लगानी सम्मेलनमा ३१ परियोजनाका लागि २५ खर्ब रूपैयाँको आशय
काठमाडौं : सरकारले गत चैतमा आयोजना गरेको लगानी सम्मेलनबाट ३१ परियोजनाका लागि २५ खर्ब रूपैयाँ (२५ अर्ब ३० करोड अमेरिकी डलर) को लगानीको आशय प्राप्त गरेको छ। ३१ मध्ये २६ परियोजना लगानी सम्मेलनमा प्रदर्शनीमा राखिएका आयोजना हुन्। ५ परियोजना भने लगानीका लागि आह्वान नगरिएका र निजी क्षेत्रले सम्मेलनका क्रममा गरेका समझदारीमा आधारित रहेको लगानी बोर्डले जनाएको छ।
'३१ परियोजनाका लागि ४८ आवेदकका तर्फबाट आशय व्यक्त भएको छ। हामीले अझै एक महिना आशय व्यक्त गर्नका लागि समय थपेका छौं,' लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले भने, 'त्यसपछि प्रस्ताव माग गरि परियोजना कार्यान्वयन प्रक्रिया अघि बढाइनेछ।'
उनले लगानी सम्मेलनमार्फत् सरकारले प्रतिस्पर्धी लगानीको वातावरण निर्माणमा कुनै कसर बाँकी नराखेको सन्देश प्रवाहित गर्न सरकार सफल भएको बताए। गत चैत १५ र १६ मा लगानी सम्मेलन आयोजना भएकोमा सरकारले वैशाख ८ सम्म आशय व्यक्त गर्न सकिने गरी लगानीकर्तालाई समय दिएको थियो। यो अवधिलाई अझै विस्तार गरी जेठ ६ सम्मको समय दिइएको छ।
लगानी बोर्डका अनुसार कृषि पूर्वाधारका ५ परियोजनामा ७ आवेदन आएका छन्। त्यस्तै स्वास्थ्य र शिक्षा पूर्वाधारमा २ परियोजनामा २, उर्जा पूर्वाधारका ७ परियोजनामा ८, उद्योगका १ परियोजनामा १, पर्यटन पूर्वाधारका ३ परियोजनामा ३, यातायता पूर्वाधारका ९ परियोजनामा २२ र सहरी पूर्वाधार ४ परियोजनामा ५ आवेदन प्राप्त भएको छ।
बोर्डका सीईओ अधिकारीले प्राप्त आशयहरुका आधारमा प्रस्ताव माग गरी प्रतिस्पर्धी र पारदर्शी ढङ्गले परियोजना विकासकर्ता छनौट गरिने जनाएको छ। 'लगानी बोर्डको कार्यालयले ती मध्ये पहिलो चरणका लागि ३ महिनाभित्र विकासकर्ता छनौट गरिसक्नेछ,' उनले भने।
प्राप्त आवेदनको मूल्यांकन तथा सम्मेलनमा भएका सझदारी र सम्झौताको कार्यान्वयनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका आर्थिक तथा भौतिक पूर्वाधार हेर्ने सचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको बोर्डले जनाएको छ।
लगानी बोर्डको वैशाख ५ गतेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।उक्त समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका प्रतिनिधित्व गर्ने एक-एक जना सहसचिव रहने बताइएको छ।