५१ वर्षदेखि निरन्तर रथ बनाउँदै
ललितपुर : पाटनका दिलकुमार बाराही ५१ वर्षदेखि रातो मच्छिन्द्रनाथको रथ निर्माणमा नाईकेको रूपमा खटिएका छन्। २०२४ सालमा नौ वर्षको उमेरमै उनले नाईकेको जिम्मेवारी पाएका हुन्। लगनखेल मच्छिन्द्रबहालस्थित गुठी संस्थान कार्यालय परिसरमा बुधाबार उनी रथ निर्माण तयारीमा जुटेको अवस्था भेटिए। रातो मच्छिन्द्रनाथको जात्रालाई लामो र ठूलो मानिन्छ। जात्रामा नेवारी समुदायलाई जातीका आधारमा जिम्मेवारी दिइएको हुन्छ। ‘बाराही’ जाती मच्छिन्द्रनाथको रथ बनाउन चाहिने काठको काममा खटिन्छन्।
रथ बनाउन सुरुवति चरणमा काठ चाहिन्छ। हाल दशजना बाराही काठको काममा तल्लिन छन्। रथ निर्माणमा लामो समय बिताएका उनले यहाँसम्म आइपुग्दा धेरै परिवर्तन देखेको सुनाए। पहिला रथ बनाउने भन्ना साथ काठ पाइन्थ्यो तर अहिले अवस्था सहज छैन। धेरै निकाय धाउँदा पनि काठ काटने अनुमति नपाएको उनको गुनासो छ। उनले भने, ‘उ बेलामा मच्छिन्द्रनाथ भन्ने बितिकै रुख दिन्थे अहिले धेरै समस्या छ।’
०६० सालमा रथका पुरै काठ फेर्नुपर्ने अवस्था आयो। हेटौंडाको मनोहरी जंगलमा काठ लिन उनी त्यहाँ पुगे। त्यहाँ तत्कालीन माओवादीले निकै दुःख दिएको उनले सुनाए। ‘अनावश्यक खानतलासी गर्थे’ बाराहीले सुनाए ,‘अनुमतिपत्र, पास लिएर जाँदा पनि माओवादीले अवरोध गरे।’
रथको चक्का (पाँग्रा) बनाउन विषेश प्रजातीको रूख सान्नानको काठ चाहिन्छ। चक्का बनाउने काठ खोज्न जंगलमा १५–१६ दिन बिताउनुपर्ने उनको अनुभव छ। उपयुक्त रूख भेटिएपछि पूजा गर्नुपर्छ र प्रत्येक पांग्राका लागि एउटा थुमाको बलि दिनुपर्ने उनले सुनाए। खटका लागि फलाँटको काठ चाहिन्छ। रुख काट्ने जिम्मेवारी भने बोसी (पुटुवार) जातीलाई हुन्छ। उनीहरूले रथका लागि चाहिने सबै काठ गोदावरी जंगलमा काट्छन्। पांग्रा बनाउने काठ तराईबाट ल्याइन्छ। मच्छिन्द्रनाथ राखिने ठाउँका चारवटा खम्बा भने लाँकुरीको काठबाट बनाइन्छ। रथको ब्रेक लगाउन मयलको काठ प्रयोग गरिन्छ। बींड आरुको काठबाट बनाइन्छ।
काठको काम सकिएपछि वेत र डोरी (महावेत) को काम सुरु हुन्छ। यो काम यवाल (महर्जन) जातीले गर्छन्। रथ बनाउन चाहिने महावेत भारतबाट आयात गरिन्छ। टेन्डरमार्फत् ल्याइने गरिन्छ। मच्छिन्द्रनाथको रथमा किला ठोक्न पाईंदैन। नरिवलको जटाबाट बनेको डोरी पनि भारतबाट मगाइन्छ। रथ तान्न प्रयोग हुने लट्ठा धागोको हुन्छ।
भगवानलाई स्नान गराएर रथमा राखिसकेपछि रथ बनाउन खटिनेले पनि विधि पालना गर्नुपर्छ। लसुन, कुखुराको मासु, अण्डा खान मिल्दैन। मच्छिन्द्रनाथलाई ३२ लक्षणले युक्त भगवान मानिन्छ। बाराहीले भने, ‘३२ हात लामो मन्दिर, दुईपटक चक्का घुम्दा ३२ हात नै घुम्छ।’ यसमा सुन जोडिएको तीनवटा झयाल र एक ढोका राखिएको हुन्छ।
रथारोहणको दिन मात्रै यो जोडिन्छ। रथ निर्माणको काम फागुन २७ बाट सुरु भएको हो। वैशाख २२ गते मच्छिन्द्रनाथलाई रथमा चढाउने र २५ गतेदेखि तान्न सुरु गरिन्छ। भोटो देखाएपछि जात्रा सकिन्छ। गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जात्राको लागि ५० लाख बजेट छुट्याइएको जानकारी दिए। उनले भने, ‘जात्राको तयारी धमाधम भइरहेको छ।’
प्रतिक्रिया दिनुहोस !