अब रजस्वला हुँदा स्कुलबाट भाग्दैनन् छात्रा

अब रजस्वला हुँदा स्कुलबाट भाग्दैनन् छात्रा

सुर्खेत : वीरेन्द्रनगरस्थित नेपाल राष्ट्रिय सामुदायिक माध्यमिक विद्यालय करैखोलामा अध्ययनरत छात्रा सीता विकले रजस्वला हुँदा स्कुलमा ढुक्कसँग पढ्न पाइनन्। स्कुलमा पढ्दापढ्दै रजस्वला हुँदा धेरैपटक उनले बीचमै कक्षा पनि छाडिन्। बाटोमै रजस्वला हुँदा कैयौंपटक स्कुल नपुगेरै घरमा फिर्ता भइन्।

भेरीगंगा नगरपालिकास्थित लालीगुराँस माविमा अध्ययनरत छात्रा रीता कठायत कक्षामा नियमित हाजिर हुन पाइनन्। रजस्वला भएका बेला बग्ने रगत र शारीरिक पीडाका कारण उनी कक्षामा बस्न सकिनन्। त्यति मात्र होइन, कक्षाका साथीहरूबाटै हुने फरक व्यवहारका कारण पनि उनी रजस्वलाको समयमा स्कुल जाने अवस्था बनेन। कक्षाभित्रै रजस्वला हुँदा उनीजस्तै अन्य छात्राले बीचमै पढाइ छाडेर घर जानुपर्ने अवस्था थियो। यही समस्याले गर्दा छात्राको पढाइ पनि अनियमित बन्यो।

रजस्वलाकै कारण छात्रा अनियमित हुन थालेपछि सुर्खेतका अधिकांश सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरिएको छ। सीता र रीता मात्र होइनन्, रजस्वला भएका बेला स्कुल जान नसकेका अधिकांश छात्रा स्कुलमै सेनेटरी प्याड उपलब्ध हुन थालेपछि नियमित हाजिर भएका छन्। रजस्वलाका बेलामा छात्रालाई विद्यालयमा नियमित गराउन र ढुक्कसँग पढ्न सक्ने वातावरण बनाउन अधिकांश विद्यालयले छात्रामैत्री शौचालय, निःशुल्क सेनेटरी प्याड वितरण, प्राथमिक उपचारको व्यवस्था र छात्राका गुनासा सुन्न महिला शिक्षकलाई फोकल पर्सनका रूपमा राखेका छन्।

मावि करैखोलामा अध्ययनरत छात्रा सीता विक भन्छिन्, ‘अहिले त म रजस्वला हुँदा पनि नियमित स्कुल आउँछु, विद्यालयमै सेनेटरी प्याड पाइन्छ। पहिलाभन्दा सजिलो भएको छ, केही समस्या भए शिक्षिकासँग परामर्श लिन्छौं।’ रजस्वलाको समयमा बग्ने रगत कक्षाका बेन्चमा लाग्ने र साथीहरूले नै दुव्र्यवहार गर्दा बीचमै कक्षाबाट भाग्न बाध्य भएको उनले सुनाइन्। तर, अहिले प्याड उपलब्ध भएपछि ढुक्कसँग कक्षामा बस्ने गरेको उनले बताइन्। लालीगुराँस माविमा अध्ययनरत छात्रा रीता कठायत भन्छिन्, ‘स्कुलमै सेनेटरी प्याडको व्यवस्था भएपछि अहिले कोही पनि भाग्दैनन्, रजस्वला भएका बेला पनि सबै जना नियमित स्कुल आउन थालेका छन्।’ शौचालय र पर्याप्त पानीको व्यवस्था भएकाले पनि सहज भएको उनको भनाइ छ।

‘हामीले छात्राहरूलाई निःशुल्क प्याड वितरण गर्दै आएका छौं, महिनावारीका बेला उनीहरूलाई आवश्यक परामर्श पनि दिने गरेका छौं’, लालीगुराँस मावि रामघाटमा कार्यरत शिक्षक कमला रानाले भनिन्, ‘अहिले छात्राहरू महिनावारीका बेला पनि नियमित हाजिर भइरहेका छन्, बीचमै स्कुलबाट भाग्नेक्रम रोकिएको छ।’ मावि करैखोलामा कार्यरत शिक्षक सीता उपाध्याय भन्छिन्, ‘हाम्रो समाज अहिले पनि छाउपडीको कुप्रथाबाट जकडिएको छ, यस्तो अवस्थामा छात्राहरू रजस्वलाको समयमा मानसिक तनावमा हुन्छन्। हामीले विद्यालयमा उनीहरूअनुकूल वातावरण बनाउने प्रयास थालेका छौं, रजस्वला भएकै कारण छात्राले विद्यालय छाड्ने समस्या अहिले हटेको छ।’

स्थानीय सरकारको चासो

रजस्वलाको समयमा पनि छात्रालाई विद्यालयमा नियमित गराउन यहाँका स्थानीय सरकारले चासो दिन थालेका छन्। छात्राहरूको शिक्षामा सहज पहुँच वृद्धि गर्न र उनीहरूलाई नियमित विद्यालयमा हाजिर गराउन स्थानीय सरकारले चासो दिन थालेका हुन्। यसका लागि अधिकांश स्थानीय तहले अब विद्यालयमै निःशुल्क रूपमा सेनेटरी प्याड वितरणको योजना बनाएका छन्।

जिल्लामा सबैभन्दा बढी छाउगोठ रहेको र छाउपडीको कुप्रथाबाट जकडिएको पञ्चपुरी नगरपालिकाले पनि विद्यालयमा सेनेटरी प्याड वितरणको योजना बनाएको छ। मेयर उपेन्द्रबहादुर थापाले भने, ‘हामी आगामी वर्षको नीति तथा कार्यक्रममा यसलाई सम्बोधन गर्दै छौं, नगरका विद्यालयमा अब निःशुल्क रूपमा प्याड वितरण गर्नेछौं। बालिका र किशोरीको शिक्षामा हामी संवेदनशील छौं, महिनावारीका बेला उनीहरूलाई ढुक्कसँग स्कुलमा हाजिर गराउन पहल थाल्दै छौं।’ भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले सेनेटरी प्याड सबै विद्यालयमा निःशुल्क उपलब्ध गराउन आफूहरूले विशेष योजना ल्याउने जानकारी दिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.