अघि बढेन फोरम–राजपा एकता

अघि बढेन फोरम–राजपा एकता

काठमाडौं : पार्टी एकीकरणका लागि वार्ता समितिसमेत गठन गरेका संघीय फोरम र राजपाबीच पत्र आदानप्रदानबाहेक कुनै पनि प्रक्रिया अघि बढेको छैन। दुवै पार्टीका नेताहरूले एकीकरण प्रक्रिया जहींको त्यहीं रहेको बताएका छन्। गएको मंसीर अन्तिम साता संघीय फोरमले वार्ता समिति गठन गर्दै राजपालाई पत्र पठाएर नै एकीकरणको प्रस्ताव राखेको थियो। राजपाले पनि एकीकरणको पक्षमा संघीय फोरमसँग संवाद गर्न प्रस्ताव राख्यो। तर त्यसपछि दुवैबीच अझै अनौपचारिक वार्तासमेत हुन सकेको छैन।

फोरमले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। राजपाले अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको संयोजकत्वमा वार्ता तथा संवाद समिति बनाएको थियो। राजपाले समिति गठन गरेसँगै फोरमको पत्रको जवाफ दिएको थियो। त्यसलगत्तै फोरम अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी सरकारमा सहभागीताको सवाल तत्काल नउठाउन आग्रह गरे। राजपाले पार्टी एकीकरण गर्न फोरमले सरकार छाड्नुपर्ने सर्त राखेको थियो। त्यसको केही समयअघि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

राजपा महामन्त्री तथा वार्ता समिति सदस्य केशव झाका अनुसार पत्र आदानप्रदानबाहेक फोरम र राजपाबीच कुनै संवाद भएको छैन। फोरमले गठन गरेको वार्ता समिति सदस्य प्रकाश अधिकारीले पनि राजपासँग एकीकरणका लागि वार्ता समिति तहमा कुनै पनि छलफल नभएको बताए। उनले भने, ‘अब हुन्छ होला।’ राजपाका झाले फोरमसँग वार्ता र संवाद कहिले सुरु हुन्छ आफूलाई थाहा नभएको बताए।

फोरमले एकीकरणका लागि पत्र पठाएपछि राजपाले सकारात्मक भन्दै वार्ता समिति गठन र पत्रको जवाफ पठाएको नेताहरूले बताएका थिए। राजपा अध्यक्षमण्डलको साता दिन लामो बैठकमा त्यसबारे समीक्षा भएको एक नेताले बताए। राजपा नेताहरूका अनुसार फोरम वर्तमान सरकारमा रहेसम्म एकीकरण प्रक्रिया सुरु हुन कठिन छ। फोरमले एकीकरणबारे छलफल र संवाद सुरु भए सरकारको विषयमा सोच्न सकिने बताएका छन्।

तर राजपाले समर्थन फिर्ता लिएको सरकारमा फोरम बसुन्जेल संवाद गर्न अप्ठ्यारो हुने बताएको छ। राजपाले फोरमको पत्रका आधारमा मधेसका मुद्दाको सवालमा यथास्थितिवादी दलहरूसँग किन मिल्ने भनेर प्रश्न गरेका छन्। फोरमले पठाएको पत्रमा नेकपा र कांग्रेसलाई यथास्थितिवादी पार्टी भनेर सम्बोधन गरेको थियो।

दुवै दलले एकता महाधिवेशनको तयारी गरिरहँदा कतिपयले रणनीतिक रूपमा दुवै पार्टीले एकीकरणलाई प्रयोग गर्न खोजेका त होइनन् भन्ने आशंका पनि व्यक्त गर्न थालेका छन्। वैशाख अन्तिम सातामा फोरमले जनकपुरमा महाधिवेशनको तयारी गरेको छ भने राजपाले पनि वैशाख ७–९ महाधिवेशन गर्ने निर्णय गरेको छ। पछिल्लो समय राजपा महाधिवेशन फेरि सर्न सक्ने अनुमान गरिएको छ। राजपालाई पनि चाँडै महाधिवेशन गर्नैपर्ने कानुनी बाध्यता छ। राजपा नेताहरूका अनुसार वैशाखमा हुन नसके जेठभित्रै महाधिवेशन गर्ने छलफल पार्टीमा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.