स्वतन्त्र महसुस गर्दै कैदी
जुम्ला : चारैतिर अग्लो पर्खाल। पर्खालमाथि काँडेतार। सटरसहितको भोटे ताल्चा लगाइएको भित्री गेट र पर्खालमाथि कडा प्रहरी सुरक्षा। त्यही सुरक्षा घेराभित्रका बन्द कोठाबाट आकाशमा घुमिरहेका पक्षीबाहेक केही देखिँदैन। हेरौं, त्यही खुला आकाश। नहेरौं त दिउँसै रात परेका कोठा। यो दृश्य हो, जुम्ला कारागारको। कारागारमा रहेका ८४ जना कैदीले यसको राम्रोसँग महसुस गरेका छन्। जीवनको कालखण्डमा कैदीका लागि कारागार एउटा छुट्टै र अँध्यारो संसार पनि हो।
तीन महिनाअघि सुरु भएको कारागारमा पुस्तक अभियानले केही हदसम्म भए पनि एक्लोपन दूर गर्न मद्दत गरेको छ। कैदीको यसअघिको पीडालाई ध्यानमा राखी सुरु भएको अभियानले उनीहरूलाई स्वतन्त्रतासहितको अध्ययनशील संसारको अनुभूति गराएको हो। अहिले उनीहरू किताबमै भए पनि स्वतन्त्रता भेट्न थालेका छन्। जुम्लाबाट सुरु भएको यो अभियान हाल कर्णाली प्रदेशका सबै कारागारमा लागू छ। जुम्ला कारागारमा पुस्तकालय स्थापनापछि कैदीको अध्ययन गर्ने बानीसमेत विकास भएको छ। यसले उनीहरूको सोचाइमा समेत सकारात्मक परिवर्तन भइरहेको छ।
पुस्तकालयमा विभिन्न विधाका पुस्तक उपलब्ध छन्। पुस्तक जम्मा गर्ने काम भइरहेको छ। त्यहाँ कैदीले आफ्नो रुचिअनुसारकै पुस्तक अध्ययन गर्छन्। एक औपचारिक कार्यक्रमबीच शनिबार लेखक तथा उपन्यासकार सिवानीसिंह थारूले उक्त पुस्तकालय उद्घाटन गरिन्। उक्त अवसरमा कैदी दलबहादुर कार्कीले भने, ‘पुस्तक अध्ययनले ज्ञान मात्र होइन, सकारात्मक सोचको पनि विकास हुँदो रहेछ, हामीले अहिले किताबमै स्वतन्त्रतासहितको नयाँ संसार भेट्न थालेका छौं।’ विनोद शाहीलाई समेत पहिले दिन कटाउन मुस्किल हुन्थ्यो। अहिले पुस्तक अध्ययनले दिन बितेको थाहै हुँदैन। उनले भने, ‘बाहिर जे–जस्तो अपराध गरेर जेल आए पनि अब भने पुस्तक अध्ययनले सबै कैदीमा आपराधिक मानसिकता हराउनेछ।’
उपन्यासकार थारूले पुस्तक अध्ययनले कैदीको जीवन नै परिवर्तन हुने बताइन्। ‘जति पुस्तक अध्ययन गर्यौं, त्यति नै पढ्ने लत बस्दै जान्छ’, उनले भनिन्, ‘अन्ततः हरेक पुस्तकले दिने ज्ञानवर्धक तथा सही सन्देशले कैदीको व्यावहारिक जीवन पनि सुधार्न मद्दत पुग्छ।’ उनीसँग कैदीले पढ्ने कला र उनको जीवनको भोगाइबारे अनुभव आदानप्रदान तथा अन्तक्र्रियासमेत गरेका थिए।
प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कैदीलाई कारागारभित्र कुनै समस्या आउन नदिने भन्दै राज्यले दिएको सेवा–सुविधामा सन्तोषजनक हुन अनुरोध गरिन्। सरकारले जेलभित्र पनि अनुशासित र सभ्य नागरिकको पहिचान दिने कैदीको जेल जीवनमुक्त गर्ने रणनीति अपनाएको छ। डीएसपी सीताराम रिजालले कैदी अनुशासित बन्दै गएको बताउँदै कारागारभित्र सबैसँग भाइचाराको सम्बन्ध कायम गर्न सुझाए। यस अभियानले कैदीको जेलबाहिरको भविष्य उज्यालो रहेको भन्दै अभियानलाई देशभर लागू गर्न आवाश्यक रहेको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !