खर्च विवरण बुझाउँदैनन् स्थानीय तह
बैतडी : बैतडीका १० वटै स्थानीय तहबाट तेश्रो किस्ताको रकम निकासा भइसकेको छ। तर, दुई चौमासिकको खर्च कोष तथा लेखा नियन्त्रक कार्यालयसँग आइपुगेको छैन्। वित्तीय समान्यीकरण र सशर्त अनुदान तर्फको सबै रकम निकासा भएपनि स्थानीय तहले खर्च विवरण भने नबुझाएको कोष तथा लेखा नियन्त्रक कार्यालयका कोष नियन्त्रक सिद्धराज ओझाले बताए। उनले भने, 'हामीले स्थानीय तहलाई तीन चौमासिकको रकम सबै निकासा गरिसकेका छौं। तर स्थानीय तहको खर्च विवरण हामीसँग छैन्। स्थानीय सरकारलाई सिधैं रकम निकासा गर्ने भन्ने छ। तहहरुले हामीलाई खर्च विवरण उपलब्ध गराए सजिलो हुने थियो।'
आर्थिक कार्यविधि ऐन २०५६ अनुसार स्थानीय तहले आफूले गरेको खर्चको विवरण मासिक रुपमा सार्वजनिक गर्नुपर्ने हुन्छ । तर स्थानीय तहहरुले खर्चको विवरण सार्वजनिक गर्नु त परै जाओस् कोष तथा लेखा नियन्त्रक कार्यालयमा समेत खर्च विवरण पेश गर्दैनन्। 'स्थानीय सरकार स्वायत्त सरकार हो भन्छन्। स्वायत्त भएपनि जुन कार्यालयबाट निकासा लग्यो त्यो कार्यालयलाई खर्च विवरण बुझाउनुपर्ने हुन्छ। तर स्थानीय तहले खर्चको विवरण नबुझाउँदा हामीलाई समस्या भएको छ ।'
कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले भने, 'स्थानीय सरकारले नागरिकको सूचनाका लागि प्रत्येक महिनाको खर्च विवरण सूचनापाटीमा टास्नुपर्ने हुन्छ। तर त्यसो गरिएको छैन्।'
स्थानीय तहहरुले कोष तथा लेखा नियन्त्रक कार्यालयलाई खर्च विवरण नबुझाउँदा खर्चको स्थितिका बारेमा थाहा हुन नसकेको लेखापाल भट्टले बताए। उनले जति ताकेता गरेपनि स्थानीय तहले खर्चको विवरण नबुझाउने र बुझाएकाले पनि अपुरो पठाउने गरेको बताए।
कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशरथचन्द नगरपालिकालाई ३४ करोड ८८ लाख ६१ हजार निकासा भएको छ । यस्तै पाटन नगरपालिकालाई २९ करोड ९१ लाख ६० हजार ३३३, पुरचौंडी नगरपालिकाका लागि २९ करोड ५ लाख ४२ हजार ३३३,मेलौली नगरपालिकाका लागि २७ करोड ७२ लाख ६९ हजार ६६६ रुपैया निकासा भएको छ।
यस्तै दोगडाकेदार गाउँपालिकाका लागि २२ करोड ८३ लाख १४ हजार ६६६, पञ्चेश्वर गाउँपालिकाका लागि १८ करोड ५३ लाख १० हजार ६६६, शिवनाथ गाउँपालिकाका लागि १५ करोड १९ लाख ३० हजार ३३२, सुर्नया गाउँपालिकाका लागि १८ करोड १२ लाख ४ हजार ९९९ रुपैया निकासा भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए।
यसैगरी डिलाशैनी गाउँपालिकाका लागि १९ करोड ९६ लाख ६९ हजार ३३३ र सिगास गाउँपालिकाका लागि १९ करोड ५५ लाख ८४ हजार ३३२ रुपैयाँ निकासा भएको छ।
यसरी निकासा हुने रकम प्रत्येक चौमासिकका एकमुष्ट निकासा हुने र स्थानीय तहले नै कार्यक्रम बनाएर खर्च गर्ने गरेका छन्। स्थानीय तहले भने कर्मचारी अभावमा समयमै काम गर्न नसकेको बताउँदै आएका छन्। सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर बिष्टले कर्मचारी समायोजन पछि गाउँपालिकामा कर्मचारीको अभाव भएको बताए।
प्रतिक्रिया दिनुहोस !