हुम्ला र बाजुरा जोड्न कवाडी नदीमा बेलिबिज्र
बाजुरा : बाजुरा र हुम्ला जोड्ने कवाडी नदीमा बेलिबिज्र निर्माण हुन लागेको छ। नेपाली सेनाले निर्माण गर्न लागेको कर्णाली करीडोर सडकअन्तर्गत बेलिबिज्र निर्माण हुन लागेको हो। बैशाख महिनामा काम सम्पन्न हुने गरी बेलिबिज्र पुल निर्माण भइरहेको नेपाली सेनाले बताएको छ।
कवाडी नदीमा बेलिबिज्रको काम बैशाखसम्म सम्पन्न गरी जेठ महिनामा हुम्ला यातायात पुर्याउने लक्ष्य रहेको छ। देशका सबै जिल्लामा यातायातले छोएको भएपनि हुम्ला भने अहिलेसम्म सडक सञ्जालमा जोडिएको छैन। बैशाखमा निर्माण कार्य सम्पन्न गरेर जेठमा हुम्लाको केही भागसम्म गाडी सञ्चालनमा ल्याउने लक्ष्य रहेको कर्णाली करीडोरको तिथि चौर क्याम्पका उप सेनानी शंकर सिलवाले जानकारी दिएका छन्।
कवाडी नदीमा बेलिबिज्र बनेपछि हुम्लाको सिमाना कम्तीमा १५ किलोमिटर यातायात सञ्चालनमा आउने सेनाले बताएको छ । काम तीव्र गतिमा भइरहेको छ। कवाडी नदीमा बेलीबिज्रको काम सुरु भएपछि हुम्लावासी खुशी भएका छन्। गाडी चढने रहर पूरा हुने भन्दै स्थानीय खुशी भएको हुम्लाको ताजाकोटमैला गाउँपालिका अध्यक्ष बागदल मल्लले बताए।
हुम्लामा यातायात नपुग्दा स्थानीयवासी साता दिन लगाएर कालिकोट पुगेर गाडी चढनु परेको थियो।अर्कोतिर महँगो हवाई भाडा तिर यात्रा गर्नुपर्ने वाध्या थियो। गाडी नपुगेकै कारणले हुम्लाबासीले महँगीको मार खेप्दै आएका थिए। बिरामी हुँदा पनि समयमै उपचार पाउन नसकी ज्यान जाने अवस्था छ।
एक महिनामै हुम्लामा गाडी पुग्ने सम्भाबना भएकाले हुम्लावासी निकै खुशी भएको हुम्लाका स्थानीय नन्दबहादुर महतराले बताए। नेपाली सेनाले जिम्मा लिएको कर्णाली करीडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्ला सम्म १ सय ४५ किलोमिटर रहेको छ। कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा रहेको छ। सेनाले यो सडकको जिम्मा २०७१ चैत बाट सुरु गरेको हो।
अहिलेसम्म १ सय ७ किलोमिटरमा काम भइरहेको छ। जसमध्ये ७२ किलोमिटरमा यातायात सञ्चालनमा आएको उप सेनानी शंकर सिलवाले जानकारी दिए। चैत ७ गते बाजुरा खण्डमा यातायात सेवा सञ्चालनमा ल्याइएको थियो। कर्णाली करिडोरअन्तर्गत जुरा खण्ड कालिकोट र बाजुरा सीमाना लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक सञ्चालनमा आएको छ।
सडक सञ्चालनमा आएसँगै बाजुराका हिमाली, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिका र बुढिन्नदा नगरपालिका सडक सञ्जालमा जोडिएका छन्। त्यस्तै कालिकोट र मुगका स्थानीयलाई समेत सहज भएको छ।
प्रतिक्रिया दिनुहोस !