बलात्कारपछि बालिका हत्या गर्ने युवकलाई जन्मकैद
भोजपुर : बालिकालाई बलात्कारपछि हत्या गरेको अभियोगमा एक युवकलाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ । अदालतले ११ वर्षीया बालिकालाई
बलात्कारपछि हत्या गरेको अभियोगमा साल्पासिलिछो गाउँपालिका–५, दोभाने सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश हरिश्चन्द्र ईङ्नामको एकल ईजलासले राईलाई जबरजस्ती करणी उद्योगमा ८ वर्ष र ज्यान मारेको अभियोगमा जन्मकैदको फैसला सुनाएको हो ।
अदालतको फैसलाले मृतक बालिकाको परिवारलाई अभियुक्त राईबाट एकलाख क्षतिपूर्ति दिने निर्णय ठहर गर्दै जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत भोजपुरका निमित्त श्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए ।
पीडक राईले गत भदौ १० गते बेलुका मोबाइलमा फिल्म हेर्दै सुतेकी ११ वर्षीया बालिकालाई बलात्कार गरेपछि आमाबुवालाई सुनाइदिने डरले घाँटी थिचेर हत्या गरेका थिए ।
पीडित परिवारको उजुरीका आधारमा उनलाई घरबाटै नियन्त्रणमा लिइएको थियो । मृतक बालिका दोभानेको सालेवामै आमा धनमनी र सौतेनी बुवा राजन राईसँग बस्दै आएकी थिइन् ।