पूर्व मन्त्री न्यौपाने ५ लाख धरौटीमा रिहा

काठमाडौं : पूर्व महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बद्री न्यौपाने ५ लाख धरौटीमा रिहा भएका छन्। यसअघि फरार उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए।
न्यौपानेलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको ३ सदस्यीय संयुक्त इजलासले धरौटीमा रिहा गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भृकुटीमण्डपस्थित फनपार्क र टुकुचाको जग्गा भाडामा दिने क्रममा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत भ्रष्टाचार गरेका भन्दै पूर्व मन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
उनीहरुविरुद्ध ३१ करोड ५२ लाख भ्रष्टाचार गरेका आरोप छ।
फागुन दोस्रो साता मन्त्रिपरिषद् बैठकले समाज कल्याण परिषद्मा भएको भ्रष्टाचार अनुसन्धानको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको थियो। मन्त्रिपरिषद्ले परिषद्का सबै पदाधिकारीलाई पदमुक्त गर्दै अनुसन्धान प्रतिवेदन अख्तियारमा पठाएको थियो।
सरकारद्वारा गठित एक उच्चस्तरीय जाँचबुझ आयोगले समाजकल्याण परिषदमा भएको भ्रष्टाचारबारेको प्रतिवेदन दिएपछि सरकारले उक्त निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
