युद्धथलोमा सर्जक मोहित
रोल्पा : ‘द्वन्द्वकालमै रोल्पामा आएर प्रहसन गर्ने सोच थियो तर त्यो सम्भव भएन्’, हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले रोल्पाको होलेरीमा भने, ‘हरिवंश र मैले रोल्पा आउने ऊबेला पटकपटक सल्लाह गरे पनि आउन सकेका थिएनौं ।’ यसपालि पनि म मात्र आएँ ।’ दालभातको जोहोमा व्यस्त भएका कारण हरिवंश आचार्यसँगै आउन नपाएको पनि बताए ।
चैतको पहिलो हप्ता (चैत्र ७ र ८ गते) होलेरीमा सम्पन्न प्रथम राष्ट्रिय साहित्यिक अक्षर महोत्सवका पाहुना श्रेष्ठले अनुभूति सुनाए। जीवन, मित्रता र समाजबारे उपन्यासकार अमर न्यौपानेसँग हास्यकलाकार श्रेष्ठ गफिए। ‘युद्धताका मैले पनि रोल्पाको नाम भय मिश्रित भावमै उच्चारण गर्थें’, श्रेष्ठले भने। धेरैले त्रसित भावमा ‘रोल्पा ! ? ’ भन्नुमा युद्धको उद्गमथलो हुनु नै हो। आम मानिसमा युद्धको विम्ब रोल्पा बनेको थियो। यहाँ पुगेका सर्जक रोल्पालीको न्यानो माया अनि सद्भावले लठ्ठिए ।
होलेरीस्थित प्रहरी चौकीमा २०५२ फागुन १ गते तत्कालीन विद्रोहीले आक्रमण गरी युद्ध घोषणा गरेको थियो। त्यहीँ होलेरीमा पहिलो पटक अक्षर महोत्सव भएको होे। कवि तथा संस्कृतिविद् तुलसी दिवस, उपन्यासकार अमर न्यौपाने, अर्चना थापा, कवि रमेश क्षितिज, नयनराज पाण्डेलगायतका दर्जनौ सर्जकले पहिलो पटक रगतले भिजेको माटोसँग स्पर्श गर्न पाए ।
रुन्टीगढी गाउँपालिकाले यस्तो मेलो मिलायो। सर्जकहरू निर्भय होलेरी आसपासका पर्यटकीयस्थल घुमफिर गरे। ‘स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टी, ध्यानास्थल गढी, शिवपार्वती गुफा, मुरुल्ले प्राकृतिक भ्यु क्षेत्र, युद्धताका पहिलो निसाना बनेको भग्नावशेष प्रहरीचौकीको स्रष्टाले अवलोकन गरे’, महोत्सव निर्देशक समितिका सदस्यसचिव एवं कवि दीप दर्पण भन्छन्, ‘साहित्यमा नलेखिएको र नदेखिएको रोल्पामा सर्जकले निकै रुचि देखाए ।’
सर्वनाम थियटरका निर्देशक राज शाहले युद्धको आयाम र रोल्पा बुझ्न महोत्सवले सघाएको बताए। नलेखिएको रोल्पामा कवि रमेश क्षितिज, कथाकार नवीन विभास र खेम बुढामगरसँग पत्रकार काशीराम डाँगीले संवाद गरे। युद्ध हुनु, यहाँका नागरिकले भोगेको पीडा, क्षति र सामाजिक विकासका पहलु नलेखिएको उल्लेख गरे ।
‘युद्धमा नौ सय ६९ जना मारिएको र ३३ जना वेपत्ताका रोदन, क्रन्दन, पीडा साहित्यमा उनिएका छैनन्’, महोत्सवमा चर्चा गरियो। तीन सय २३ महिला एकल भए तिनका कथा ओझेलमा छन्। महोत्सवले रोल्पा लेख्न सर्जकलाई सघाउ पुग्ने रोल्पाली कवि नवीनलोचन मगर बताउँछन् ।
सामाजिक विविधताको स्विकार्यताले नेपाली संस्कृति र सहित्य समृद्धि बन्ने भएकाले यहाँको मगर संस्कृति, कला, रङको उजागर हुने गरी सिर्जना गर्नुपर्ने संस्कृतिविद् दिवसले सुझाए। पर्यटन र साहित्य प्रवद्र्धनका लागि आयोजित अक्षर महोत्सवमा सिर्जनात्मक बहस, संवाद र कवितावाचन भए। संविधानविद् डा. भीमार्जुन आचार्य लोकप्रिय गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीसँग उपन्यासकार अमर न्यौपानेले समकालीन नेपाली राजनीति चरित्र र दिशाबारे बहस चलाए। छाडिएका कथाहरूबारे आख्यानकारहरू अमर न्यौपाने, नयनराज पाण्डे, अर्चना थापासँग कवि वसन्त विवश आचार्यले सेसन चलाए ।
पत्रकार राजाराम गौतम, उदय जीएम, काशीराम डाँगी र मौसम रोकासँग नरेन्द्र केसीले छलफल चलाए। राष्ट्रिय र जिल्लाका स्थापित सर्जकको सहभागिताले पर्यटन र साहित्य प्रवद्र्धनमा टेवा पुगेको गाउँपालिका अध्यक्ष बालाराम बुढा बताउँछन् ।