सतबाँझका स्याउको स्वाद सम्झनामा मात्र
बैतडी : दशरथचन्द नगरपालिका १ सतबाँझका कृष्णदत्त भट्टलाई सतबाँझमा फल्ने रसिलो स्याउको स्वाद अझै पनि याद छ। करिब २० वर्षअघि सतबाँझमा लटरम्म स्याउ फल्थे। सतबाँझको स्याउ भनेपछि धेरै मानिस किन्नका लागि सतबाँझमै पुग्ने गर्दथे। तर पछिल्लो समयमा स्याउको बोट समेत देखिन मुस्किल भएको छ। स्याउ भन्ने बित्तिकै सुदूरपश्चिममा बैतडीको सतबाँझ भनेर सबै दिमागमा आइहाल्थ्यो।
उनले भने, ‘सतबाँझमा असारदेखि असोजसम्म विभिन्न जातका स्याउ फल्ने गर्दथे। त्यतिबेला हामी स्याउ टिपेर खान्थ्यौं। स्याउ बेचेर नुनतेल समेत चलाउने गर्दथ्यौं। तर अहिले स्याउको बोटसमेत देखिन मुस्किल भएको छ।’
सतबाँझको स्याउको बास्ना २ किलोमिटर परसम्म पुग्ने गरेको अनुभव स्थानीय वीरबहादुर टेरले सुनाए। उनले भने, ‘हिउँदमा करिब एकडेढ महिना हिउँ जम्थ्यो। चारपाँच जातका स्याउ फल्थे। हामीहरु यताबाट पिथौरागढसम्म स्याउ पुर्याउथ्यौं। अहिले स्याउको बोट हुर्कनै छाड्यो।’
सतबाँझ करिब २० वर्ष अघिसम्म निकै हरियाली डाँडो देखिन्थ्यो। तर स्याउ फल्न छोडेपछि अहिले नांगो डाँडोको रुपमा परिणत भएको छ। ‘सतबाँझको स्याउ भन्ने बित्तिकै धेरैको मुख रसाउँथ्यो। हामी यताउता जाने बेला कोसेलीको रुपमा सतबाँझकै स्याउ लग्ने गरेका थियौं।’ स्थानीय किसान गणेशदत्त भट्टले भने, ‘पछिल्लो समय जलवायु परिवर्तनका कारण स्याउ नै फल्न छोडेको छ। त्यो स्याउ स्वाद अब सम्झनामा मात्रै बाँकी छ।’
सतबाँझमा स्याउ फल्न छोडेपछि २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्रलाई पछिल्लो समयमा सुख्खा फलफूल विकास केन्द्रको नामले कार्यालय सञ्चालन गरिएको छ। ‘स्याउ फल्नका लागि निकै चिस्यान हुनुपर्छ। हिउँ पर्नुपर्छ। अहिले हिउँ नै पर्न छोड्यो। हिउँ पर्न छोडेपछि स्याउ फल्न पनि छोड्यो।’
सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले भने, ‘अहिले हामीले स्याउ फल्न छोडेपछि सुख्खा जातका फलफूलका विरुवा उत्पादन गर्ने र तीनकै नर्सरी बनाउने काम गरिरहेका छौं। स्याउ फल्न छोडेपछि ओखर लगायतका सुख्खा फलफूलका बिरुवा उत्पादन कार्यालयले काम गरिरहेको छ।’
जैतुनको विरुवा पनि उत्पादन हुँदै
स्याउको उत्पादन नहुने भएपछि सुख्खा फलफूल विकास केन्द्रले जैतुनको विरुवासमेत उत्पादन गर्न थालेको छ। गत वर्षदेखि जैतुनको नर्सरी राखिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाले बताए। जैतुन तेल उत्पादनका लागि निकै प्रसिद्ध वनस्पती भएको उनले बताए।
जैतुनको तेल बहुऔषधिको रुपमासमेत प्रयोग गरिने निमित्त प्रमुख ठगुन्नाले बताए। ‘सतबाँझमा स्याउ फल्न छोडेपछि नयाँ फलफूलका विरुवाको खेती गर्न थालिएको छ। हामीले किसानलाई जिविकोपार्जन हुने खालका विरुवा नर्सरी बनाएर वितरण गर्ने तयारी गरेका छौं।’
ठगुन्नाले भने ‘ किसानलाई जैतुन खेतीमा आकर्षण गराउनका लागि सुख्खा फलफूल विकास केन्द्रले एकसय ओटा जैतुनका माउ बोट आफ्नो नर्सरी रोपेको छ। ५ हजार जति विरुवा कलमीका लागि नर्सरीमा राखिएका छन्।’
एक वर्षभित्रै किसानलाई ५ हजार जैतुनका विरुवा वितरण गरिने तयारी भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए। ‘जैतुनबाट कोलेस्ट्रोल नभएको तेल उत्पादन भएकाले यो औषधिका लागि उपयुक्त छ’, उनले भने, ‘६ केजी जैतुनबाट १ केजी तेल उत्पादन गर्न सकिने भएकाले यसको खेती विस्तार भएमा किसानहरुको जिविकोपार्जनमा समेत सुधार हुने अपेक्षा गरिएको छ।’
प्रतिक्रिया दिनुहोस !