प्यारो पोखरामा रमाउँदा...

प्यारो पोखरामा रमाउँदा...

 

अरू दिन उठ्न खासै हतार लाग्दैनथ्यो, आज भने सबैरै निद्राले छोड्यो । धेरैपटक सुनेको सुन्दर पोखरा जाने खुसीले निद्रा र अल्छी दुवै हरायो । सोमबारको दिन थियो । काठमाडौं प्रज्ञा कुञ्ज स्कुल संगम चोक बानेश्वरले कक्षा ७ र ८ का विद्यार्थीलाई पोखराहुँदै घान्द्रुकसम्म घुमाउने योजनामा थिएँ म पनि ।

सात बजे स्कुलमै भेला हुने भनिएकाले साढे ६ मै भक्तपुरको गठ्ठाघरस्थित घरबाट हिँडें । सात बज्दा केही साथी आउन बाँकी थिए । साथीहरूको जोशजाँगर थपिएपछि पोखरा पुग्ने उत्साह बढ्यो । मैले यूट्यूबमा पोखरा र घान्द्रुकका भिडियो हेरिसकेको थिएँ । चिसो ठाउँ भन्ने सुनेकाले गुगल सर्च गरें, केही दिनअघि घान्द्रुकमा तापक्रम माइनस भएको रहेछ । बाबाले फिदरको डाउन ज्याकेट किनिदिनुभएको थियो । पुसको अन्तिम साता भएकाले जाडो हुनु स्वाभाविकै थियो । हात, खुट्टा र अनुहार ठिहि¥याइरहेको थियो ।

काञ्जीरोवा स्कुलका विद्यार्थी पनि सँगै लैजाने तयारी रहेछ । डिलक्स बस भएकाले आनन्दको यात्रा भयो । साढे आठ बजे कलंकीबाट अघि लाग्यौं । थानकोट, नागढुंगाहुँदै नौबिसेको ओरालो पुग्दा तलतिर यताउति घुमेका सडक देख्यौं । साथीहरू भने मोबाइल चलाउनमै व्यस्त थिए । म भने बाहिरको हरियाली नै हरियालीले भरिएका पहाड र दृष्यमा रमाएँ । बिस्तारै घाम लाग्दै गयो । दिन उज्यालो हुँदै गयो । बिहानको नास्तापछि निद्राले झपझप बनायो तर पनि सुतिनँ । झ्याल खोलेर ताजा हावा खाँदै त्रिशुली नदीमा भुलिएँ ।

कक्षा आठका दाइदिदी मोबाइलमा रमाए पनि हामी कक्षा सातकासँग थिएन । हामी अन्ताक्षरी खेल्न थाल्यौं । गाउँको घर झापा गौरादह भएकाले केही वर्षअघिसम्म मुग्लिन, नारायणगढ र हेटौंडा हुँदै हिँडेको मलाई बाटो नयाँ लागेन । केही वर्षदेखि बनेपा बर्दिबासको बिपी राजमार्ग हिँडेकाले केही वर्षपछि यो बाटो हिँड्दै थिएँ । मुग्लिनदेखि पोखरा नयाँ ठाउँ भएकाले रमाइलो भयो । पोखराको बजार पुगेपछि त मन मजाले रमायो । हामी आठ घण्टापछि पोखरा पुग्यौं ।

पेनिन्सुला होटलले स्वागत ग¥यो । कस्तो राम्रो र भव्य होटल । हातमुख धोएर कपडा फेरेपछि खाजा खायौं । साँझ फेवाताल घुम्ने योजना रहेछ । गीत सुनेको थिएँ, फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छायाँ... । ताल भव्य रहेछ तर साँझ परेकाले माछापुच्छ्रे हिमालको छायाँ हेर्न पाएनौं । तालमा घुमाउन थुप्रै डुंगा थिए । ताल र डुंगामा फोटा खिच्यौं । लेकसाइडमै होटल भएकाले इभिनिङ वाक गर्दै फर्कियौं । होटलमा साथीको मोबाइलमा ‘ट्रुप एन्ड डेयर’ खेल्यौं । स्कुलले हेडफोन र एसडी कार्ड ल्याउन अनुमति दिएकाले म गीत सुन्दै रमाएँ । बिहान सबेरै घान्द्रुक जानु थियो । त्यसैले खानापछि घान्द्रुकको कल्पनामा कतिबेला निदाएँ, थाहै भएन ।

सातै बजे घान्द्रुक जान तयार भयौं तर पोखरा घुम्ने रहर धेरै थियो । पोखरा सहरका दृष्यले आनन्द आयो । फराकिला र सफा सडक । काठमाडौंमा धेरै गाडी र मान्छे अनि धुँवा र फोहोरले दिक्क थिएँ । पोखरा हरियाली पनि धेरै । पोखरा छोडेर गाडी घान्द्रुक लाग्यो । मलाई नयाँ ठाउँ हेर्न मन थियो । साथीहरू गीत गाउन थाले । म पनि मिसिएँ । प्रतिस्पर्धा भयो, डिलक्समा हाम्रो गायन नेपाल आइडलको जस्तै रमाइलो भयो । पाँच घन्टामा घान्द्रुक पुग्यौं । होटलमा फ्रेस भएपछि ओरालो बाटो हुँदै म्युजियम पुग्यौं, अरे म्युजियम त गाउँको घरजस्तै रहेछ ।

ढोकामै गोरुको सिङ थियो । छिर्नेबित्तिकै गुरुङ जातिले खाना खाने झर्के थाल सजाएर राखिएको थियो । मलाई बाबा गोपीकृष्ण ढुंगानाले भारतको असम घुम्न गएको बेला ल्याएका झर्के थालको याद आयो । पत्रकार र साहित्यकार भएकाले बाबा देशविदेश घुमेको देख्दा मलाई पनि त्यसरी नै घुम्न र धेरै कुरा जान्न मन लाग्थ्यो । म नाटक खेल्ने भएकाले लालाबाला समूहबाट निर्देशक टंक चौलागाईंले चैतको दोस्रो साता नाटक ‘’हिरो, डन्ट कम’ देखाउन यूरोपको बेलारुस लैजाने भनेपछि अर्को खुसी थपिएको थियो । आहा, म पनि बाबाजस्तै विदेश घुम्न पाउने भएँ ।

म्युजियममा धेरै शिक्षा पायौं । यसअघि काठमाडौं फन भ्यालीभित्र मलाई बाबामामुले ‘कर्नाली संग्रहालय’ लैजानुभएको थियो । घान्द्रुक पुग्दा यसअघि मकवानपुरको चित्लाङ घुमेको याद आयो । दुई दिनको यात्राले थाकेको हुँदा खानापछि सुत्यौं । भोलिपल्ट खानापछि दुई घन्टा हिँड्नु पर्ने सूचनाले झनै थकाइ लाग्यो । तर हिँड्न थालेपछि रमाइलो भयो । म उकालोमा अगाडि थिएँ । बाटो गोठालोले हान्ने गोरु छ अर्को बाटो जानू भने । हिम्मत जुटाएर म दौडिएँ, मेरो हार भएन । पछाडि फर्किएर हेरेको कोही साथी थिएनन् । त्यहाँ एकान्त थियो, डर थपिएर होला जीउ पसिनै पसिना भयो ।

अगाडि डरलाग्दो भीर थियो । डेढ घन्टा हिँड्न बाँकी थियो । खुई खुई गर्दै सबै उकालो चढ्यौं । ओर्लदा हामी केही साथी दौडिएछौं । एक घन्टाको बाटो ३० मिनेटमै पुगेछौं । त्यहाँ पुगेर एक बोतल पानी घुटुघुटु पिएरै सकें । मजाले थाकेछु, पोखरा पुगुञ्जेल निदाएछु । यूट्यूबमा हेरेको प्यारो पोखरालाई फेरि भेटें । दिनभर फेवाताल, गुप्तेश्वर महादेव, बाराही ताल, डेभिड फल्स आदि थुप्रै रमाइला, नयाँ र अनौठा ठाउँ घुम्यौं । अहिले सम्झँदा पनि त्यो यात्रा साँच्चै रमाइलो लागिरहन्छ ।

कक्षा सात
काठमाडौं प्रज्ञा कुञ्ज स्कुल


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.