गोरखामा बन्यो नमुना बस्ती

गोरखामा बन्यो नमुना बस्ती

गोरखा (लाप्राक) : धार्चे गाउँपालिका ४ गुप्सीपाखामा एकीकृत नमुना बस्ती निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पबाट विस्थापित लाप्राकका बासिन्दाका लागि एकीकृत बस्ती निर्माण सम्पन्न हुन लागको हो। बस्ती गैरआवासीय नेपाली संघ (एनआरएन) ले बनाइरहेको छ।

एउटै साइज र एउटै रङका पाँच सय ७३ घरधुरी निर्माण सम्पन्न हुन लागेको एनआरएनएका प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीले बताए। ‘भूकम्प गएको दिन वैशाख १२ गतेकै अवसर पारेर हस्तान्तरण गर्ने योजना थियो। तर निर्माण सम्पन्न हुन सकेन’, उनले भने, ‘काठलगायतका सामग्री स्थानीयबासीले उपलब्ध गराउने सम्झौता थियो। समयमै निर्माण सामग्री जुट्न सकेन। अझै दुई महिना लाग्छ।’

एनआरएनएले पूर्वप्रतिबद्धताअनुसार घर निर्माण नगरेपछि लाप्राकका बासिन्दा जोखिमयुक्त स्थानमै भत्केको घर मर्मत गरेर बसेका छन्। हालसम्म चार सय ५० घरको छानो छाइसकेको एनआरएनएका साइट इन्चार्ज लक्ष्मण अर्यालले जानकारी दिए। ‘सबै घरमा ट्रस्ट हालिसकेका छौं’, उनले भने, ‘सबै घरको पहिलो तलाको काम पनि सकिएको छ। दोस्रो तलाको काम पनि सबै घरको ८५ प्रतिशत सकिएको छ।’

चार सय ७५ वटा घरमा रङरोगन गर्ने काम पनि सकिएको उनले बताए। ‘तलामा काठ छाप्ने काम बाँकी छ’, उनले भने, ‘झ्यालढोका राख्ने काम पनि सुरु भएको छ।’ स्थानीयबासीले समयमै आफ्नो दायित्वभित्रको काम नगरेकाले समयमा काम सम्पन्न गर्न चुनौती भएको दवाडीको तर्क छ। ‘सम्झौताअनुसार स्थानीयबासीले प्रतिघर ४० बोरा गिटी, ८ ट्याक्टर ढुंगा र काठ ५३ क्युफिटका दरले उपलब्ध गराउनुपर्ने थियो’, दवाडीले भने, ‘तर निर्माण सामग्री सबैले बुझाएका छैनन्। यसले पनि ढिलाइ भएको हो।’

एनआरएनएले नै काठको व्यवस्था गरेर निर्माण काम अगाडि बढाएको साइट इन्चार्ज अर्यालले बताए। ‘अब एउटा घरलाई ४८ क्युफिट काठ चाहिन्छ’, उनले भने, ‘स्थानीयले वनबाट सडकसम्म झारेपछि ढुवानी गरेर फिटिङ हामीले नै गर्नेछौं।’

एनआरएन नमुना बस्तीका घरमा प्रयोग गरिएको पीभीसीको झ्यालढोकाप्रति स्थानीयबासीको असन्तुष्टि छ। ‘प्लास्टिकले बनाएको पातलो झ्यालढोका छ’, स्थानीय मार्सिङ गुरुङले भने, ‘एकफेर लात्ताले हान्दा गल्र्यामगुर्लुम जाला जस्तो छ। यस्तो झ्यालढोकाले घरको सुरक्षा कसरी हुन्छ ? ’

प्रत्येक घर १२ लाख रुपैयाँ लागतमा बनेको एनआरएनएले जनाएको छ। नमुना बस्तीमा प्रत्येक घर ३ आना ३ पैसा क्षेत्रफलमा बनाइएको एनआरएनका प्रोजेक्ट मेनेजर सुवास अधिकारीले जनाए। लाप्राक नमुना बस्ती गुरुयोजनाअनुसार सबै एकै प्रकारका चारकोठे दुईतले घर बनाइएको छ। पहिलो तलामा सिमेन्ट, इँटा र बालुवा प्रयोग गरिएको छ भने दोस्रो तल्लामा एसिब्लक प्रयोग गरिएको छ।

घर निर्माण कार्य अन्तिम चरणमा पुगे पनि कुनै पनि घरमा शौचालय निर्माण गरिएको छैन। अब प्रत्येक घरमा शौचालय तथा सडक निर्माण सुरु गर्ने अधिकारीले जानकारी दिए। ‘हामीले ५ सय मानिस अट्ने सामुदायिक भवन पनि निर्माण गर्ने तयारी गर्दैछांै’, उनले भने, ‘अब हाम्रो टिम करिब दुई महिनामात्रै यहाँ रहन्छ।’

गुप्सीपाखाको १८.३ हेक्टर जग्गा स्वामित्वमा लिएर बस्ती निर्माण गरिएको हो। २०७३ माघमा बस्ती शिलान्यासका क्रममा एनआरएनका तत्कालीन अध्यक्ष शेष घलेले एक २०७४ सालको दसैंमा लाप्राकबासीलाई नयाँ घर दिने प्रतिबद्धता गरेका थिए। निर्धारित समयमा निर्माण नसकिएपछि घर हस्तान्तरणका लागि वैशाख १२ गतेको म्याद राखिएको थियो। तर यो मितिमा पनि बस्तीको सबै संरचना निर्माण नहुने देखिएको छ।

एकीकृत बस्ती निर्माणमा एक सय ६० जना नेपाली सेनासहित चार सय ५० कामदार परिचालिन छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.