निर्दयी डाक्टर

निर्दयी डाक्टर

वीरगन्ज : नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ। दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन्।

‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा जल्नुपर्दैन।’

सुनीताका दाजु जयप्रकाश यादवले सुख हुन्छ भन्ने सोची डाक्टर खोजेर बिहे गरिदिएको सुनाए। ‘दाइजोमा साढे १२ लाख नगद र गरगहना दिएका थियौं’, उनले भने, ‘तर, उसले दाइजोकै निहुँमा मेरी बहिनीको हत्या गर्‍यो।’ बिहेपछि कार र घर नकिनिदिँदा ज्वाइँले बहिनीको हत्या गरेको उनले उल्लेख गरे। श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी सुनीतादेवीको उपचारका क्रममा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको थियो।

प्रदेश सांसद करिमा बेगमले दोषीलाई फाँसीको सजाय दिनुपर्ने माग गरिन्। ‘फाँसीकै सजाय हुनुपर्छ ताकि आइन्दा कसैले यस्तो अपराध गर्ने दुस्साहस नगरोस्’, पूर्वमन्त्रीसमेत रहेकी बेगमले भनिन्, ‘दाइजोका कारण महिलाको हत्या गर्नेलाई फाँसीको सजाय दिने कानुन बनाउन म प्रदेशसभा बैठकमा पनि आवाज उठाउँछु।’

यो प्रतिनिधि घटना मात्र भएको सामाजिक अभियन्ता प्रकाश थारूले बताए। ‘दाइजोको निहुँमा सुनीताहरू दिनहुँ हिंसामा परिरहेका छन्, मारिइरहेका छन्’, उनले भने, ‘त्यसैले यसलाई रोक्न दोषीलाई हदैसम्मको सजाय हुनुपर्छ।’

बाराको परवानीपुर बहुअरीकी सुनीतादेवीको २०५९ फागुन ९ गते वीरगन्ज-२० हरपतगन्जका सचितानन्दसँग मागी विवाह भएको थियो। बिहेका बेला माइती पक्षले १२ लाख ५० हजार नगद र २ लाख ५० हजारका गरगहना दिएको थियो। भोजभतेरमा गरी २० लाख खर्च भएको थियो। उनीहरूको दाम्पत्य एक वर्षसम्म राम्रैसँग चल्यो। त्यसपछि भने        श्रीमान्ले दाइजोमा कार र वीरगन्जमा घर किन्न लगाउन सुनीतालाई दबाब दिन थाले।        श्रीमतीले थप दाइजो दिन सक्ने अवस्था माइतीको नरहेको बताएपछि सचितानन्दले मानसिक र शारीरिक यातना दिन थालेका थिए।

श्रीमान्सहित सासू, ससुरा र देवरले २०६२ जेठ २१ गते घरमै थुनेर आगो लगाई हत्याको प्रयास गरेका थिए। सुनीताले जीउज्यानको सुरक्षा र अंश माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएकी थिइन्। पीडक पक्षले यातना नदिने लिखित प्रतिबद्धता जनाएपछि उनी घर फर्किएकी थिइन्। ‘सुनीता घर फर्किएलगत्तै फेरि ससुरालकाले यातना दिन थाले’, दाजु मनोहर यादवले भने, ‘तापनि, बहिनी सहेर बसेकी थिइन्।’

मनोहरका अनुसार सचितानन्द बिहेको एक वर्षपछि वीरगन्जस्थित नयाँ घरमा बस्ने थाले। सुनीतालाई हरपतगन्जको घरमा आमाबुवासँग राखेका थिए। ‘जब गाउँ जान्थे तब कार र घरको निहुँमा सुनीतालाई कुट्ने गर्थे’, उनले भने, ‘सासु-ससुराले पनि कुट्थे। भोकै पनि राख्थे।’

सचितानन्दले २०६२ मा भारत बिहार जोगबलियाकी युवतीसँग दोस्रो बिहे गरेका थिए। त्यसपछि उनले सुनीतालाई यातना दिने क्रम बढेको मनोहरले सुनाए। ‘सुनीताको नागरिकता बनाइदिन पटक-पटक भन्दा पनि ज्वाइँले मानेनन्’, उनले भने। अंश दिनुपर्छ भनेर पुख्र्यौली सम्पत्तिमध्ये १० धुर जग्गा मात्र आफ्नो नाममा राखेको उनले सुनाए।

उनका अनुसार चैत १० गते राति हरपतगन्जस्थित घरमा श्रीमान्, सासू आशादेवी, ससुरा नागेन्द्र र देवर अचुताले सुनीतालाई मरणासन्न हुने गरी कुटपिट गरे। त्यति मात्र होइन, आइरन र तातो फलामले जीउभरि डामे। ‘त्यतिले पनि नपुगेपछि करेन्ट लगाएछन्’, मामा नागेन्द्रप्रसाद यादवले भने, ‘रातभरि यातना दिएपछि चैत ११ गते बिहान छिमेककाले फोन गरेर माइतीमा खबर गरे। त्यसपछि भान्जीलाई उद्धार गरेर वीरगन्जको अस्पतालमा भर्ना गरेका थियौं।’

अचेत अवस्थामा पीडितलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि वीरगन्जकै गण्डक अस्पतालमा लगिएको थियो। गण्डकमा पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि ११ गते राति काठमाडौं लगिएको थियो। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार साँझ ५ बजे सुनीताको निधन भएको नागेन्द्रप्रसादले बताए।

श्रीमान् हिरासतमा, तीन जना फरार

सुनीताका श्रीमान् सचितानन्द जिल्ला प्रहरीको हिरासतमा छन्। उनीसहित सासू आशादेवी, ससुरा नागेन्द्र र देवर अचुताविरुद्ध माइती पक्षले चैत ११ गते जिल्ला प्रहरीमा उजुरी दिएको थियो। त्यसलगत्तै प्रहरीले सचितानन्दलाई नियन्त्रणमा लिएको थियो। अन्य फरार छन्। अभियुक्तले आफू बिरामी परेको भनेपछि प्रहरीले नारायणी अस्पतालमा भर्ना गरेको थियो। घाइतेको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा ल्याएर राखिएको छ। उनलाई चार दिन आईसीयूमा राखिएको थियो। ‘आरोपीलाई शुक्रबार बेलुकी डिस्चार्ज गराएर फेरि थुनुवा कक्षमै राखिएको छ’, डीएसपी अनन्त शर्माले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.