान्सा घर र चर्पीनजिक पुगेका छन्। यति मात्र होइन, कतिपय पुरिएका छन्। अब अनियमितता गर्न र भ्रष्टाचार गर्न कसैलाई डर नै छैन। निर्बाध रूपमा जे रकम पनि ढुक्कसँग भ्रष्टाचारीहरूले खाइदिन्छन्। न त लाज छ न शरम नै। त्यस्ता मन्दिरका जग्गा, गुठीका जग्गा निर्बाध रूपमा रकम कलम मिलाई मस्यौट गर्नेगराउने माल, नगरपालिका, भूमिसुधार र नापीका कर्मचारीहरू हुन् र छन्। कतिसम्म भने कतिपय स्थानमा आयका निम्ति भनी मन्दिरलाई छेक्ने गरी सटर, घर बनाई भाडामा लगाइएको छ। त्यो भाडाबाट मन्दिरको स्याहार र सम्भार हुनुपर्नेमा चार आना मन्दिरलाई र बाह्र आना कर्मचारी र मन्दिर व्यवस्थापकका पेटमा परेका छन्। पछिल्ला दिनमा यस्ता मन्दिर र देवलका जग्गाजमिन र गुठीहरूमा ठूलो आक्रमण भएको देखिन्छ। साथै संरक्षणमा न त सरकारले चासो देखाउँछ न आम जनताले।

अबका दिनमा ‘म हिन्दु धर्म मान्दछु’ भनी आउने जोकोहीलाई हिन्दु बनाई मन्दिरमा प्रवेश गर्न दिनुपर्छ। हिन्दु बन्नका लागि धोती, पहेंलो कुर्ता लगाई संस्कृत नै पढ्नु पर्दैन, असल कर्म र चरित्रबाटै हिन्दु बनिने हो।

कतिपय मन्दिर मवाली र टोले गुन्डाको कब्जामा छन्। धार्मिक आस्थाबाट चढाइएका भेटी र रकमहरू तिनका मोजमस्तीमा खर्च हुने गरेको छ। तिनै आयस्ताको भागबन्डाकै निम्ति प्रसिद्ध नाम चलेका मन्दिर व्यवस्थापन समितिमा जानका लागि राजनीतिक दलका कार्यकर्ता विशेषतः सत्ताधारी दलका कर्मीहरू तँछाडमछाड गरेको समेत देखिन आएको छ। अहिले हर क्षेत्रमा राजनीतिक भागबन्डाको चलन हुँदा मन्दिर र धार्मिक संगठन पनि राजनीतिक दबाब र प्रभावबाट अछुतो छैनन्।

मन्दिरको सम्पत्तिको विषयलाई लिएर भारतका मठमन्दिर पनि मुक्त छैनन्। कहिलेकहीं मठको अधिकारका निम्ति त्यहाँ पनि सन्न्यासी र भक्तहरू मारिएका छन्। तर केही संस्थाले उत्तम काम गरेका छन्। साईबाबा संस्थाले अस्पताल, शिक्षा, गाईपालन जस्ता पुण्य काम गरेको छ। तिरुपती बालाजीको स्वयं बैंक छ र त्यहाँको आय मानव जातिको परोपकारमा प्रयोग हुन्छ। नेपालमा पनि मन्दिरको आयस्ता र धनसम्पत्तिलाई नेपाली जनताका हितमा खर्च गर्ने हो भने ठूलो समूहमा गरिब, निमुखा र रोगीको उपकार हुने थियो। संविधानतः यो धर्मनिरेपक्ष राष्ट्र घोषित भए पनि तथापि सबै धर्म र धार्मिकहरूको संरक्षण राज्यले नै गर्नुपर्छ। तथापि गत वर्ष भारत र नेपालमा सन्तमहन्त र हिन्दु गुरु आदिले टुँडिखेलमा सम्मेलन गर्दा हिन्दु धर्म स्थापनाका निम्ति माग गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले अब हिन्दु धर्मलाई स्थापित गर्नेजस्ता नचाहिँदा कुरा गर्दै नगर्नू भनी जवाफ दिनुभएको थियो। तर प्रधानमन्त्रीले चासो राखी राष्ट्रको करोडौं बजेट खर्च गरी दक्षिण कोरियाको विवादास्पद मुन भन्ने क्रिस्चियन संस्थाबाट करोडको पुरस्कार स्वीकार गर्नुभई त्यस संस्थाकी प्रमुखको भव्य सत्कार र सम्मान गर्नुभएको छ। त्यति मात्र होइन, संस्थाकी उनै नेत्रीले प्रदान गरेको होली वाइन पिउने र पिलाउने कार्यक्रमसमेत रह्यो।

जसै होली वाइन सोल्टी होटेलमा वितरण भयो टोलटोलमा रफ्तारमा चर्चको वृद्धि भएको देखिन्छ। पहिले शनिबार कार्यक्रम हुन्थे कोठाभित्र भजन हुन्थे। अब त माइकबाट अंग्रेजी भाषाका भजन, गीत रातदिन घन्किन थालेका छन्। हुँदाहुँदै हुलका हुल मानिस सडक र मानिसका घरघरमा पसी हिन्दु परम्परा र संस्कार होच्याउने र खुलेआम धर्म प्रचार गर्ने क्रम सुरु भयो। यस्ता कर्मले द्वन्द्व ननिम्तिएला भन्न सकिन्न। मानिस जो पढेलेखेका छन्, उसले धर्मप्रचारको रफ्तार किन भनी बुझेका छन्। हुँदाहुँदै युट्युबमा देखिन थालेको छ– खाइलाग्दा मोटाघाटा विदेशीहरूले हिमालयका कुनाकन्दरामा बसेका जनजाति र पिछाडिएका वर्गसमक्ष गई युद्धस्तरमा धर्म प्रचारप्रसार गरेको सुनिन्छ। ती प्रचारक खुलेआम भन्छन्– हिमाली भेषका सोझा सीधा नेपाली जनतालाई धर्म परिवर्तन गराउन सरल छ। धेरै परि श्रम गरिरहनु पर्दैन। यसरी आम गरिब नेपाली जो सीधासाधा छन्, तिनको अज्ञानता र गरिबीको फाइदा उठाई ‘यिसुको शरणमा जाऊ तिम्रो रोग, भोक, शोक अन्त्य गरिदिनुहुनेछ’ भनेको पाइन्छ। खाइलाग्दा ज्यान भएका ती मानिसले गरिब र आर्थिक भार परेकाहरूको टाउको छोई भ्रमको खेती गर्नु कति उपयुक्त होला ?

नेपालमा १११ जाति, जनजाति र पिछडिएका वर्ग छन्। तिनका आफ्ना मौलिक संस्कृतिहरू छन्। कोही मूर्तिको, कोही वनदेवी र जंगलको, कोही रूखको र कोही वायु र मृतात्माको, कोही सूर्य र पानीको पूजा गर्छन्। सबैका अलगअलग रीतिरिवाज छन्। परम्परा र प्रथा खराब भएमा तिनलाई समयसापेक्ष सुधार गर्दै जानुपर्छ, तर धर्म परिवर्तनका नाममा आफ्नो मौलिक संस्कृति, मूल्य र मान्यता तथा परम्परा, खानपान, भेषभूषालाई भने बलि चढाउनु कदापि हुन्न। किनकि यसो गर्दा जातीय अस्तित्व नै समाप्त वा लोप भएर जानेछ।आधुनिक युगमा सबै कुराको व्यापार हुँदै आएको छ। धर्मको पनि व्यापार हुन थालेको छ। आफ्नो दुनो सोझ्याउन अरूको उपकारको बहाना गर्नेहरूको यहाँ कमी छैन। धर्म परिर्वतन गराउने कर्म गर्दैमा राजनीतिक समर्थन व्यापक हुन्छ भन्ठान्नु महाभूल हो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी कट्टर हिन्दु हुन्, तर उनको दलले क्रिस्चियनबाहुल्य स्थानबाट मत किमार्थ नपाउनुपर्ने थियो। अबका दिनमा ‘म हिन्दु धर्म मान्दछु’ भनी आउने जोकोहीलाई हिन्दु बनाई मन्दिरमा प्रवेश गर्न दिनुपर्छ। हिन्दु बन्नका लागि धोती, पहेंलो कुर्ता लगाई संस्कृत नै पढ्नु पर्दैन, असल कर्म र चरित्रबाटै हिन्दु बनिने हो। अबका दिनमा विद्यार्थीलाई धर्म र धार्मिक शिक्षा प्रदान गर्न अनिवार्य छ। समयसापेक्ष अंग्रेजी पनि पढाउनुपर्छ र हिन्दु संस्कृति र संस्कारको ज्ञानसमेत दिन जरुरी छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.