महायज्ञ गर्न चन्दा दिएका दलितलाई नै पूजापाठमा रोक

महायज्ञ गर्न चन्दा दिएका दलितलाई नै पूजापाठमा रोक

वीरगन्ज : बाराको परवानीपुर गाँउपालिका-१ बुनियाद गाउँमा बुधबारदेखि आयोजना गरिएको श्री बिष्णु महायज्ञमा दलित जातिलाई भने पूजापाठमा रोक लगाइएको छ। नौ दिनसम्म चल्ने बिष्णु महायज्ञमा बुधबार पहिलो दिन महायज्ञको मूलपूजामा दलित ( चमार र दुसाद) जातिलाई गैर दलितले बस्नै दिएनन्।

बुनीयाद गाउँमा दलितमा पर्ने चमारका १० र दुसाद जातिका २५ गरी कुल ३५ घरधुरी दलितको छ। महायज्ञको कलश यात्रामा सहभागी भएर मण्डपमा पुगेर पण्डितबाट टिका लगाउने क्रममा मुलपूजामा बसेका गैर दलितले टिका लगाउन र पूजामा बस्न रोक लगाएको स्थानीय दलित राजेश चमारले बताए। 

बुधबार पहिलो दिन कलशयात्रा पछि मुलपूजामा स्थानीय दलित राजेश चमार र गैर दलित १० जनासहित कुल ११ जना बस्ने तय थियो।  मूल पूजामा सहभागी हुन चोखो कपडा लगाएर मण्डपमा पुगे, पण्डितले टीका लगाउन बोलाए, तर मूलपूजामा बसेका गैर दलितले पूजामा बस्न दिएनन्, राजेशले भने, 'उनीहरुले यदि चमारहरु पूजामा बस्छन् भने हामी पूजामा बस्दैनौ भने।'

मूल पूजामा बसेका गैर दलित रामायण महत्तो ,कपिलदेव साह, मुखी महत्तो मण्डल र चन्द्रिका ठाकुरले आफूलाई मुल पूजामा बस्न नदिएको राजेशले बताए।मूलपूजामा बस्न नदिएपछि दलितले प्रतिवाद गर्न खोज्दा वडाअध्यक्ष समेत रहेका महायज्ञ आयोजक समितिका अध्यक्ष मिश्री महतोले पनि विवाद नगर्न दबाब दिएपछि आफूहरु पछाडि हटेको राजेशले बताए। 

वडाअध्यक्ष महत्तोले महायज्ञ चल्न देउ विवाद नगर, नत्र झैझगडा हुन्छ, यज्ञ नै भाडिन्छ, बरु तिमीहरु घरमै बसेर पूजापाठ गर भनेर उल्टै हामीलाइ दबाब दिए, राजेशले भने, 'वडाअध्यक्षले नै त्यस्तो दबाब दिएपछि हामी चुप लाग्यौं।'

बुनियादकै अर्का दलित राजेन्द्र राम चामारका अनुसार महायज्ञका लागि गाउँका सबै ३०-३२ घरधुरीका दलितले जनही एक हजार रुपैयाँ चन्दा पनि दिएका छन्। यसका साथै महायज्ञको मण्डप बनाउने, सरसफाइ गर्ने, महायज्ञस्थल सिंगार्नेलगायतका तयारी गर्ने क्रममा दलित पनि सहभागी गराइएको थियो।

'गाउँका सबै दलितले एक एक हजार चन्दा दिएका छन्, मैले पनि एक हजार चन्दा दिएको छु, राजेशले प्रश्न गर्दै भने, मण्डप बनाउँदा र चन्दा दिँदा छोइछुतो भएन, तर पूजामा बस्दा दलितसँग छोइन्छ यो कस्तो न्याय हो?'

महायज्ञको सम्पूर्ण तयारीमा चमार जातिलाई सहभागी गराइएको भएपनि पूजापाठमा भने चमार र दुसाद तल्लो जातका हुन् भनेर रोक लगाइएको राजेन्द्र राम चामारले दु्खेसो पोखे। चमारसँग चन्दा लिँदा छुवाछुत भएन, मण्डप बनाउँदा पनि हामीलाई निच जाति भनिएन, उनले भने, 'तर पूजा गर्दा भने छुवाछुत हुँदोरहेछ उनीहरुलाई।  

वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका अध्यक्ष मिश्री महतोले पनि मुलपूजामा बसेका केही व्यक्‍तिले चमार जातिलाई बस्नमा रोक लगाएको स्वीकार गरे। गाउँमा सबै व्यक्‍कि एकै किसिमका हुँदैनन्, उनले भने, 'दलितलाई पूजामा रोकेर गल्ती भएको छ, तर यहि विवादले यज्ञ नै भाडिने भएकाले मैले दलितलाई सम्झाई बुझाई गरेको हुँ, अहिलेको यो यज्ञमा सहभागी गराउन नसकिए पनि अब यसपछि हुने यज्ञमा दलितलाई जसरी पनि सहभागी गराइन्छ।'
  
महायज्ञको पूजामा दलितलाई रोक लगाएको विषयले तनाव भएपछि बिहीबार गाउँमा पञ्चायती (सर्वपक्षीय छलफल भएपनि आफूहरुलाई न्याय नदिएको राजेश चमारले बताए। 'पञ्‍चायती बस्यो, त्यसमा वडाअध्यक्षलगायतका गाउँका अगुवा पनि थिए, राजेश चमारले भने, ' तर उनीहरुले यसपाली भइ गयो ,विवाद नगर,अब यसपछि महायज्ञ भयो भने दलितलाई पूजामा सरिक गराइन्छ भनेपछि हामीले केही बोलेनौ।'
 
परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले भने महायज्ञको पूजामा दलितलाइ रोक लगाएको हल्ला आफूले पनि सुनेको बताए।उनले भने,' मैले पनि यो कुरा सुनेको छु, हामी छलफलको माध्यमबाट यो समस्या छिट्टै सामधान गर्छौ।'

बाराको निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य (सांसद) एकबाल मियाँकै गाउँमा आयोजना गरिएको महायज्ञमा चमार जातिलाई सहभागी नगराउनु दु:खद भएको दलित अगुवाहरुले दुखेसो गरेका छन्।

हिन्दु धर्म नै मान्ने दलितलाई छुवाछुतको विभेद राखेर पूजामा रोक लगाएको कुरा सह्य नहुने मानव अधिकार संगठन बाराका सचिव एंव दलित अगुवा राजनारायण रामले बताए। सांसदकै गाउँमा भएको महायज्ञमा पूजा गर्नबाट दलितलाई रोक्नु लज्जास्पद भएको उनले बताए।उनले भने, 'यो घटना निन्दनीय छ, यसले सम्रग प्रदेश २ कै बेइज्जति गराएको छ।'

बुनियादमा दलितसँग गरिएको जातीय विभेदका विरुद्ध आफूहरु सशक्त रुपमा अगाडि बढ्ने उनले बताए। बुनियादमा आयोजित महायज्ञको बुधबार प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्घाटन गरेका थिए।उद्घाटन समारोहमा सांसद एकबाल मिया, गाउँपालिकाका अध्यक्ष हरिनारायण साह पनि सहभागी भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.