द्रौपदी र सीताबारे ‌‍‌‌‌‌‍‍‍‍ औसत आख्यान

द्रौपदी र सीताबारे ‌‍‌‌‌‌‍‍‍‍ औसत आख्यान

 सम्भवतः महाभारत, रामायणको कथासँग पूर्ण रूपले अपरिचित र चमत्कारमा विश्वास गर्ने अंग्रेजी पाठकहरूका लागि लेखिएका औसत आख्यान हुन्, यी दुवै।


रामायण र महाभारतका पात्र र घटनामाथि साहित्य सिर्जना गर्ने क्रम धेरै पुरानो हो। यिनमा पनि सीता र द्रौपदीले साहित्यमा विशेष स्थान पाउँदै आएका छन्। यी दुई पात्रको चरित्र र भूमिकामाथि व्यापक विवेचना भएका छन्। द्रौपदीलाई प्रतिशोधको र सीतालाई त्यागको प्रतिमूर्तिका रूपमा ज्यादा व्याख्या भेटिन्छन्। संयोगचाहिँ के भने यी दुवै पात्रलाई काव्यकारहरूले स्वाभाविक जन्म दिएका छैनन्। महाभारतमा त प्राकृतिक जन्म वरण नगर्ने पात्रहरू धेरै नै छन्।

सीतालाई धरतीबाट पैदा गराएर यिनमा धरतीको जस्तै सहनशील गुणको आरोपण गरिएको छ भने द्रौपदीलाई आगोबाट जन्माएर यिनलाई आगोजस्तै प्रज्ज्वलनशील चरित्र दिइएको छ। द्रौपदीमा कामना ज्यादा छ, सीतामा समर्पण। द्रौपदीमा महत्त्वाकांक्षालाई आरोपित गरिएको छ भने सीतामा दीनताको प्रचुरता छ। द्रौपदीको चरित्र बहिर्मुखी छ तर सीता अन्तर्मुखी छिन्।

बंगाली मूलकी अमेरिकी साहित्यकार चित्रा बनर्जी दिवकरुणीले दस वर्षको अन्तरमा महाभारत र रामायणका यी कालजयी पात्रमाथि दुई उपन्यास लेखेकी छन्। सन् २००८ मा द्रौपदीमाथि ‘द प्यालेस अफ इल्युजन’ र भर्खरै सीतामाथि ‘द फरेस्ट अफ इन्चान्ट्मन्ट’। दुवै उपन्यास प्रथम पुरुष शैलीमा लेखिएका छन्। कथाको उठान दुवैमा उस्तै प्रकारले गरिएको छ। द्रौपदी र सीता दुवैलाई आफ्नो जन्मको अलौकिक कथाको बारेमा चासो छ। दुवैलाई आफ्नो जन्मको उद्देश्य र भावी जीवनप्रति अतिरिक्त कौतूहल छ। खास गरेर विवाहका बारेमा यिनीहरू बढ्तै जिज्ञासु देखिन्छन्।

दिवकरुणीले उपन्यासको कथा बुन्दा यी ग्रन्थप्रतिको परम्परागत विश्वास र अन्धविश्वास दुवैलाई प्रशस्त प्रयोग गरेकी छन्। कथामा सपना, भाग्य, नियति, अलौकिक शक्तिको हस्तक्षेप जस्ता तत्त्वहरूको भूमिकालाई असामान्य महत्त्व दिइएको छ। काव्यकारहरूले महाकाव्यमा कल्पना गरेका मिथहरूप्रति उपन्यासकारको कुनै प्रश्न छैन। ती सबै कथा, उपकथालाई जस्ताको तस्तै स्वीकार गरेकी छन् दिवकरुणीले।

उपकथाहरूका प्रतीकात्मक अर्थहरूमार्फत कथालाई सहज ढंगले बोधगम्य तुल्याउने प्रयास कतै गरिएको छैन। महाभारत र रामायणको कथा संरचनामा जीवन्त छिद्रहरूलाई यथा रूपमा स्वीकार गरिएको र नयाँ ढंगबाट विवेचना गर्न नखोजिएको कारण मूल कथासँग सुपरिचित पाठकलाई खासै तान्दैन दुवै उपन्यासले। कसरी प्रस्तुत गरिएको छ भन्ने जिज्ञासाले अघि बढ्नु बेग्लै कुरा हो।

प्रचलित कथामा दुर्याेधनले पाण्डवहरूको इन्द्रप्रस्थ षड्यन्त्रमार्फत हत्याएका छन्। तर, पाण्डवहरूको वनबासपछि दुर्याेधनले इन्द्रप्रस्थ र मयले बनाइदिएको दरबारको भोग गरेको चर्चा काव्यभित्र परेको छैन। जब भोग गर्नु नै छैन भने त्यसप्रतिको आकर्षण किन ? अर्काे, युद्धको दौरान शिखण्डीलाई किन कमजोर देखाइयो ?       भीष्मको मृत्यु शिखण्डीको हातबाट हुने वरदान हो भने भीष्म अर्जुनको वाणबाट मात्र घाइते हुने स्थिति देखाउनु शिखण्डी र शिखण्डीले पाएको वरदानकै अपमान होइन ?      

तेस्रो, द्रौपदीले पाँचजनासँग विवाह गर्नुअघि धेरै गलफत्ती भयो। शास्त्रबाट झिकेर अपवादजस्ता केही उदाहरण दिनु पर्‍यो, बहुपति प्रथा तत्कालीन समाजमा ग्राह्य नभएको मात्र हो, शास्त्रविरुद्ध होइन भन्ने देखाउन। तर, पाण्डवहरूको गुप्तवासको समय शैरन्ध्री बसेकी द्रौपदीले आफ्ना पाँच गन्धर्व पति भएको कुरा बताउँदा विराटको दरबारमा किन त्यसलाई स्वाभाविक रूपमा लिइयो ?      

हस्तिनापुरको सभामा बाहेक द्रौपदीको बहुपतित्वको आलोचना भएको पनि देखिँदैन, त्यो पनि विशेष गरेर कर्णबाट। साझा पत्नी बेहोर्ने पाण्डवको त आलोचना भएकै छैन। त्यस्तै द्रौपदीलाई एक पतिसँग एक एक वर्ष पालो गरी बस्ने नियम लगाइएको र त्यो समय द्रौपदीलाई अरू भाइले भातृजायाको रूपमा हेर्ने सहमति भयो। द्रौपदी युधिष्ठिरपछि अरू चार भाइको साथमा बस्दा युधिष्ठिरसँग सिंहासनमा महारानी बनेर को बस्थ्यो, त्यो कतै खुल्दैन। द्रौपदी नै बसेको बुझिन्छ।

रामायणका रामले सुग्रीवकै कुरा हुबहु पत्याएर बालीको हत्या किन गरे ? राम सोचविचार, सोधपुछ गर्नतिर किन लागेनन् ? पञ्चवटीबाट सीताको अपहरण गरेर विमानमा राखेर लैजाँदै गर्दा राम, लक्ष्मणले देख्नुपर्ने होइन ? मृगरूपी मारिचले कराएको आ श्रमसम्म सुनिन्थ्यो भने त्यति नजिकको दूरीमा रहेका उनीहरू विमानजस्तो असाधारण वस्तुको उपस्थितिबाट कसरी बेखबर रहे ?      

राक्षसी मायाको कारण भन्ने हो भने जटायुले त देखेको मात्र होइन, प्रतिरोध नै गरेको थियो। राम वनबासमा जानुअघि राम, सीताले आफ्ना सबै सम्पत्ति किन दानमा दिए, जब कि उनीहरू नफर्कने भन्ने त कतै पनि बुझिँदैन। शूर्पणखाले आफूसँग कामयाचना गरेपछि रामले आफू सपत्नीक भएको बताएर शूर्पणखालाई लक्ष्मण भएतिर पठाइदिनुको तात्पर्य केवल ठट्टा मात्र थियो शूर्पणखाको याचनाप्रति ?      

लक्ष्मण पनि त विवाहिता नै थिए, उसो त ! किष्किन्धातिर जाँदै गर्दा पम्पा सरोवरको आसपास राम सीताका स्तन र जाँघको स्मरण गर्छन् र कामविह्वल बन्छन्। यो प्रसंगले उनीहरूको वनबास कतै पनि ब्रह्मचर्य व्रतले युक्त थिएन भन्ने संकेत मिल्छ। तर जटाजुट र बल्कल वस्त्र किन ?     

यी र यस्ता छिद्रहरूप्रति दिवकरुणी उदासीन छिन्। उनलाई द्रौपदी र सीताले भोगेका भनिएका कथा सबै भन्नु छ तीन, साढे तीन सय पृष्ठभित्र। यसले गर्दा कथा बग्दैन, कुद्छ द्रुत गतिमा। कथालाई औपन्यासिक रूप दिन कल्पना नथपिएको भन्ने त होइन। त्यो थपाइलाई विशिष्ट सिर्जना मान्नुपर्ने खासै कारणचाहिँ देखिँदैन। सरल प्रस्तुति मात्र उपन्यासको प्रशंसा गर्न पर्याप्त आधार बन्दैन।

केही अभिव्यक्ति उद्धरण गर्नलायक भनेर छान्न सकिएला। त्यो पनि उपलब्धिपूर्ण भनेर चर्चा गर्नुपर्ने कुराभित्र पर्दैन। कर्णप्रतिको द्रौपदीको रुचि र आशक्ति पनि दिवकरुणीको मौलिक कल्पना होइन। सीताको लडाकू चरित्र प्रस्तुत गर्न खोजिएको छ, तर त्यसको उपादेयता कैकेयीसँगको तरबार द्वन्द्वमै सीमित देखिन्छ। त्यस प्रकारको उठानले उचित स्थान कतै पाएको छैन।

त्यसमाथि यो पनि दिवकरुणीबाहेक अरूले पनि कल्पना गरेकै कुरा हो। सीताको त्याग र महत्त्वाकांक्षाहीन जीवनसँग वीरांगनापूर्ण बाल्यकालको कतै तालमेल देखिँदैन। महाभारत, रामायणको कथालाई थप प्रस्ट पार्न यी दुवै उपन्यासले खासै योगदान गर्दैनन्। न त पाठकलाई सोच्न, कल्पना गर्न र तर्क गर्न खासै स्पेस नै उपलब्ध गराउँछन्।

तुलनात्मक रूपले सीतामाथिको आख्यानको बुनोट अझ कमजोर छ। उदाहरणका लागि, स्वयंवरको समय रामलाई सत्र, अठार वर्षको र सीताभन्दा केही वर्ष जेठो अनुमान गरिएको छ (पृ. १७)। राम आउनुभन्दा अलि अघि रावण पनि सीतासँग स्वयंवर गर्न आएको थियो। त्यो बेला पनि सीतालाई रावणलाई देखेर रामलाई देख्दा जस्तै अनुभूति (आकर्षण) भएको थियो (पृ. १९–२०)।

रावण जनकपुर आउँदा सीताको उमेर कति थियो होला भनेर पाठकको मनमा एउटा असहज प्रश्न पैदा हुन्छ। रावणको जुन चरित्र जनकपुरवासीलाई थाहा थियो भनेर उल्लेख गरिएको छ (पृ. २०), त्यो चरित्र परशुरामले सीताको सम्भावित पतिका बारेमा गरेको चर्चासँग (पृ. २४) बिल्कुल विपरीत देखिन्छ। परशुरामले बताएको त्यो कथा सीतालाई पनि थाहा थियो। यति हुँदाहुँदै र अनमेल उमेरको रावणलाई देखेर बालिका सीतामा रावणप्रति कस्तो आकर्षण पैदा भएको अनुमान लेखकले गरिन्, कल्पना गर्न गारो पर्छ।

त्यो घटनाको स्मरण गर्दै गर्दा सीताको मनमा रावणसँग बिहे भएको भए उनको त्यसपछि मातापितासँग भेट नै हुने थिएन भन्ने विचार झल्याँस्स आउँछ। जब कि रामसँग विवाह भएपछि पनि सीताको मातापितासँग भेट भएको देखिँदैन। सीताको यो संस्मरण, उपन्यासअनुसार, वाल्मीकि आ श्रममा बसेर लेखिएको हो, र यो लेख्दै गर्दा सीताको ध्यान त्यता किन गएन ?      

अर्काेतिर, उपन्यासको पछिल्लो खण्डमा पुगेर सीतालाई रावणकी पुत्रीका रूपमा पनि प्रस्तुत गरिएको छ। सीतालाई रावणप्रति अनुराग पैदा भएको साबिती र रावण–सीताको पिता–पुत्रीको सम्बन्ध भएको विरोधाभाषपूर्ण कथालाई एकै ठाउँमा जोडेर लेखकले के बताउन खोजेकी हुन् भनेर पाठक अलमलमा पर्छ। सीताकै संस्मरणमा यी दुवै प्रसंग यो रूपमा समेटिनु पटक्कै जँच्तैन।

दिवकरुणीको कथाले नारी पात्रप्रतिको परम्परागत धारणामाथि खासै प्रश्न गर्दैन, निःसर्त स्वीकार्छ। उपन्यासले द्रौपदी र सीताजस्ता पात्रको नयाँ आयाम उजागर गर्न सक्नुपर्ने हो। सीताको पलायन चामत्कारिक मात्र भयो। द्रौपदीमा पनि प्रतिशोधको भावनाबाहेक वीरांगना चरित्र, विद्रोही चरित्र कतै देखिँदैन। बहुपति भए पनि नियममा बाँधिएकाले द्रौपदीको व्यक्तिगत छनोटको यहाँ कुनै मूल्य थिएन। यिनी कर्णको व्यक्तित्वबाट प्रभावित छिन्। तर त्यो आकर्षण केवल परम्परागत स्त्रैण सहानुभूतिको घेराबाट बाहिर जाँदैन।

बरु, यसमा निश्चित मात्रामा आत्मपीडन र पश्चात्तापको भाव घुलेको भने देखिन्छ। रामले चारै भाइले पत्नीहरूको कारण भाइभाइमा मनोमालिन्य नहोस् भनेर एकै परिवारका दिदीबहिनीसँग विवाह गर्न गरेको प्रस्तावलाई सीता रामको असल चरित्रको परिचायक ठान्छिन्। स्त्री सदस्य नै पारिवारिक विखण्डनको कारक हुन्छन् भन्ने स्वीकार्नु अनौठो दखिन्छ यहाँ। रामको एक पत्नीव्रतलाई उपन्यासमा महत्त्व दिएर उल्लेख गरिएको छ।

एक पत्नीव्रत र पिताको आज्ञालाई शिरोपर गर्नेबाहेक रामको आदर्श चरित्रलाई टेको दिने थप उल्लेखनीय घटनाको चर्चा कतै गरिएको छैन। बिनातर्क, बिनाछलफल रामले आफूलाई निर्वासन गरेको कुराप्रति सीता चित्त दुखाउँछिन्, आलोचना गर्दिनन्। राम आफ्नो कुलको अमूर्त इज्जतप्रति बढी संवेदनशील छन्। तर सीता भने लव, कुशको अनुहार रामसँग मिलेकोमा दंग छिन्।

कथा सिर्जना गर्दा लेखक पर्याप्त चिन्तन गर्नबाट पटकपटक चुकेकी छन्। लोकमा प्रचलित कथालाई जस्ताको तस्तै पत्याउँदा पैदा हुने समस्याबाट दुवै उपन्यास मुक्त छैनन्। भीम र धृतराष्ट्र पुत्रहरूको शरीरमा एउटै रगत बगेको (पृ. २६५) कुरा लेखकको भावुक अभिव्यक्तिबाहेक केही होइन। किनभने उनीहरूमा कुनै पनि भौतिक आधारबाट एउटै रगत हुन सक्ने सम्भावनै छैन। त्यस्तै रावणले हरण गरेर लैजाँदा सीताले बल्कल धारण गरेकी थिइन्। त्यो समय सीताको शरीरमा सुनका गहना पनि थियो। बल्कल र गहनाको कस्तो तालमेल हुन्छ, अनुमान गर्न सकिँदैन।

शीर्षक दुवै उपन्यासका आकर्षक छन्। ‘द प्यालेस अफ इल्युजन’को आवरणले रामायणकालीन कलाको प्रतिनिधित्व गर्छ कि गर्दैन भन्नेमा बहस हुन सक्छ। द्रौपदीलाई भौतिक सुखसुविधाको जुन लालसा थियो, त्यो तिनले भोग गर्न पाइनन्। द्रौपदीको सम्पन्नताको क्षणिक भ्रमबाहेक केही बनेन। आगोबाट जन्मिएकी द्रौपदीको जीवन हिउँको चिसोमा समाप्त भयो। यो विषम परिणतितर्फ चाहिँ लेखकको ध्यान गएको छैन।

धरतीबाट पैदा भएकी सीता अन्तमा रहस्यमय ढंगबाट धरतीमै समाहित भइन्। सीतालाई रामप्रति एकोहोरो आशक्ति थियो, त्यो आशक्तिले मोहको रूप धारण गर्‍यो। तर तिनी आफैँले सिर्जना गरेको मोहको जंगलमा यसरी विलय भइन्, फुत्किनै सकिनन्। द्रौपदी र सीता दुवैले सबै कुरा पाएर पनि केही पनि पाएनन्। द्रौपदीलाई युधिष्ठिरको नियम र धर्मप्रतिको पाखण्डपूर्ण समर्पणप्रति घोर विकर्षण छ। सीतालाई पनि रामको निजी र सार्वजनिक जीवनको मिसमासप्रति असहमति छ। द्रौपदीको अभिव्यक्तिमा असन्तुष्टि देखिन्छ, तर सीता मौन रहन्छिन्। तर विद्रोह गर्न दुवैले सक्दैनन्।

समग्रमा भन्दा लेखकको सफलता भनेको कथालाई सरल भाषामा प्रस्तुत गर्न सक्नु मात्र हो। प्रत्येक अप्ठेरा परिस्थितिमा चमत्कारको सहायता लिनु दुवै कथाको ठूलो कमजोरी हो। सम्भवतः महाभारत, रामायणको कथासँग पूर्ण रूपले अपरिचित र चमत्कारमा विश्वास गर्ने अंग्रेजी पाठकका लागि लेखिएका औसत पुस्तक हुन्, यी दुवै। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.