एक वर्ष पहिल्यै बन्यो सुरुङ

एक वर्ष पहिल्यै बन्यो सुरुङ

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम पूरा (ब्रेक थ्रु) भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरेका हुन् । बबई नदीबाट सुरुङ खन्दै अगाडि बढेको प्रविधियुक्त मेसिन प्रधानमन्त्री ओलीले स्विच दबाएपछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा निस्किएको छ ।

चुरे क्षेत्रको पहाडमा १२.२ किलोमिटर लामो सुरुङ खनिएको हो । चुनौतीपूर्ण मानिएको सुरुङ खन्ने काम तोकिएभन्दा एक वर्षअगाडि सकिएको छ । नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुरुङ निर्माण गरिएको हो । अब भेरी नदीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसालेर बिजुली उत्पादन र सिँचाइका लागि आवश्यक काम थालिने प्रधानमन्त्री ओलीले बताए । ओलीले बिजुली उत्पादन र सिचाइँको काम तत्कालै सुरु हुने स्पष्ट पारे ।

अब भेरीगंगा नगरपालिकास्थित चिप्लेमा बाँध निर्माण प्रक्रिया अघि बढ्नेछ । तोकिएभन्दा एक वर्षअगाडि नै सुरुङ तयार भएकाले बाँकी कामले पनि गति लिने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपालमा पहिलोपटक मेसिनबाट सुरुङ निर्माण भएको छ । स्वदेशी लगानीबाटै चुनौतीपूर्ण काम सफल भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो देशकै नमुना आयोजना बनेको छ । बाँध निर्माण र बिजुली उत्पादन प्रक्रिया पनि धमाधम अगाडि बढाउन म विभागीय मन्त्रालयलाई निर्देशन दिन्छु ।’

प्रधानमन्त्री ओलीले देशका अन्य आयोजना पनि तोकिएकै अवधिमा सम्पन्न गर्न सरकार लागिपरेको बताए ।

००

बिजुलीमा जनताको लगानी

चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४६.८ मेगावाट बिजुली उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ऊर्जा तथा सिचाइँमन्त्री वर्षमान पुनले आयोजनाबाट उत्पादन हुने बिजुलीमा जनताको लगानी हुने बताए ।

उनले भने, ‘हामीले जनताको जलविद्युत् आयोजना कार्यक्रम अगाडि बढाएका छौं । आयोजनाबाट उत्पादन हुने बिजुलीमा पनि जनताको ४९ प्रतिशत सेयर लगानी हुनेछ ।’ यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य आयोजनाको छ । यसका लागि आउँदो सुख्खा समयमै भेरीको पानी बबईमा खसालिनेछ ।

०००

‘पानी लैजाऊ, बिजुली देऊ’

आयोजनाको सुरुङ निर्माण भएसँगै यहाँबाट उत्पादन हुने बिजुलीमा कर्णाली प्रदेशले दाबी गरेको छ । आयोजनाको बाँधस्थल सुर्खेतमा पर्ने र भेरी नदी कर्णाली प्रदेशमा पर्ने भन्दै प्रदेश सरकारले बिजुलीमा दाबी गरेको हो ।

ब्रेक थ्रु कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘कर्णाली विकासमा पछाडि छ । हामी गरिबीसँग जुधिरहेका छौं । हाम्रो प्रदेशको पानी त लैजाऊ, तर उत्पादित सबै बिजुली कर्णालीले पाउनुपर्छ ।’

स्रोतको बाँडफाँट न्यायोचित नभए जनतामा असन्तुष्टि बढ्ने उनको भनाइ छ । प्रदेश ५ ले सिँचाइमा भेरीको पानी प्रयोग गरे पनि उत्पादन हुने सबै बिजुली कर्णालीले पाउनुपर्ने माग चर्को रूपमा उठेको छ ।

००

‘पानी देऊ, खाद्यान्न दिन्छौं’

भेरी–बबई आयोजना पूर्ण रूपमा सम्पन्न हुन बाँकी छ । आयोजनाको लाभ लिने विषयमा कर्णाली र प्रदेश ५ बीच विवाद हुने देखिएको छ । आयोजनामा कर्णालीले स्वामित्व खोजेपछि प्रदेश ५ ले भेरीको पानी बाँके र बर्दियामा सिँचाइ गर्न दिएमा त्यहाँ उत्पादन हुने खाद्यान्न कर्णालीलाई उपलब्ध गराउने आश्वासन दिएको हो ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले भने, ‘कर्णालीले हामीलाई सिँचाइका लागि भेरीको पानी देओस्, हामी तराईमा उत्पादन भएको खाद्यान्न कर्णालीलाई उपलब्ध गराउनेछौं ।’ तराईमा सिँचाइ उपलब्ध भए उत्पादन बढ्ने र त्यसले कर्णालीको खाद्य संकट टार्न सहयोग गर्ने पोखरेलले बताए ।

सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनी (कोभेक) बीच सुरुङ निर्माणका लागि २०७१ माघ १५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आउँदो वर्षको (२०७६) चैत १५ गतेसम्ममा सुरुङ निर्माण सम्पन्न गर्नुपर्ने थियो । सुरुङ निर्माणमा सफलता मिलेसँगै अब बिजुली उत्पादन र सिँचाइको पूर्वाधार निर्माण थालिने आयोजनाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.