मधेसमा आत्मीयता खोज्दै कलाकार
वीरगन्ज : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको चित्रकला विभाग र उडान विङ्स अफ आर्ट वीरगन्जको आयोजनामा वीरगन्ज कला महोत्सव २०७५ शनिबारदेखि सुरु भएको छ। गहवा माई मन्दिर परिसर वीरगन्जमा सुरु सामूहिक चित्रकला प्रदर्शनीको पहिलो दिन काठमाडौं र वीरगन्जमा बसेर चित्र बनाइरहेका कलाकार सहभागी थिए।
मन्दिर परिसर क्यानभासले झकिझकाउ छ। कोही कुची बोकेर दृश्य खोज्दै टहलिएका छन् त कोही चुपचाप चित्रमा घोत्लिरहेका छन्। कोही कुनामा बसेर ल्यान्डस्केच कोरिरहेका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञ तथा चित्रकला विभाग प्रमुख सुष्मा राजभण्डारीले माईस्थान मन्दिरको गुम्बजलाई चित्रमा उतारिन्। उनले ललितकला विभागले हरेक प्रदेशमा स्थानीय कलाकारिताको पहिचानका लागि कार्यक्रम आयोजना गरिएको उनले बताइन्।
वरिष्ठ कलाकार मुकेश मल्लले अमूर्त भावलाई चित्रमा कोरिरहेका थिए। चित्रलाई कलाकारको आँखाबाट भन्दा पनि भाव र सन्देशको आधारमा हेरिनुपर्ने उनको तर्क थियो। कलाकारिताकै विषयमा ११ वटा पुस्तक र दर्जनौं आलोचनात्मक टिप्पणी लेखिसकेका मल्ल नेपाल कला र संस्कृतिमा अत्यन्तै अब्बल रहेको बताए।
स्थानीय चित्रकार मुकेश महतोले मधेसमा गलत रूपमा प्रयोग भएको दाइजो प्रथालाई क्यानभासमा उतारे। मधेसमा छोरी जन्मँदै सामाजिक संस्कारको जञ्जिर बाँधिदिने कुप्रथाको विरोधस्वरूप उक्त चित्र बनाएका हुन्। वीरगन्जका अर्का कलाकार श्याम श्रेष्ठले शान्तिको खोजीमा परेवा उडाइरहेको दृश्यलाई क्यानभासमा उतारे। एक समय निकै चर्चित श्रेष्ठ डिजिटल आर्टको सुरुआत भएपछि केही सुस्ताएका थिए। लामो समयपछि कला महोत्सवमा आएर कुची चलाएका उनी निकै हँसिलो मुद्रामा बुद्धलाई चित्रमा समेटिरहेका थिए।
स्थानीय नारायण लामा पनि फूलको चित्र बनाउँदै थिए। युवा अवस्थामा कलाकारितामै समय खर्चेका लामा पछिल्ला केही वर्षदेखि निष्क्रिय थिए। युुवा अवस्थामा अनेक थरी चित्रकलाका स्वरूपहरू मनमा आउने गरे पनि भनेजस्ता चित्र बनाउन नसकेको गुनासो गरेका थिए।
सेतो क्यानभासमा रातो रंगीचंगी कठपुतलाको चित्र बनाउँदै गरेको भेटिए अजमत अलि अन्सारी। क्यानभासमा उनको कुची यसरी दौडिरहेको थियो कि लाग्थ्यो उनी चित्रकलाकै हजारौं माइललको दौडमा प्रतिस्पर्धी छन्। उनी भर्खरै मात्रै बंगलादेशमा भएको आर्ट प्रदर्शनीमा सहभागी भएर फर्केका थिए। बंगलादेशको भोजपुरी समाजमा रहेको कठपुतला संस्कृति दृश्यलाई चित्रमा उतारे।
यस्तै घडिअर्वा पोखरीमा पनि कलाकारको बाक्लो चहलपहल देखिन्थ्यो। पोखरीको बीचबीचमा बनाइएको चौतारीमा आर्टिस्टहरू भेला भएर आफ्नै धुनमा कुची चलाइरहेका थिए। काठमाडौंबाट वीरगन्ज ओर्लेका दीपेन्द्र बनेपालीले बिहानपख देखेको वीरगन्ज, घण्टाघर र रिक्सा, माई मन्दिरलाई चित्रमा समेटेका थिए। त्यस्तै विनोदकुमार गुप्ताले महावीर स्थानको पुरानो मन्दिरलाई क्यानभासमा सजाए। वीरगन्जमा लोप हुने स्थितिमा रहेको महावीर मन्दिर र प्रकृतिको स्वरूपलाई उनले जीवन्त बनाएका हुन्।
आकाशी रङको कमलको फूल बनाएर प्रकृतिलाई नै च्यालेन्ज गर्न लागिपरेकी थिइन् जया शर्मा। डीबी राईले सम्पूर्ण वीरगन्जलाई चित्रमा उतार्ने दुस्साहस गरे। रिक्सा, मन्दिर, टाँगाका दृश्यचित्र उनको क्यानभासमा उत्रिएको थियो। कुनै थिममा मात्रै काम गर्न मन पराउने सुनील कुसहवा बढ्दो सहरीकरणको भयावह दृश्य कोरिरहेका थिए। मध्य दिउँसोको माई मन्दिर परिसरलाई बिजोड चित्रमा उतारेका थिए सिर्जन राजभण्डारीले। प्रत्यक्ष दृश्यलाई निकै सरल र सुन्दर तरिकाले चित्रमा उतार्न खप्पिस सिर्जन चुपचाप कुची चलाइरहेका थिए। हरेक कलाकार निकै मेहनतले आफ्नो कला देखाउन लागिपरेका थिए।
यस्तै विराट श्रेष्ठ, सञ्जय गिरी, चन्द्रा श्रेष्ठ, सुष्मा श्रेष्ठ, कान्छाकाजी भाषिमा, सपना शाह, शंकरमान श्रेष्ठलगायत महोत्सवको आर्ट वर्कसपमा सहभागी थिए। ललितकला प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष भण्डारीकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वीरगन्जका वरिष्ठ चित्रकार स्वर्गीय भरतप्रसाद सर्राफका छोरा कमलेश सर्राफ, वरिष्ठ चित्रकारद्वय श्याम श्रेष्ठ र नारायण लामालाई दोसल्ला ओढाएर सम्मान गरियो। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानलगायतले शुभकामना दिए।
प्रतिक्रिया दिनुहोस !