नाउराको भीरबाट लडेर एक जनाको मृत्यु
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा नाउराको भीरबाट लडेर एकजनाको मृत्यु भएको छ।
बगरबाट खिवाङ जाने क्रममा नाउराको भीरबाट लडेर खिवाङका ५० वर्षीय जितबहादुर पुनको मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय दरवाङले जनाएको छ ।
बगरको तातोपानी कुण्डमा स्नान गरेर घर फर्कने क्रममा पुन नाउराको भीरबाट करिब तीन सय मिटर तल खसेका थिए।
साघुँरो बाटोमा हिँड्ने क्रममा झुक्किएर भीरबाट खसेको प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले बताए।
पुन खिवाङ स्थित चन्द्रज्योती माविको व्यवस्थापन समितिका अध्यक्ष, बाघराज बिल्डर्सका अध्यक्ष, अपर म्याग्दीखोला जलविद्युत आयोजनाको निर्देशक थिए।
बेलायती गोर्खा सैनिकका सेवा निवृत पुन केही वर्षयता गाउँ फर्किएर जलविद्युत आयोजना, गाउँको विकास निर्माण, व्यवसायिक सुन्तला खेतीका साथै सामाजिक काममा सक्रिय थिए ।
गाउँका अगुवा पुनको निधनले खिवाङबासी शोकमा डुवेका छन् । धौलागिरी चक्रीय पदमार्ग अन्तरगत पर्ने अक्करे नाउराको भीर जोखिमयुक्त छ । यहाँ वर्षेनी दुर्घटना भएर स्थानीयबासी, पर्यटक र पर्यटक मजदुरहरुको ज्यान जाने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !