तीन वर्षअघि गर्नुपर्ने काम बल्ल, एसईईमा सात थरी प्रश्न

तीन वर्षअघि गर्नुपर्ने काम बल्ल, एसईईमा सात थरी प्रश्न

काठमाडौं : यस वर्षदेखि एसईई प्रश्नपत्र सात थरीको हुने भएको छ। अनिवार्य ६ विषयका प्रश्नपत्र प्रदेशअनुसार फरकफरक तयार पारिएको हो। परीक्षा सञ्चालन केन्द्रबाटै हुँदैछ। शिक्षा ऐनअनुसार कक्षा १० को अन्तमा लिइने एसईई परीक्षा सञ्चालन प्रक्रिया तीन वर्षअघि नै बदलिनुपर्ने थियो। प्रदेशमा पर्याप्त संरचना नभएका कारण परीक्षा नियन्त्रण कार्यालयले केन्द्रबाटै परीक्षा चलाउँदै आएको छ।

पनिकाले सात प्रदेशका परीक्षार्थीलाई सातै प्रकारको प्रश्नको सेट बनाएर सम्बन्धित जिल्लामा पुर्‍याइसकेको जनाएको छ। यस वर्ष साधारण धारतर्फ ६ वटा अनिवार्य विषयको प्रश्न सात प्रकारको हुने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। अन्य धारमा धेरै विषय हुने भएकाले प्रदेशअनुसार फरकफरक सेटमा प्रश्न सोध्न कठिन छ।

साधारण धारमा ६ विषय अनिवार्य हुन्छन्। ‘छ विषयका लागि पनि सात प्रदेशमा एकएक सेट प्रश्न बनाउँदा ४२ सेट बनाउनुपर्छ। अन्य विषय पनि फरकफरक सेटमा प्रश्न बनाउन केन्द्रमा रहेको संयन्त्रले सकेन’, अधिकारीले भने, ‘एसईई परीक्षा प्रदेश स्तरमै सञ्चालन हुने अवस्था आएपछि मात्र हरेक विषयको प्रश्न फरक हुन्छ।’

परीक्षार्थीले साधारण धारतर्फ ६ वटा अनिवार्यबाहेक दुई सय पूर्णांकको ऐच्छिक विषयको परीक्षा दिनुपर्छ। यस्ता विषय ४० वटा हुन्छन्। प्राविधिक धारमा ३६ वटा तथा संस्कृत धारमा १९ वटा विषय हुन्छन्। यी सबै विषयको प्रश्न केन्द्रबाटै छापिएको हो।

शिक्षा ऐनले कक्षा ११ र १२ लाई पनि विद्यालय शिक्षामा गाभेपछि कक्षा दसको अन्तमा लिइने परीक्षाको दायित्व प्रदेशमा गएको छ। केन्द्रमा रहेको राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षामात्र सञ्चालन हुने व्यवस्था छ।

एसईई परीक्षा चैत १० गतेदेखि चैत २१ गतेसम्म सञ्चालन हुँदैछ। यसपटक एसईईमा नियमित र आंशिक गरेर चार लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदैछन्। तीमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर तीनबाट एक लाख ६ हजार दुई तथा कर्णाली प्रदेशबाट सबैभन्दा कम ३५ हजार परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार नौ सय ६९ केन्द्र तोकिएको छ।

परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको पनिकाले जनाएको छ। प्रश्नपत्र तथा उत्तरपुस्तिका सम्बन्धित जिल्लामा पुगिसकेको छ। अधिकारीले भने, ‘उपत्यकाबाहेकका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसेकको छ। कर्मचारी व्यवस्थापन पनि गरिसकेका छौं।’

कुन प्रदेशमा कति परीक्षार्थी ?       

प्रदेश एक : ८३८१८

प्रदेश दुई : ७०५६८

प्रदेश तीन  : १०६००२

गण्डकी  : ४८०३६

प्रदेश पाँच : ७६९८३

कर्णाली : ३५६२४

सुदूरपश्चिम : ५३९७२


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.