सत्यता प्रतिबिम्बित रङपर्व फागु
रङहरूको राजा पर्व होलीमा नेपाली मनहरू पनि रङमङिदै छन् यसपटक पनि गत वर्ष झैं। वसन्त ऋतुको आगमनसँगै नेपालभरि नै लामो समयदेखि अविच्छिन्न रूपमा मनाइँदै आएको यो पर्वलाई फागु, फागुपूर्णिमा, होली, होरी, वसन्तोत्सव, पटवास विलासिनी आदिले पनि चिनिन्छ। यो पर्व एक दिन वा एक हप्ता वा योभन्दा बढी पनि ठाउँअनुसार मनाइन्छ। नेपालमा भने तराईमा बसोवास गर्ने थारूलगायत सबै जातिले यो पर्व मनाउँछन्।
फागु पर्वको उद्भव कसरी भयो भन्ने कुरा अध्ययन गर्दै जाँदा दुई हजार वर्षअगाडि पुग्न सकिन्छ। यो पर्व दैत्यराज हिरण्यकशिपु, हिरण्यकशिपुका छोरा विष्णुभक्त प्रह्लाद, हिरण्यकशिपुकी बहिनी होलिका, श्रीकृष्ण–गोपिनीहरूका प्रसंग तथा चीरोत्थान सन्दर्भ, युधिष्ठिर– श्रीकृष्ण संवाद आदि तात्कालिक साहित्यिक सामग्रीसँग जोडिन पुगेको छ। फाल्गुण शुक्ल अष्टमीको दिन चीरोत्थान गरेपछि यो पर्वको सुरुवात हुन्छ भने पूर्णिमाको दिन हर्षपूर्वक मनाइन्छ। तराईमा भने पछिल्लो दिन होलीमा सरिक हुने परम्परा छ।
पौराणिक कथनअनुसार हिरण्यकशिपु विष्णुलाई परम शत्रु मान्थे तर उनका छोरा प्रल्लाद आमाको गर्भदेखि नै विष्णुभक्त थिए। फुपू होलिका भने हिरण्यकशिपुकै सहयोगी थिइन्। प्रह्लादलाई जिउँदै जलाएर मार्ने षड्यन्त्रअनुरूप ब्रह्माबाट आगोले छुन–पोल्न नसक्ने वरदान प्राप्त बहिनी हालिकालाई हिरण्यकशिपुले अगाडि सारे। आगोमा जलाई मार्नका लागि दनदनी बलिरहेको आगोमाथि बालक प्रह्लादलाई च्यापेर उनी होमिइन्। तर परोपकारी सत्यकार्यमा मात्र आगोले उनलाई नछुने वरदान थियो। यस्तो दुष्कर्म र असत्यको कुमार्गमा लाग्दा होलिका आगोमा जलेर भस्म भइन्। बालक प्रह्लादलाई आगोले जलाउन सकेन।
विशेषगरी तराई भागमा मनाइने फागुलाई हिमाल र पहाड पनि जोड्ने पर्वका रूपमा विकास गर्ने बेला आएको छ।
सांकेतिक रूपमा होलिका दहनका दृश्यहरू यस अवसरमा देख्न सकिन्छ। कहींकहीं त विधिपूर्वक छाप्रोमा आगो लगाएर नै दहन गरिन्छ भने कतै चीर आकार बनाउँदा कपडाको टुक्रा पनि बाँधिन्छ, जसलाई गोपिनीका रंगीन कपडाका प्रतीक पनि भन्ने गरिएको छ। चीरोत्थानको समयमा भजन गाउने, रसिक गीतहरू जोड्ने र ‘होली आयो रे’ भन्दै होलीको दिन पिचकारीसमेत प्रयोग गरी रंगीन पानी छ््यापाछ्याप गर्ने, सत्यको प्रतीक टीका लगाई परस्पर अबिर दल्ने र हावामा उडाउने, भाङसमेत मिसाइएका मिठाई बनाउने–बाँड्ने, गाउँघर–टोलटोल डुल्ने, मीठा परिकार खाने तथा ठाउँ र परम्पराअनुसार विभिन्न वस्तु (पूmल, पात, बोक्रा, जरा, अमला, मह, दही आदि) बाट बनाइएका सुगन्धित रङ–लेपनसमेत प्रयोग गरी हर्ष प्रकट गर्दै रोमाञ्चित वातावरण बनाउन पर्वमा सहभागी हुने परम्परा छ।
होली परम्परादेखि मानिआएको पर्व हो। रङहरूको सम्मि श्रणयुक्त सत्मार्ग प्रतिबिम्बित गराउने पर्व हो होली। नेपालमा मात्र नभएर नेपालबाहिर धेरै मुलुकमा यो पर्वले स्थान पाएको छ। नेपालीहरूबीच खानपान, भेला, हाँसठट्टा–मनोरञ्जन गर्दै सद्भाव साटासाट गरेर यो पर्व मनाएको देख्न सकिन्छ। हाम्रो मौलिक पर्वमा समाहित नभए पनि हामीले आत्मसात गरी रुचाइएका चाडका सूचीमा जोडिएको उत्सव हो यो। आज फागु–होलीमा देखिन थालेका विकृति मौलाउन नदिई सबैलाई सहज हुने वातावरण बन्न सक्दा नै यसको उपादेयता प्रतिबिम्बित हुनेछ। विशेषगरी तराई भागमा मनाइने फागुलाई हिमाल र पहाड पनि जोड्ने पर्वका रूपमा विकास गर्ने बेला आएको छ।
प्रतिक्रिया दिनुहोस !