वीरगन्ज नाकाबाट मात्रै ८ महिनामा १६ अर्बको खाद्यान्न
वीरगन्ज : वीरगन्ज नाकाबाट मात्रै ८ महिनामा १६ अर्ब रुपैयाँ बढीको खाद्यान्न आयात भएको छ। धान, चामल, गहुँ, मकै, मसुरो, भटमास र फापरका लागि १६ अर्ब रुपैयाँ भन्दा बढी रकम बाहिरिएको हो।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका (वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह) हुँदै १६ अर्ब २६ करोड २० लाख ४५ हजार तीन सय २८ रुपैयाँ मूल्य बराबरको खाद्यान्न आयात भएको हो।
गत आर्थिक वर्ष २०७४/०७५ को यही आठ महिनाको अवधिमा १३ अर्ब ६० करोड २७ लाख ८१ हजार चार सय ४८ रुपैयाँको खाद्यान्न वीरगन्ज नाका हुँदै आएको थियो।
गत आर्थिक वर्षको आठ महिनाको भन्दा चालु आर्थिक वर्षको आठ महिनामा दुई अर्ब ६५ करोड ९२ लाख ६३ हजार ८४० रुपैयाँ बढीको धान, चामल, गहुँ, मकै, मसुरो, भटमास र फापर आयात भएको छ।
के कति आयो ?
चालु आर्थिक वर्षको ८ महिनामा वीरगन्ज नाका हुँदै सबै भन्दा बढी चार अर्ब ४८ करोड ९ लाख ५९ हजार १७३ रुपैयाँको १५ लाख ९५ हजार ८९२ क्विन्टल मकै मात्र आयात भएको छ। जबकि गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ८० करोड ८७ लाख ६ हजार ४५ रुपैयँको मकै आयात भएको थियो।
चालु आर्थिक वर्षको ८ महिनामा चार अर्ब आठ करोड ६६ लाख ४८ हजार २३० रुपैयाँको सात लाख ६१ हजार ८८६ क्विन्टल भटमास आयात भएको छ। गत वर्ष तीन अर्ब ८२ करोड ६३ लाख ५९ हजार ४०५ रुपैयाँको भटमास आयात भएको थियो।
यो आठ महिनामा वीरगन्ज नाका हुँदै तीन अर्ब १० करोड ४१ लाख ५९ हजार ६१४ रुपैयाँको ११ लाख ४१ हजार सात सय ७५ क्विन्टल धान आयात भएको छ। गत आर्थिक वर्षको सोही ८ महिनामा दुई अर्ब ३९ करोड ८२ लाख ४१ हजार ३३० रुपैयाँको ९ लाख ६६ हजार दुई सय ९४ क्विन्टल धान वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको थियो।
८ महिनामा दुई अर्ब ५३ करोड ३० लाख ९८ हजार ३०३ रुपैयाँको पाँच लाख सात हजार ७६५ क्विन्टल मसुरो आयात भएको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ९७ करोड ११ लाख ७६ हजार २३८ रुपैयाँको मसुरो आयात भएको थियो।
८ महिनामा एक अर्ब ६३ करोड ४० लाख ४५ हजार ६६४ रुपैयाँको चामल आयात भएको छ। गत वर्ष एक अर्ब ३३ करोड ६७ लाख १२ हजार ४९४ रुपैयाँको चामल आयात भएको थियो।
वीरगन्ज नाका हुँदै यो ८ महिनामा ४२ करोड १२ हजार २४० रुपैयाँको गहुँ आयात भएको छ। ३१ लाख २२ हजार १०४ रुपैयाँको फापर आयात भएको छ।
वीरगन्ज नाकामा रहेका वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह दुवै भन्सार कार्यालयको तथ्याङक अनुसार नेपालमा भारत, रसिया, टर्की, भियतनाम, ब्राजिल, अर्जेन्टिना, चीन, क्यानाडा, अस्ट्रेलिया, थाइल्याण्ड, जापान लगायत मुलुकबाट वर्षेनी २० अर्ब भन्दा बढी मूल्यको धान, चामल, गहुँ र मकै नेपाल आयात हुने गरेको छ।
वीरगन्ज पथलैया र वीरगन्ज पोखरीया औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नसँग सम्बन्धी उद्योगहरूले नै भारत तथा तेश्रो मुलुकबाट खाद्यान्न आयात गर्दै आएका छन्।
यहाँका उद्योगहरूका लागि कच्चा पदार्थ स्वदेशी उत्पादनले नपुगेकै कारण विदेशबाट आयात गर्नु पर्ने अवस्था रहेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए। ‘कृषि प्रधान मुलुकमा पनि एउटै नाकाबाट वर्षेनी २० अर्ब रुपैयाँ भन्दा बढीको खाद्यान्न विदेशबाट आयात हुनु दुर्भाग्य हो’, उनले भने।
खाद्यान्नबाट ७१ करोड राजश्व संकलन
चालु आर्थिक वर्षको ८ महिनामा भारत तथा तेश्रो मुलुकबाट आयात भएका खाद्यान्नबाट मात्रै वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह दुवैको भन्सार कार्यालयले गरि ७१ करोड ३३ लाख ८६ हजार तीन सय ३१ रुपैया राजश्व संकलन गरेको छ।
भारत तथा तेश्रो मुलुकबाट आयात हुने चामल बाहेकका खाद्यान्नमा कृषि सुधार शुल्क बापत ५ प्रतिशत मात्र र चामलमा भने ८ प्रतिशत राजश्व लाग्ने गरेको छ।
प्रतिक्रिया दिनुहोस !