क्रान्तिमोह र क्रान्तिकारी

क्रान्तिमोह र क्रान्तिकारी

अन्ततोगत्वा राजनीतिक वि श्रामस्थल झापालीदेखि माओवादी विद्रोहीसम्मका निमित्त लोकतन्त्र नै मुख्य मार्ग रहेछ भन्ने प्रमाणित भएको छ


चार दशकअघि युनिभर्सिटी अफ इलिनोइस अर्बना स्याम्पेनमा स्वीडिस मूलका प्राध्यापक फोल्की डोभ्रिङको विद्यार्थी हुने अवसर मिलेको थियो। नेपालीप्रति बढी सद्भाव राख्ने प्राध्यापक डोभ्रिङ ५० को दशकमा नेपालमा सुरु हुन लागेको विकास प्रक्रियामा विश्व खाद्य तथा कृषि संस्था (एफएओ) को प्रमुख सल्लाहकारका रूपमा सहभागी भएका थिए। एक अन्तरसंवादमा मैले पञ्चायती प्रणाली पतनका निमित्त क्रान्ति अपरिहार्य भएको धारणा व्यक्त गरे। अर्थ–राजनीति तथा विकासविद् प्राध्यापकले मुस्कुराउँदै भने, ‘विश्व इतिहास अध्ययन गर्ने हो भने क्रान्तिले सबै समाज तथा मुलुकको विकास प्रक्रिया पछि धकेलेको पाइन्छ। कुनै पनि क्रान्तिले विपन्नको भलो गर्नेभन्दा उनीहरूलाई अझै विपन्न तुल्याउने सम्भावना प्रबल हुन्छ। तिमीजस्ता युवाको ध्यान सिर्जनशील सुधारका सम्भाव्यताको खोजतर्फ केन्द्रित हुँदा प्रभावकारी हुन्छ।’

सत्तरीको दशकमा हाम्रो आर्थिक अवस्था निकै कमजोर थियो। भित्रिने अन्तर्राष्ट्रिय विशेषज्ञहरू गरिब मुलुक झन्झन् विपन्न हँुदै गरेको निष्कर्ष निकालेर निराश हुँदै नेपालबाट फर्कने गर्दै थिए। क्रान्तिले संसदीय व्यवस्थाको पुनस्र्थापना हुन्छ। त्यसपछि मात्र मुलुकको कायापलट हुनेछ भन्ने मेरो एकोहोरो बुझाइ थियो।

सत्तरीको दशकको अन्त्यतिर विश्व राजनीतिक क्षितिजमा द्रूत गतिमा हुँदै गरेका परिवर्तनले अमेरिकी टेलिभिजन पर्दाहरूमा स्थान पाउन थालेका थिए। इरानका वादशाह पदच्युत भएर राष्ट्रविहीन रोगी शरीर लिएर भौतारिँदै शरण दिने मुलुकको खोजीमा थिए। तेहरानस्थित अमेरिकी कूटनीतिज्ञलाई इरानी क्रान्तिले अपहरण गरेर कैदी तुल्याएको थियो। ल्याटिन अमेरिकाकै धनी एवं शक्तिशाली निकारागुवाका राष्ट्रपति समोसा सान्डिनिस्टा क्रान्तिले पदच्युत गर्दा अमेरिका पुगेका थिए।

कम्बोडियामा २० लाखभन्दा बढी नरसंहार गर्ने कम्युनिस्ट शासक पोलपोटको कम्पुचियाबाट अर्को मानवअधिकार हनन गर्ने कम्युनिस्ट राष्ट्र भियतनामको सैनिक हस्तक्षेपपछि कम्बोडिया पुनः परिवर्तित हँुदै थियो। लाखौंलाखको संख्यामा भियतनामी आफ्नै शासकको कोपभाजनबाट जीवनरक्षाका निमित्त सुरक्षित स्थानको खोजीमा समुद्रमा हेलिने क्रम जारी थियो। कम्युनिस्ट चीनले ‘पाठ सिकाउन’ अर्को कम्युनिस्ट राष्ट्र भियतनाममा हमला गरेको थियो। सोभियत युनियनको सहयोगमा अफगानिस्तानका राजा पदच्युत भइसकेका थिए। त्यहाँ साम्यवादी गणतन्त्र स्थापित हँुदै थियो। एक्काइस महिने संकटकालको घोषणाबाट अधिनायकवादी भएको भारतमा भने प्रजातन्त्रको पुनर्बहाली भइसकेको थियो।

आउँदो क्रान्तिकारी पिँढीलाई अवसर छ— धर्मनिरपेक्ष गणतान्त्रिक संघीय लोकतन्त्रमा देखा परेको कमीकमजोरी हटाउँदै आवश्यक सुधारका निमित्त आफ्नो जोस, जाँगर तथा ऊर्जा खर्च गर्ने अथवा पुनः अर्को सेटको सीमित महत्वाकांक्षी व्यक्तिलाई काँधमा राखेर आफ्नो जीवन नष्ट गर्ने।

नेपालमा भने २००७ सालको क्रान्तिले १०४ वर्ष लामो राणाशासन अन्त्य गर्‍यो। तर उक्त क्रान्ति सफल भएर अवतरण हुन पाएन। राणाशासन अन्त्य भयो तर उनीहरूले स्थापना गरेको शासकीय स्वरूपले निरन्तरता पायो। पुरातनवादी शक्ति तथा सेनाका निमित्त मालिक मात्र परिवर्तन भयो अर्थात् राणाबाट शाह। नयाँ मालिकको छत्रछायामा पुरानै संस्कार तथा संस्थाले निरन्तरता पायो। महत्वाकांक्षी राजा महेन्द्रले त्यस अवस्थाको भरपूर फाइदा उठाए। महेन्द्रले सत्ता हत्याएदेखि प्रचण्ड—बाबुराम भट्टराईको मूलधार राजनीतिमा प्रवेशसम्मको झन्डै चार दशक लामो अवधिमा मुलुकले पाँच सशस्त्र विद्रोह वा ‘क्रान्ति’ थेग्यो। त्यस्ता क्रान्तिका नायक सुवर्णशमशेर, बीपी कोइराला, राधाकृष्ण मैनाली, रामराजाप्रसाद सिंह तथा प्रचण्ड–बाबुराम थिए। प्रचण्ड–बाबुरामले क्रान्ति विसर्जन गरेको भन्दै विद्रोह गरेका दुई माओवादी घटकहरू नेत्रविक्रम चन्द तथा उक्त आन्दोलनका जननी मोहन वैद्यहरू पुनः क्रान्तिका कुरा गर्न थालेका छन्। विप्लवका नेताकार्यकर्ताको धरपकडले तिनको गतिविधि निष्क्रिय तुल्याउन सरकार सफल भएको छ। तर, मोहन वैद्य जनताको बन्दुक उठाउने अधिकारको वकालतमा लागिपरेका छन्।

विगतमा भएका सशस्त्र क्रान्तिले मुलुकले केकस्ता उपलब्धि हासिल गर्‍यो अनि कति मूल्य चुकायो ? त्यस्ता क्रान्तिमा लुकेका उद्देश्य के थिए ? क्रान्ति नेतृत्वले केकस्ता फाइदा उठाए ? क्रान्तिकारी नेताहरूको सपना साकार तुल्याउने क्रान्तिकारीले के गुमाए ? के फाइला लिए ? यस्ता विषयमा कुनै दिन विनाकुनै पूर्वाग्रह अनुसन्धान भएर निष्कर्ष निस्कने नै छन्। यस आलेखमा माओवादी विद्रोही नेताका वीरगाथा समावेश गरिएको छैन। आलेखमा राधाकृष्ण मैनाली, हरिहर विरही तथा दुर्गा सुवेदीद्वारा प्रकाशित पुस्तकलाई आधार मानेर वर्तमान तथा भविष्यका क्रान्तिकारीका निमित्त उपयोगी हुन सक्ने केही तथ्य प्रस्तुत गरिएको छ।

राधाकृष्ण मैनालीले ‘नलेखेको इतिहास’ मा उल्लेख गरेअनुसार उनी झापाली विद्रोहका नेता तथा ‘आर्किटेक’ थिए। नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य थियो। क्रान्तिपथमा अग्रसर हुँदा तिनी बाघको मुखबाट तथा प्रहरीको गोली खानबाट बचेका थिए। व्यक्ति हत्यावापत १४ वर्ष कठिन र अमानवीय जेल जीवन बिताए तिनले। तिनले मनमोहन अधिकारीदेखि राजा ज्ञानेन्द्रको नेतृत्वमा गठित चार मन्त्रिमण्डलमा सदस्य हुने अवसर पाए। एमाले परित्याग गरेर केही समय माओवादीमा पनि आबद्ध भएर पुनः एमाले फर्केका हुन्। पार्टी एकीकरणपश्चात् भने सक्रिय देखिएका छैनन्। बीपीले नेतृत्व गरेको क्रान्तिका योद्धा हुन् हरिहर विरही तथा दुर्गा सुवेदी। हरिहर विरहीको पुस्तक ‘आगो निभेको छैन’ बाट थाहा हुन्छ– तिनी कलिलो उमेरमै कांग्रेस राजनीतिमा होमिएका थिए।

विरहीले प्रजातन्त्र पुनस्र्थापनाका निमित्त आफूले गरेको संघर्षका क्रममा उठाएको जोखिम तथा जेल, प्रबास तथा पुनः जेल जीवन पुस्तकमा समावेश गरेका छन्। त्यसैगरी दुर्गा सुवेदीलिखित ‘विमान विद्रोह— एउटा राजनीतिक अपहरणको बयान’ ले प्रजातन्त्र पुनस्र्थापनाका निमित्त सुवेदीले आफूले गरेको दुस्साहसिक कार्यको (हवाई अपहरणको नेतृत्व) फेहरिस्त पस्किएका छन् पुस्तकमा। स्वदेश तथा आप्रबास जीवनमा तिनले भोगेको दुःखकष्ट तथा जोखिमले भरिएको छ पुस्तक। आफ्नै सहकर्मीबाट भएको घातक हमला तथा ज्यान लिने साजसीजस्ता कार्यले पुस्तकमा स्थान पाएको छ। तिनै निष्ठावान् क्रान्तिकारीको जीवनीबाट प्रस्ट हुन्छ– उनीहरू कुनै व्यक्तिगत स्वार्थ अथवा महत्वाकांक्षा पूर्तिका लागि अथवा सत्तामोहजस्ता कारणले क्रान्तिमा होमिएका थिएनन्। निश्चित उद्देश्य प्राप्तिका निमित्त जीवन बलिदान दिन लागिपरेका थिए।

तिनै पराक्रमी क्रान्तिकारीहरूको पारिवारिक पृष्ठभूमि भने चाखलाग्दो छ। मैनाली तथा विरही जमिनदार पुत्र थिए, दुर्गा सुवेदीलाई त्यस्तो सुविधा थिएन। तीनमध्ये सर्वहारा सुवेदी थिए। सहिद हुने रहर बोकेका विरही, मैनाली र सुवेदीका अधिकांश कामरेडहरू तथा अभिन्न मित्रहरू सहिद भए, मारिए। मैनालीको नेतृत्वमा भएको सामन्ती सफाया आन्दोलनका सहयात्री खड्गप्रसाद ओली तेस्रो कम्युनिस्ट प्रधानमन्त्री तथा ‘इतिहासकै सबैभन्दा बढी समर्थनप्राप्त सरकारको नेतृत्व गर्दैछन्।’ सुवेदीका समकक्षी शेरबहादुर पटकपटक प्रधानमन्त्री भए।

विरहीका सहयोद्धामध्ये कति मन्त्री भए। यी तीन क्रान्तिकारी आजका दिनमा के गर्दैछन् ? सुवेदी कुशल पति तथा पितामा परिणत भएका छन्। विरही सक्रिय राजनीतिबाट पत्रकारितातर्फ लागे बेलाबेलामा लेखन गर्दै छन्। छोटकरीमा भन्नुपर्दा तिनै छोराछोरीले हासिल गरेको सफलताबाट सन्तोष लिँदै मञ्चन हुँदै गरेको राजनीतिक नाटकको मूकदर्शकमा परिणत भएका छन्।

अमेरिकी टेलिभिजनमा देखेको क्रान्तिबाट निकारागुवा तथा इरान अझै राजनीतिक स्थिरता हासिल गर्न सफल भएका छैनन्। दुवै मुलुकले आर्थिक उन्नति गर्न सकेका छैनन्। कम्बोडिया अझै नरसंहारको अँध्यारो इतिहासमा रुमलिएको छ। भियतनामको सैनिक हस्तक्षेपपश्चात् स्थापना गरेको पूर्व खामेर नेता हुनसेन अझै सत्तासीन छन्। विश्वकै सबैभन्दा लामो समय शासन गर्ने शासकहरूको अग्रिम पंक्तिमा पर्छन् उनी।

भियतनाम अब नागरिकलाई खतरनाक समुद्रतर्फ खेद्ने मुलुकबाट औद्योगिक उत्पादित वस्तु निर्यात गरेर द्रूत गतिमा आर्थिक उन्नति गर्ने मुलुकमा परिणत भएको छ। चीन र भियतनामले माओ तथा हो ची मिन्हको नेतृत्वमा भएको साम्यवादी क्रान्तिपथ त्याग गरे। साम्यवादी समाजको परिकल्पनामा नरसंहारको साटो त्यसमा अभूतपूर्व सुधार गरे। माओ तथा होची मिह्नले घृणा गरेको पुँजीवादी प्रणालीको आर्थिक नीति अवलम्बन गरेर आर्थिक उन्नति गर्न सफल भए ती दुई मुलुक। प्राध्यापक डोभ्रिङको सुधारको ‘प्रेसक्रिप्सन’ चीन र भियतनामका निमित्त सार्थक सिद्ध भएको छ।

राधाकृष्ण मैनाली, दुर्गा सुवेदी तथा हरिहर विरहीको जीवनीबाट पाठ सिक्ने हो भने क्रान्तिकारी युवाहरूको त्याग तथा बलिदानको प्रयोजन सीमित व्यक्तिहरूको सत्तासीन हुने महत्वाकांक्षा पूर्ति गर्ननिमित्त भएको थियो। मैनालीले सुरु गरेको क्रान्तिलाई अरूले उनीबाट खोसे। तिनलाई लिची खाँदा बोक्रा र गेडा फालेजस्तो गरेर फाले। आउँदो क्रान्तिकारी पिँढीलाई अवसर छ— धर्मनिरपेक्ष गणतान्त्रिक संघीय लोकतन्त्रमा देखा परेको कमीकमजोरी हटाउँदै आवश्यक सुधारका निमित्त आफ्नो जोस, जाँगर तथा ऊर्जा खर्च गर्ने अथवा पुनः अर्को सेटको सीमित महत्वाकांक्षी व्यक्तिलाई काँधमा राखेर आफ्नो जीवन नष्ट गर्ने। आखिर क्रान्तिमा बाँचेका सिपाहीहरूको जीवनको अन्तिम कालखण्ड छाता टेकेर विनासहारा काठमाडौंका सडकमा लुखुरलुखुर भौंतारिनुबाहेक अर्को विकल्प छैन। अन्ततोगत्वा राजनीतिक वि श्रामस्थल झापालीदेखि माओवादी विद्रोहीसम्मका निमित्त लोकतन्त्र नै मुख्य मार्ग रहेछ भन्ने प्रमाणित भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.