रोल्पामा ‘गन्तव्य जलजला’ सुरु
![रोल्पामा ‘गन्तव्य जलजला’ सुरु](https://annapurnapost.prixacdn.net/media/albums/jaljala-nepal_20190417144925_S9ZfwJiSzI.jpg)
रोल्पा : रोल्पाको जलजलामा पर्यटन प्रवर्द्धन गर्न भ्रमण शुभारम्भ गरिएको छ। ‘जलजलाको संरक्षण र पर्या-पर्यटनको विकास गरौं, नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रूपमा सफल पारौं’ भन्ने मूल नारासहित गन्तव्य जलजला ट्रेक सुरु गरिएको हो। युद्धताका सैन्य तालिमका लागि जलजला सामरिक महत्वको स्थान मानिन्थ्यो।
नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई भ्रमणमा आकर्षित गर्न ‘गन्तव्य जलजला’ को थालनी गरिएको जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले बताए। ‘युद्धको आधारभूमि मात्र होइन, प्रकृतिको सुन्दर टुक्रा, धार्मिक महत्व बोकेको स्थान र पर्यापर्यटनका लागि जलजलाको महत्व दर्शाउन भ्रमण थालनी गर्नुपरेको हो’, जिसस प्रमुख बुढाले भने, ‘युद्धताका जनमुक्ति सेनाले सुरक्षित रूपमा तालिम गरेको महत्वसमेत जलजलाले बोकेको छ।’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जलजला भ्रमण उद्घाटन गरेका हुन्। मन्त्री पुनले थबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जलजला भ्रमण सुरु गरिएको घोषणा गरे। ‘नेपाल सरकारले पर्यटन प्रवर्द्धन गरी देशमा समृद्धि ल्याउने योजना बनाएको छ। त्यसका लागि पर्यटनका नयाँ–नयाँ गन्तव्यसमेत पहिचान गरिसकिएको छ,’ ऊर्जामन्त्री पुनले भने, ‘पहिचान गरिएको गन्तव्यमध्ये जलजलामा पर्यटक भित्र्याउन ‘जलजला ट्रेक’ थालनी गरेका हौं।’ गृहजिल्लाको पर्यटकीय क्षेत्र जलजलामा धेरै पर्यटक ल्याउन विशेष योजना बनाउनसमेत आफू लागिपरेको मन्त्री पुनले बताए। जलजला क्षेत्रमै पुगेर भ्रमण सुरु भएको घोषणा गर्ने कार्यक्रम तय गरिए पनि मौसम प्रतिकूलताका कारण थबाङबाटै घोषणा गरियो।
जलजला ट्रेकका लागि काठमाडौंबाट ३० जना आन्तरिक पर्यटक जिल्ला भित्रिकेका छन्। भ्रमण दलका सदस्य जीवन रोकाका अनुसार लिबाङ हुँदै जलजला पुगेर भ्रमण टोली थबाङ पुगिसकेको छ। ‘पहिलो भ्रमण टोली सफलतापूर्वक जलजला पुग्यो’, भ्रमण दलमा सहभागी रोकाले भने, ‘प्रचारात्मक उद्देश्यले भ्रमण आयोजना गरिएको हो।’ जलजला पुगेका पर्यटकले विभिन्न रंगका गुराँससँग सामीप्य गाँसे। मगर जातिको शक्तिपीठ मानिने बराह थान (मन्दिर) र भामा पु (गुफा) अवलोकनसमेत गरे।
भ्रमणको चाँजोपाँजो जिल्ला समन्वय समितिले मिलाएको हो। भ्रमणका लागि थबाङ गाउँपालिका सहआयोजक बनेको छ। भ्रमण टोलीलाई सदरमुकाम लिबाङमा रोल्पा नगरपालिकाले स्वागत गरेको नगरप्रमुख पुरण केसीले बताए। जिल्लाको मौलिक मयुर नाचसहित उनीहरूलाई स्वागत गरियो। काठमाडौंबाट गाडीमा आएका भ्रमण टोली नगरपालिकाको १० नम्बर वडा धबाङ पेवासम्म साना गाडीमा पुगेको थियो। टोली ओखरेनी हुँदै पैदल ६ घण्टामा जलजला पुगेको थियो।
तीन हजार १ सय ९३ मिटर उचाइ रहेको जलजलामा वर्षमा ३ पटक पूजाआजा गरिन्छ। मगर जातिका १२ भाइ बराहमध्ये कैलु बराहको यहाँ धुमधाम पूजा हुन्छ। २२ बहिनी बजुहरूको पनि पूजा गर्ने प्रचलन छ। बराह र बजु मगर जातिको देवीदेवता भएको पुजारी दया रोका मगर बताउँछन्।
रुकुम, सल्यान, दाङ, प्युठान, बाँकेका तीर्थयात्री पनि पूजाका लागि बर्सेनि जलजला पुग्छन्। पुजारी पनि मगर जातिकै छन्। यहाँ बोका बलि दिने चलन छ। सन्तान नहुनेले यहाँ भाकल गरे छोरा हुने जनविश्वास छ। प्रत्येक वर्ष वैशाख, जेठ र जनैपूर्णिमामा पूजाआजासहित मेला लाग्ने पुजारी रोका मगर बताउँछन्।
यहाँ दुर्लभ रेडपाण्डा, पशुपक्षी र वन्यजन्तुसमेत पाइन्छन्। डाँफे, मुनाल, कालिज, र प्युराले पर्यटकको मनै लोभ्याउँछन्। दुर्लभ सेतो गुराँस यहाँको अर्को आकर्षण हो। घोरल, थार, मृग, बँदेल, भालुजस्ता जंगली जनावरसमेत पाइन्छन्। युद्धकालदेखि नै जलजलामा वस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिँदै आएको छ। सरकारले समेत संरक्षण क्षेत्र बनाउने रणनीति अघि सारिसकेको ऊर्जामन्त्री पुनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)