अनशन बाजेको गाउँमा सडक
बैतडी : दशरथचन्द नगरपालिका-१ खाल गाउँका ७९ वर्षीय हरिजितसिंह टेर जेठमा गाउँमा सडक बन्नुपर्ने भन्दै अनशन बसे। चाउरी परेको गाला, लठ्ठीको सहारामा हिँडने त्यो वृद्ध शरीरलाई गाउँमा सडक पुर्याउने धोको थियो।
साविक गुरुखोला गाविस भएर पक्की दशरथचन्द राजमार्ग सदरमुकामका लागि त थियो तर उनको अनशन आफू बसेको गाउँमा सडक पुर्याउनका लागि थियो। उनले सडक काटिदिन साविकको गाविससँग पनि पटक-पटक आग्रह गरे। कसैले वास्ता नगरेपछि जेठमा उनी अनशन बसेका हुन्।
अनशनपछि वडा कार्यालयले सडक पुर्याउने सम्झौता गर्यो। सोही सम्झौताअनुसार अहिले गाउँमा सडक पुगेको छ। ‘म डुब्न लागेको घाम। मर्ने बेलामा गाउँमा सडक पुगेको हेर्न चाहन्थँे। पटक-पटक आग्रह गर्दा पनि कसैले नसुनेपछि जेठ १४ देखि १७ गतेसम्म अनशन बसेको हुँ। अहिले सडक पुगेको छ, खुसी पनि लागेको छ’, वृद्ध टेरले भने।
‘अनशन बस्दा आफ्नै छोरा रिसायो। सडक हामीलाई मात्रै चाहिने हो र ? भन्थ्यो, मैले भने यो सडक नबन्दासम्म म अनशन छाड्दिनँ’, टेरले भने, ‘एक जनाले त मलाई गालीसमेत गर्यो। तर, गाउँमा सडक पुगेपछि उनी मेरो ठूलो प्रशंसक बनेका छन्।’
अनशन बस्ने बेलामा यो बूढाको अनशनले के सडक बन्ला र भन्नेहरू धेरै रहेको वृद्ध टेरले बताए। ‘म अनशनमा थिएँ। दुई जना कर्मचारी आए। तपाईं बूढो मान्छे कच्ची सडकका लागि अनशन बस्नुभएको छ। तपार्इंको माग पूरा होला र ? भने, मैले उनीहरूलाई मेरो प्राण जाला तर सडक बन्छ भन्ने उत्तर दिएँ।’
७९ वर्षीय टेर अनशन बसेको खबरले प्रहरी पनि अनशनस्थलसम्म पुगे। ‘उनीहरूले अनशन नतोडे जिल्ला पठाउने धम्कीसमेत दिए तर मैले अठोट छाडिनँ’, टेरले खुसी हुँदै भने, ‘अहिले सडक पुग्दा निकै हर्षित भएको छु।’
टेरले अनशन बसेकै कारण निर्माण गरिएको सडक यसै साता पूर्वमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्। ‘सडक उद्घाटनमा सबैले मलाई अँगालो हाले। म धेरै खुसी छु। वडा कार्यालयले पनि हाम्रो समस्या बुझिदिएको छ’, उनले भने, ‘अब सडक स्तरोन्नतिका लागि पहल गर्नुपर्छ।’
चुनावका बेला गाउँमा सडक पुर्याउने प्रतिबद्धता गरेकाले आफूले सडक निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम गरेको दशरथचन्द नगरपालिका-१ का वडाध्यक्ष भुवनराज भट्टले बताए।
यस्तै, दशरथचन्द नगरपालिकाले डेढ वर्ष अवधिमा ११ वटै वडाका केन्द्रसम्म कच्ची सडक पुगेको जनाएको छ। दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले वडाका सबै केन्द्रसम्म सडक पुगेको र अब खानेपानी, सिँचाइ र अन्य भौतिक पूर्वाधारका काममा जोड दिइने बताए।
प्रतिक्रिया दिनुहोस !