कारको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
विराटनगर : मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बुधबारेमा बुधबारराति एउटा निजी कारले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक युवाको मृत्यु भएको छ। अर्का युवाको अवस्था गम्भीर रहेको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको निजी कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई राति ८ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम चौधरीको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन्। उनलाई नोबेलबाट थप उपचारका लागि विराट नर्सिङ होम रेफर गरिएको छ। उनको टाउकोको शल्यक्रिया गरिएको र अझैसम्म होस खुल्न नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !