नयाँ प्रविधि, विदेशी पाठ्यक्रम

नयाँ प्रविधि, विदेशी पाठ्यक्रम

जापानको मियागी विश्वविद्यालयले बनाएको कार्यक्रम नेपालका स्कुलमा ।


जापानले ल्याएको नयाँ कार्यक्रम नेपालमा पनि सुरु भएको छ। कुनै समस्या आइपरेमा कसरी समाधान गर्ने, विद्यार्थीहरूलाई सिर्जनशील एवं परिश्रमी कसरी बनाउने र सिकाइमा रुचि जगाउन के गर्ने भन्ने विषयमा जापानको मियागी विश्वविद्यालयले बनाएको एउटा कार्यक्रम पहिलो पटक जापान र नेपालका तीन विद्यालयमा सुरु गरिएको छ। 

कार्यक्रम लागु गर्ने विद्यालयहरूमा लगनखेलस्थित  यशोधरा बौद्ध माध्यमिक विद्यालय, बालकुमारीमा रहेको हिन्दू विद्यापीठ र धापाखेलको जल्पा माध्यमिक विद्यालय छन्। कार्यक्रममा प्रत्यक्ष संलग्न रहेर काम गरिरहेका तथा कार्यक्रमका संयोजक राजु महर्जनका अनुसार जापानले विकसित  र विकासोन्मुख मुलुकका बालबालिकाका सिकाइमा केकस्तो अन्तर छ भन्ने विषयमा गरिएको अध्ययन पनि हो। यो अध्ययन तीन वर्षसम्म चल्नेछ। 

महर्जनका अनुसार बालबालिकाले कार्यक्रममार्फत रोबोटबाट कसरी समस्या समाधान गर्ने भनेर कुरा बुझ्नेछन्। रोबोट पूर्ण रूपमा सञ्चालनमा आउन बालबालिका आफैंले कम्प्युटरमा कार्यक्रम बनाएर राख्नुपर्ने हुन्छ ।  बालबालिकाले बनाएका तिनै कार्यक्रम एउटा सानो डाटामार्फत रोबोटमा सारिन्छ। त्यसपछि कार्यक्रमअनुसार नै रोबोट चल्न थाल्छ। ‘जबसम्म विद्यार्थीले कार्यक्रम ठीकसँग बनाउन सक्दैनन््, तबसम्म रोबोटले काम गर्दैन’, महर्जनले भने, ‘त्यसले बालबालिकामा तार्किक रूपमा सोच्ने क्षमताको विकास हुन्छ ।’

एउटा रोबोट सञ्चालनका लागी चिप्स, गुडाउन मोटोर, प्रोग्रामिङ, जोड्नलाई ब्लकलगायत सामग्री चाहिन्छ। त्यसमा बत्ती, सेन्सरलगायत जोडन सकिन्छ। यही प्रविधि लगनखेलको यशोधरा बौद्ध माविमा गरिएको छ। विद्यालयकी प्रधानाध्यापक रमिला शाक्यका अनुसार रोबोटबाट अध्ययन गर्न पाउँदा बालबालिका एकदमै उत्साहित छन्। हाल सात कक्षाका बालबालिकालाई मात्रै सिकाइएको भए पनि नयाँ शैक्षिक सत्रदेखि ३ कक्षादेखि नै लागू गर्ने जनाइन्। सबै बालबालिकाले रोबोटबाट अध्ययन गर्न रुचाएको उनको भनाइ छ। 

शाक्यले भनिन्, ‘रोबोटबाट सिकाइमा सबैभन्दा चुनौती (कार्यक्रम) प्रोग्रामिङ गर्न हुन्छ ।’  जबसम्म बालबालिकाले कार्यक्रम मिलाउँदैनन्, रोबोटले उल्टो काम गर्छ। रोबोटलाई हिँडाउने हो कि, नचाउने हो, कार्यक्रमबाट नै तय गर्न सकिन्छ। पाँच मिनेट या १० मिनेट कति हिँडाउने, कति बेर नचाउने, कुन दिशा घुमाउने सबै प्रोग्रमिङबाट नै गरिने उनले बताइन्। ‘जब बालबालिकाले प्रोग्रामिङ मिलाउन सक्दैनन्, रोबोटले काम गर्दैन ।’ त्यसैले यस रोबोटलाई पूर्ण सञ्चालनमा ल्याउन एकदमै घोत्लिएर, तार्किक तथा सृजनात्यमक रूपमा बालबालिकाले  प्रोग्रामिङ बनाउने गरेको उनको भनाइ छ। 

रोबोटमा जोडिएका सेन्सरले काम गर्छ। विभिन्न आकारप्रकार पनि दिन सकिन्छ। आफूले चाहेअनुसार रोबोटलाई काम गराउन सकिन्छ। बालबालिका घण्टौंसम्म रोबोटलाई सक्रिय रूपमा काम गराउन प्रयास गरिरहन्छन्। यसले बालबालिकामा  ध्यानपूर्वक समस्या समाधान गर्ने बानीको  विकास भएको शाक्यले बताइन्।  यसले कालान्तरमा बालबालिका अन्वेषणमा लाग्न सक्ने उनको आशा छ। भनिन्, ‘६ वटा समूहले ६ तरिकाले नै कार्यक्रम बनाए ।’ यशोधरा बौद्ध मावि ०१३ सालमा स्थापना भएको थियो। 

ललितपुरको च्यासलमा रहेको श्रमिक शान्ति विद्यालय ललितपुरको अर्को उत्कृष्ट विद्यालयमा पर्छ। विद्यालयका प्रधानाध्यापक सानुलाल व्यञ्जनकारका अनुसार यहाँका बालबालिका ६.९५ जीपीएमा पास भएका छन्। ०१२ सालमा स्थापित विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री बनाउन विभिन्न खालका कार्यक्रम ल्याइने गरिएको छ। शिक्षकले अध्ययन गराउने सिलसिलामा चाहिए जति शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको  बताए।  यसले बालबालिकालाई स्पष्ट रूपमा बुझन सक्ने क्षमताको विकास गर्ने उनको बुझाइ छ।  बालबालिकालाई कम्प्युटर, प्राजेक्टरका माध्यमबाट नयाँ कुरा सिकाउने, बालबालिका र शिक्षकका सम्पूर्ण गतिविधि रेकर्ड हुने गरेको  पनि बताए। ‘विद्यार्थीलाई केकसरी पढे, कक्षाकोठाको गतिविधि हेर्न सीसी क्यामेरा जडान गरिएको छ’, व्यन्जनकार भन्छन्, ‘शिक्षकको सम्पूर्ण गतिविधि पनि रेकर्ड गर्छौं ।’

सामुदायिक विद्यालयले जस्तै निजी विद्यालयले पनि नयाँनयाँ प्रविधि भित्र्याएर बालबालिकाको शैक्षिक क्षेत्रमा नयाँ आयाम थपेका छन्। त्यसमध्येको एक हो भक्तपुरको गुन्डुमा स्थापना भएको काठमाडौं वल्र्ड स्कुल। यसले अन्तर्राष्ट्रिय स्तरको अध्ययनअध्यापन गराउँदै आएको दाबी गरेको छ। करिब १४ सय विद्यार्थी क्षमता रहेको विद्यालयमै बस्न पाउने व्यवस्था पनि छ। ५५ रोपनी जग्गामा फैलिएको विद्यालयका बालबालिकालाई हरियाली एवं शान्त वातावरणमा बस्न पाउने सुविधा छ। विद्यालयका प्रमुख कार्यकारी राजेन्दै घिसिङले भने, ‘वल्र्ड क्लासका भौतिक संरचना छन्।’   बालबालिकालाई कुनै पनि कार्यमा प्रत्यक्ष सक्रिय गराई सृजनात्मक एवं प्रभावकारी शिक्षा दिइन्छ। उनीहरूलाई अनुसन्धान, अनुभवका आधारमा उत्तरदायी बनाई समस्या समाधान खोज्ने सिकाइन्छ। समाजप्रति कसरी उतरदायी बन्ने बालबालिकालाई सिकाउनुका साथै उनीहरूलाई ताजा, स्वस्थ र गुणस्तरीय खानाका लागि पाँचतारे होटलको सेफको पनि व्यवस्था गरिएको छ। 

ललितपुरको खुमालटारमा सन् २००६ मा स्थापना भएको युलेन्स स्कुलले पनि बालबालिकालाई फरक वातावरण दिएको छ। उसले धेरै विषेशता भएको र सन्तुलित पाठ्यक्रम समावेश गरेको  जनाएको छ। बालबालिकालाई आफ्नै अनुभवमा सिक्ने वातावरण दिएको दाबी गरेको छ भने समुहमा मिलेर एकआपसको सहयोगमा समस्याका समाधान गर्न सिकाइन्छ। 

अंग्रेजी र नेपाली दुवै भाषालाई उत्तिकै प्राथमिकताका साथ सिकाउँदै आएको विद्यालयको भनाइ छ । कक्षाकोठामा सिकाइका प्रशस्त माध्यम राखिन्छ। र डिजिटल टेक्नोलोजीलाई ह्यान्डल गर्न पनि सिकाइन्छ। बालबालिकालाई गणित पढाउँदा पनि प्रयोगात्मक रूपमा सिकाईन्छ। शारीरीक तथा नैतिक शिक्षाको महत्त्व बुझाउनुका साथै कसरी तन्दुरुस्त रहने कुरा पनि सिकाइन्छ ।

धापाखेलकै अर्को  जेम्स स्कुलले आफूसँग आधुनिक शैक्षिक भवन रहेको दाबी गरेको छ । कन्फेरेन्स हल, ल्याब, उत्कृष्ट कक्षाकोठा, पर्याप्त खेल्ने ठाउँ पनि छ। बालबालिकाका अतिरिक्त क्रियाकलापबाट कसरी सिकाउने त्यसलाई ध्यान दिनुका साथै अन्तर्राष्ट्रिय स्तरको विद्यालय बन्न लक्ष्य लिएको यो विद्यालयले बालबालिकालाई शान्तिपूर्ण वातावरणमा उत्कृष्ट गुणस्तरको शिक्षा दिँदै आएको बताएको छ। 
सातदोबाटो खुमलटारमा रहेको प्रिमियर इन्टरनेसनल स्कुलले आफ्ना बालबालिकालाई ग्लोबल सिटिजनका रूपमा विकास  गर्ने लक्ष्यका साथ अगाडि बढेको छ। 

सबै विद्यालयमा नेपाल सरकारले लागू गरेको पाठ्यक्रमअन्तर्गत पढाइ भइरहे पनि नयाँनयाँ प्रविधि भित्र्याउँदै गएको जिल्ला शिक्षा इकाइ ललितपुरका प्रमुख गुणराज पोखरेलले जनाए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.