धमिराले खायो वाल्मीकि

धमिराले खायो वाल्मीकि

काठमाडौं : प्रदर्शनीमार्गको वाल्मीकि विद्यापीठ पुग्नुभयो भने प्रवेशद्वारमै देख्नुहुन्छ— विद्या धनं सर्वधन प्रधानम्। यो उक्तिलाई वाल्मीकिले मात्र होइन, धेरै शैक्षिक संस्थाले आदर्श मानेका छन्। तर यो विद्यापीठको भौतिक, शैक्षिक एवं प्रशासनिक अवस्था देख्दा लाग्छ, उक्तिले क्याम्पसलाई जिस्क्याइरहेको छ। किनभने, न यहाँ पढाइ नियमित छ, न त यहाँका संरचनाको सदुपयोग भएको छ।

विद्यापीठ परिसरको पछिल्लो भागमा छ— पुस्तकालय भवन, जहाँ पुस्तकको संरक्षण त भएको छैन। यहाँ रहेका ऐतिहासिक एवं प्राचीन महत्त्वका हजारौं पुस्तक पनि धमिराले खाएका छन्। ६८ वर्ष पुरानो विद्यापीठमा संस्कृतको उच्च तहको पढाइ हुन्छ। यो नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत सबैभन्दा बढी विद्यार्थी भएको र बढी विषय पढाइ हुने मूल आंगिक क्याम्पस हो।

विद्यापीठको पुस्ताकालयमा मक्किएका पुस्तक । पुस्तकालयमा रहेका ऐतिहासिक एवम् प्राचीन महत्त्वका हजारौं पुस्तकमा धमिरा लागेका छन् ।  तस्बिर : सरोज बैजु

यहाँ नेपाली भाषाको जननी संस्कृत भाषामा शिक्षण हुन्छ। विद्यापीठमा धर्मशास्त्र, वेद, ज्योतिष, दर्शन, पुराण, व्याकरण आदि प्राचीन विषयसहित नेपाली, अंग्रेजी, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र पढाइ हुन्छ। काठमाडौंमा रहेकाले धेरैले यसलाई नेपाल संस्कृत विश्वविद्यालय नै ठान्छन्। यद्यपि विश्वविद्यालयको केन्द्रीय कार्यालय दाङमा छ।

क्याम्पसका भवन भग्नावशेष अवस्थामा छन्। भवनका झ्यालमा नफुटेका सिसा देख्न मुस्किल पर्छ। केही सिसा चर्किएका छन्। केही झ्यालमै झुन्डिएका छन्— तुन्द्रुङ्ग। लाग्छ, सानो हावा आयो कि झरिहाल्छन्। नौ रोपनी जग्गामा फैलिएको क्याम्पस परिसरमा जोकोहीलाई सहज प्रवेश छ। तर अनौठो, यहाँ को आयो, गयो, कसैलाई चासो छैन। पुतलीसडक तथा आसपासका क्षेत्रमा काम परेर गएका तर सवारीसाधन पार्किङको समस्याले दिक्क भएकालाई यो ठाउँ अहिले गज्जबको विकल्प बनेको छ। पैदल हिँडेर थाकेकालाई थकाइ मार्नुपर्‍यो पनि यसले स्वागत गरेजस्तो लाग्छ। किनभने, यहीं भेटिन्छन् विद्यापीठमा असम्बद्ध व्यक्ति पनि।

बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म यहाँ पढाइ हुने रुटिन छ। तर त्यो समयमा धेरैजसो कक्षाकोठा रित्तै देखिन्छन्। कुनै कोठामा शिक्षक–विद्यार्थी देखिन सक्छन्। तर मुस्किलले दुईतीन जना विद्यार्थी लिएर गुरु पढाइरहेका हुन्छन्। भर्‍याङका कुनाकाप्चा फोहोर त छन् नै, सँगै थोत्रा बेन्च, कुर्सी र अन्य सामग्री त्यतैकतै छरपस्ट छन्।


दुर्गन्धित शौचालय हेर्दा लाग्छ, यहाँको व्यवस्थापन पनि यस्तै छ। ‘केही वर्षअघिसम्म महिला र पुरुषका लागि एकै शौचालय थियो’, एक उपप्राध्यापक भन्छन्, ‘कम से कम अहिले महिलापुरुषका लागि छुट्टाछुट्टै त छ।’

औषधि छर्दै, पुस्तक जोगाउँदै

कुनै समय क्याम्पसको मुख्य आकर्षणका रूपमा रहेको पुस्तकालय वाल्मीकिको दर्दनाक कथा झल्काउने विषय बनेको छ। तीन वर्षअघिको भूकम्पले भवन क्षतिग्रस्त बनेपछि पुस्तकालय अलपत्र बन्यो। त्यसपछि पुस्तक व्यवस्थापन भएको छैन। यहाँ केही पुस्तक कपडाले पोको पारेको देखिन्छ भने भुइँमा छरपस्ट देखिन्छन्। धुलाम्मे बनेका पुस्तक भुइँमा छरपस्ट छन्। ‘४० हजारजति पुस्तक छन्। केहीलाई उठाएर विद्यार्थी पढ्ने कक्षामा राखेका छौं’, क्याम्पसका प्राचार्य गणेश घिमिरे दुःखेसो पोख्छन्, ‘केही भने अलपत्र छन्।’

भुइँमा अलपत्र पुस्तकलाई धमिराले खान थालेको छ। धमिरा आतंक बढेपछि पुस्तकमा औषधि छर्केर राखिएको छ। ‘तैपनि पुस्तकका पाना प्वाल पर्न थालेका छन्। यही अवस्था रहिरहे जोगाउन मुस्किल पर्छ’, उनले भने, ‘पुस्तकालय भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा २५ करोड रुपैयाँ लागतको बजेटसहित प्रस्ताव हालेका छौं। प्राधिकरणले पनि भारतबाट सहयोग जुटाएर पुस्तकालय बनाइदिने आश्वासन दिएको छ। चारपाँच महिना भयो प्रस्ताव हालेको, तर खै कहिले बन्छ थाहा छैन।’

बेवारिसे जग्गा, चुहिने भवन

क्याम्पस वरिपरि आकर्षक अग्ला भवन बनिरहेका छन्। राजधानीको केन्द्र भागमा रहेको यो क्याम्पसको जग्गा भने बेवारिस छ। केही जग्गामा अस्थायी टहरा बनाएर पढाइ भइरहेको जमलस्थित भानु माध्यमिक विद्यालय (दरबार स्कुल) र संस्कृत माध्यमिक विद्यालयलाई दुई वर्षका लागि दिइएको छ। यी विद्यालय भवन चिनियाँ सहयोगमा निर्माण भइरहेको र अस्थायी टहराका लागि पर्याप्त जग्गा नभएकाले वाल्मीकिमा सारिएको हो।

अन्य जग्गा भने खेर गइरहेको छ। ‘हामी पनि सोच्छौं, यो जग्गाको दायाँबायाँ सटर बनाएर भाडामा लगाउन मात्र सकियो भने पनि क्याम्पस चलाउन प्रशस्त आर्थिक आम्दानी हुन्छ। तर काम गर्न सकेका छैनौं’, घिमिरे भन्छन्, ‘कसैले काम गर्छु भनेर आँट गरिहाल्यो भने पनि नानाथरी झमेला झिकेर क्याम्पसकै मान्छेले समस्यामा पारिदिन्छन्। अनि आर्थिक अनियमितताको आरोपमा अख्तियारमा धाउँदाधाउँदै जागिरे जीवनै बित्न सक्छ।’

नेपालको संस्कृत विश्वविद्यालयको सबैभन्दा ठूलो आंगिक क्याम्पस वाल्मीकि विद्यापीठको जीर्ण भवन। तस्बिर : सरोज बैजु

क्याम्पसमा प्राध्यापक, कर्मचारी र स्वतन्त्र विद्यार्थी युनियनको चुनाव आयो भने सबै संगठनको चुनावी नारा एउटै हुन्छ— खाली जग्गाको सदुपयोग गर्ने, शैक्षिक, प्रशासनिक सुधार गर्ने आदि। त्यसो त खेर गइरहेको जग्गा सदुपयोगको प्रयास क्याम्पसले नगरेको पनि होइन। केही समयअघि क्याम्पस परिसरको अघिल्लो भागमा केही सटर बनाएर भाडामा लगाउने योजना बनाइएको थियो। तर क्याम्पसबाटै विरोध भएपछि काम अघि बढ्न सकेन। भौतिक निर्माणको काम गर्ने इच्छा भए पनि आर्थिक अनियमितताको झमेलामा फस्ने त्रास क्याम्पस व्यवस्थापनमा देखिन्छ। एकातिर जग्गा खेर गइरहेको छ, अर्कोतिर क्याम्पसको भवनमा पानी चुहिन थालेको छ। चुहिने ठाउँमा छाना राख्ने हैसियत क्याम्पससँग छैन। भवनका भित्ता पनि रङ उडेर फुङ्ग देखिन्छन्।

हाजिर गरेरै पाक्छ जागिर

विद्यापीठमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई छोटो अवधिको संस्कृत भाषा प्रशिक्षणसहित विद्यावारिधि (पीएचडी) सम्मको पढाइ हुन्छ। यी सबै तहमा गरेर पाँच सय हाराहारीमा विद्यार्थी भर्ना भएका छन्। तर क्याम्पसमा एक सय ७० जना प्राध्यापक कार्यरत छन्। केही प्राध्यापकलाई त एक महिनामा एउटा कक्षा लिने पालो पनि नआउने एक उपप्राध्यापक बताउँछन्। सबैभन्दा धेरै प्राध्यापक नेपाली विषयमा छन्। विश्वविद्यालयकै पदाधिकारीदेखि पूर्वपदाधिकारीसम्मले आफन्त, चिनजान र नातागोतालाई वाल्मीकि नै ल्याउने कोसिस गर्छन्। यो क्रम अहिले पनि जारी छ। पदाधिकारीको दबाबलाई क्याम्पस प्रशासनले रोक्न सक्दैन।

सबैले आआफ्नो क्षेत्रबाट काम नगर्दा समस्या आएको विद्यापीठका पूर्वप्राचार्य एवं नेसंविका पूर्वरजिस्ट्रार प्रा. नीलमणि ढुंगानाले बताए। प्राध्यापकको स्वार्थी प्रवृत्ति, प्राज्ञिकभन्दा पनि राजनीतिक क्रियाकलापमा बढी सहभागी हुने र विद्यापीठलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने चिन्तन नभएको नेतृत्वका कारण यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ।

विद्यार्थी नभए पनि पहुँच प्रयोग गरेर आएका प्राध्यापकले हाजिर गरेकै भरमा जागिर पकाइरहेका छन्। नपढाई जागिर खानेमा नयाँ भर्ना भएकाभन्दा पुराना प्राध्यापक धेरै छन्। क्याम्पस प्रमुख घिमिरे पनि यो यथार्थ स्विकार्छन्। ‘वाल्मीकि क्याम्पस नेपाल संस्कृत विश्वविद्यालयका अन्य आंगिक क्याम्पसको तुलनामा सबैभन्दा धेरै विषय पढाइ हुने क्याम्पस हो। धेरै विषयको पढाइ हुने भएपछि प्राध्यापक पनि विषयगत रूपमा भर्ना गर्नैपर्छ। तर कुनै वर्ष कुनै विषयमा भर्ना भएनन् भने प्राध्यापक खाली हात बस्नुपर्ने हुन्छ’, घिमिरे भन्छन्, ‘उदाहरणका लागि हामीसँग वेद विषय पढाउने चार थरी शिक्षक हुनुहुन्छ। तर सबै वर्ष सबै वेद पढ्ने विद्यार्थी आउँदैनन्। विद्यार्थी भएनन् भनेर शिक्षकलाई जागिरबाट हटाउन मिल्दैन। एउटा वेद पढाउन आएका प्राध्यापकलाई अर्को वेद पढाउनुस् भन्न पनि मिल्दैन। किनकि उनीहरूको विषयविज्ञता एउटामा मात्र हुन्छ।’

संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय विद्यापीठमा स्वदेशी मात्र नभई विदेशीले पनि पढिरहेका छन्। निजामती सेवाबाट निवृत्त भएका तथा सामाजिक क्षेत्रमा लामो समय बिताएका पाका नागरिकसमेत संस्कृत सिक्न वाल्मीकि धाउँछन्। तर बिग्रँदै गएको शैक्षिक, प्रशासनिक तथा भौतिक वातावरणका कारण क्याम्पसको इतिहास जोगाउनै हम्मेहम्मे भएको छ। प्राचार्य घिमिरेले भने, ‘सुधारका लागि कताबाट सुरु गर्ने भन्नेमै अलमल छ। जता हेर्‍यो, उतै समस्या। तैपनि आफ्ना तर्फबाट सक्दो प्रयास सबैले गरेका छौं।’


झन्डा बोक्न छाड्नुपर्छ

प्राडा. विद्यानाथ कोइराला

नेपाल संस्कृत विश्वविद्यालय मात्र होइन, मुलुकका अन्य विश्वविद्यालय पनि दलीय भक्तिका कारण बिग्रिएका छन्। दलको झण्डा बोकेर नेतृत्वमा पुगेकाहरू विश्वविद्यालयभन्दा पार्टीप्रति बढी बफादार भए। वाल्मीकि बिग्रनुको मुख्य कारण पनि यही हो ।

यहाँ विशेषगरी दुई समस्या छन्। एक, भएका सम्पत्तिको सदुपयोग भएको छैन। अर्को, यहाँ पढाउने गुरुहरूले संस्कृतलाई आधुनिक ज्ञानसँग जोड्न सकेका छैनन्। हामीले वाल्मीकिका भौतिक संरचनाको सदुपयोग गर्न एउटा व्यवस्थापन समिति बनाएर केही सुझाव पनि दिएका थियौं। तर हरेक उपकुलपतिले काम गर्छु भने। हामीले दिएको प्रतिवेदन पनि दराजमै सीमित पारे। खाली रहेको जग्गामा सपिङ मल बनाउने वा ससाना भवन बनाएर भाडामा लगाउन सक्ने हो भने पनि पूरै वाल्मीकि पाल्ने पैसा कमाउन सकिन्छ। तर नेतृत्वले यसतर्फ चासो दिएन ।

खाली जग्गामा योग मात्र सिकाउने हो भने पनि प्रशस्तै आम्दानी गर्न सकिन्छ, नेतृत्वमा त्यो योजना खै ? प्राध्यापकहरू बढी रहेको भन्ने गुनासो पनि क्याम्पसमा छ। यो सत्य कुरा हो, तर उनीहरूलाई कसरी उपयोग गर्ने भन्ने सबैभन्दा ठूलो समस्या हो। उदाहरणका वेद पढाउने प्राध्यापकले विद्यार्थी आएनन् भने अर्को विषय पढाउन मिल्दैन। तर उनीहरूले पढाइरहेका वेदको ज्ञानलाई नेवारी, तामाङ, भोजपुरी, मैथिलीलगायतका भाषासँग कसरी जोड्न सकिन्छ भनेर अध्ययन गराउन त सकिन्छ।

नेपाली भाषाको जननी संस्कृत भाषाको महत्त्व विगतमा संस्कृत पुस्तक जलाउँदै हिँड्नेले पनि बिस्तारै बुझ्दै गएका छन्। यो विश्वविद्यालयलाई नै बन्द गर्ने प्रस्ताव विगतमा शिक्षामन्त्री भइसकेका व्यक्तिले समेत गरेका थिए। तर हामी सबैको प्रयासले जोगिएको छ। यसको संरक्षण गर्न सबैभन्दा ठूलो पहल नेतृत्वले गर्नुपर्छ। (कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.