जब सीमा धुरी चढिन्

जब सीमा धुरी चढिन्

पवित्रा सापकोटा पितृसत्तात्मक हाम्रो समाज अझै महिलामैत्री बन्न सकेको छैन। खासगरी ग्रामीण समुदायमा न महिला नेतृत्वलाई सहजरूपमा लिइन्छ न त महिला स्वयं नै नेतृत्व लिने साहस राख्छन्। कानुनी र व्यावहारिक पाटो धर्ती–आकासजत्तिकै फरक अझै छ। संविधानमा सजिलै व्यवस्था भएका विषय पनि व्यवहारमा पाउन गाह्रो छ। समान काममा पनि पुरुषका तुलनामा महिलालाई धेरै चुनौती छन्।

तर, पछिल्लो समय ग्रामीण समुदायमा महिला सशक्तीकरणमा उल्लेखनीय काम भएका छन्। विकास निर्माणलगायतका प्रायः काममा महिला सहभागिता अनिवार्य हुनुपर्ने प्रावधान र यसको सही कार्यान्वयनले महिला सशक्तीकरणमा टेवा पुर्‍याएको हो। अहिले त ग्रामीण महिलामा हामीले पनि केही गर्नुपर्छ भन्ने भावना विकास भएको पाइन्छ।

उदाहरण हुन्–सिन्धुपाल्चोको मेलम्ची–९ निवासी सीमा तामाङ। २०७२ को विनाशकारी भूकम्पपछि जिल्लामा थुप्रै संघसंस्था आआफ्ना कार्यक्रममार्फत सहयोग गर्न आए। कसैले राहत सामग्री बाँडे, कसैले विद्यालय निर्माण गरे, कसैले जीविकोपार्जन कार्यक्रम ल्याए। कसैले मानवीय क्षमता विकास वा सशक्तीकरणमा जोड दिए। पछिल्लो समयमा हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च सिन्धुपाल्चोकको सहयोगमा सञ्चालित आवास निर्माण कार्यक्रम गाउँमा भित्रियो। हरेक अवसर केही न केही चुनौती लिएर आउँछ भनेझैं छानाको आश लिएर कार्यक्रम त आयो तर काम गर्नसक्ने युवा वर्ग नहँुदा अर्काे समस्या आइलाग्यो। वर्षांैदेखि यहाँ गाउँका युवा कोही रोजगारीका लागि खाडी मुलुक त कोही बाह्य जिल्लामा पुगेका छन्। अब गाउँमा कसले लिने निर्माणको नेतृत्व ?       

सीमाले साहस गरिन् र अघि बढिन्। ‘कार्यक्रमको नेतृत्व म लिन्छु, मेरो घर र गाउँले सबैको घर म बनाउँछु अनि खानेपानी योजना पनि सम्पन्न गर्छु’, भन्दा सहयोगी संस्थाले जोडदार स्वागत गरे तर आफ्नै गाउँका भने मान्छेले मुख बटारेर मुन्टो निहुराए। ‘म नेतृत्व गर्छु र काम गरेररै छोड्छु’ भन्ने अठोट साथ सीमाले जिम्मेवारी लिइन्। बालबच्चाको स्याहारसुसार, पारिवारिक जिम्मेवारीसँगसँगै सीपको अनभिज्ञताले सुरुका दिनमा हम्मेहम्मे नपारेको होइन।

तालिम लिइन्। दनुवार वस्तीका कतिपय घरमा आफैं काठ चिरेर आफैं धुरी मारेर पूरा गराइन्। गाउँमा खानेपानी तथा सरसफाइ योजना आयो। उपभोक्ता समिति चयन गर्नुपर्ने भयो। नौजना उपभोक्ता समितिमा सबैले उनलाई अध्यक्ष बनाए। उनी विस्तारै सीपयुक्त हुँदै गइन्, गाउँमा नेतृत्व पाउन थालिन्।

यस सफलताले सीमाको सामाजिक जीवनमा उल्लेखनीय परिर्वतन ल्यायो। साथै, अन्य महिलाका लागि पनि प्रेरणको स्रोत बन्न पुगिन उनी। यहाँको खानेपानी योजनाले त स्थानीय महिलाको दैनिकी, सोच्ने शैली र जीवनस्तरमै परिवर्तन ल्यायो। सीमा भन्छिन्, ‘पहिला–पहिला हाम्रो धेरै समय पानी भर्दैमा बित्थ्यो। अरू केही सोच्ने र गर्ने फुर्सद हँुदैनथ्यो। कसरी आम्दानी बढाउने भन्ने ज्ञान थिएन। तर, अहिले गाउँमा पानी आएपछि आनन्द छ। आयआर्जनका लागि समय मिलेको छ। सरसफाइमा ध्यान दिनाले स्वास्थ्यमा सुधार हुनका साथै गाउँको शोभा र स्वाभिमान बढेको छ।’

अहिले महिला अधिकार, महिला विकास वा महिला सशक्तीकरणका आवाज जोडदार रूपमा उठिरहेका बेला अधिकारले मात्रै पुग्दैन केही गर्ने साहसका साथ महिला स्वयं अगाडि बढ्नुपर्छ। काम गर्ने न जातले हो न त लिंगले। यो त सीप वा क्षमताले हो। अवसर पाएमा महिला पनि त्यो सबै काम गर्न सक्छन्, जुन काम पितृसत्तात्मक सामाजिक सोचाइले प्रायः असम्भव ठान्छ। इमान्दारीसाथ नेतृत्व गर्ने हो भने आफ्नै गाउँमा विकासको ढोका खुल्दो रहेछ भन्ने सीमाको संघर्षबाट प्रष्ट हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.