चिनौँ चिया
एक हजार आठ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिन सफल आदित्यका हाल पाँचवटा चिया उद्योग सञ्चालित छन्।
भाइ डाक्टर। दिदी पनि डाक्टर। आदित्य पराजुली (४०) लाई पनि बुवाआमाले डाक्टरी लाइनतिरै धकेल्न खोज्दै थिए। सानैदेखि किताबभन्दा पनि अतिरिक्त क्रियाकलापमा अग्रपंक्तिमा रहँदै आएका झापा भद्रपुरका युवा उद्यमी आदित्यलाई भने बुबा चण्डी पराजुलीले गर्दै आएको चिया व्यवसायलाई नै नयाँ प्रविधि प्रयोग गरेर अगाडि बढाउने सोच आयो।
झापाको बिर्तामोडमा रहेको लिटिल फ्लाओर विद्यालयबाट एसएलसी उत्तीर्ण उनले दिल्लीमा गएर बाँकी अध्ययन गरे। आदित्य आफ्नो व्यावसायिक जीवनमा केही नयाँ गर्न चाहन्छन्। उनी भन्छन्, ‘नेपालमा केही नयाँ चिजको विकास गरेर अघि बढ्नुपर्छ, नहुने भन्ने केही छैन।’
करिब २० वर्षअघि बुबा चण्डीराज पराजुलीले सञ्चालन गरिरहेको व्यापारलाई केही नयाँ प्रविधि थपेर बृहत् रूपमा विस्तार गर्न सकिन्छ भन्ने आँट र भरोसा लिएर आदित्य अघि सरे। त्यो समय आजभन्दा करिब १५ वर्षअघि बुवाले सुरु गरेको सीटीसी चिया उत्पादन हुने डाँफे चिया उद्योग मात्र थियो।
भारतको आसाम पुग्दा त्यहाँ अर्थोडक्स चिया उत्पादन गर्न सफल भएको त्यहाँका व्यवसायीहरूबाट थाहा पाए। त्यसपछि उनले तराईमा अर्थोडक्स चिया उत्पादन सुरु गरे। पहाडमा बन्ने चिया तराईमा बनाएर बजार लिन गाह्रो थियो। अन्ततः बजार राम्रो बनाइसकेपछि अहिले ६ वर्षदेखि नियमित रूपमा वर्षको २० लाख केजी मात्र अर्थोडक्स चिया उत्पादन हँुदै आएको छ।
अर्थाेडक्सपछि उनलाई ग्रिन टीप्रति रुचि लाग्यो। तुरुन्त नयाँ प्रविधि प्रयोग गरेर हाल मागबमोजिम ग्रिन टी पनि उत्पादन गर्दै आएको आदित्य बताउँछन्। आदित्य भन्छन्, ‘नेपाल एक मात्र कुुरामा आत्मनिर्भर छ, त्यो हो चिया।’ नेपालमा चिया खपत एक करोड केजी हुन्छ र बाँकी एक करोड केजी भारतलगायत तेस्रो देशमा निर्यात हुने उनको भनाइ छ। झापामा २६ वटा चिया उद्योग छन्।
आदित्य व्यवसायमा आउनुअघि उनको एक मात्र निजी चिया उद्योग मात्र सञ्चालनमा थियो। हाल उनका पाँचवटा चिया उद्योग छन्। व्यवसायलाई समयअनुसार चलाउनुपर्छ भन्ने मान्यता लिएका आदित्यको रुचि चियाबाट रक्सी बनाउनेमा छ। उनी त्यसको प्रक्रियामा लागिपरेका छन्।
आदित्यको पहलमा नै उनको चिया जर्मनी, रसियालगायत तेस्रो देशका मुलुकहरूमा पुगेको छ। पाँचवटा चिया उद्योगबाट सीटीसी, अर्थोडक्स र ग्रिन टी उत्पादन हुँदै आएको छ।
पराजुलीले नेपालमा नयाँ प्रविधि प्रयोग गरेर भर्खरै मात्र डेढ करोड केजी ब्रिकेट उत्पादन गर्ने उद्देश्यका साथ १३ करोड रुपैयाँको उद्योग सुरु गरेका छन्। उखुको खोया, प्लाई कारखानामा खेर गएका धुलो, चिनी कारखानामा प्रयोग भएर बाँकी रहेका सामान प्रयोग गरेर विल्कुलै नयाँ प्रविधि प्रयोगमार्पmत उनले ब्रिकेट उत्पादन सुरु गरेका छन्। सल्फर नहुने हुनाले प्रदूषण नहुने यस्ता ब्रिकेट आफ्नै चिया उद्योगमा प्रयोग गर्न सकिन्छ। उनले तीन महिनादेखि ब्रिक्रेट उत्पादन सुरु गरेका हुन्।
हाल नेपालमा पाँच लाख किलो चिया उत्पादन गर्ने उद्योगले भारतबाट चार लाख किलो कोइला किनेर स्टोर गरेर राख्नुपथ्र्यो। एक केजीको २५ रुपैयाँका दरले पनि कम्तीमा एकदेखि सवा करोड रुपैयाँ बराबरको कोइला मौज्दात राख्नुपर्ने झन्झट थियो। अब यो ब्रिकेट व्यवसायलाई अगाडि बढाउन सकियो भने कोइला भन्दा निकै सस्तो पर्ने हुँदा कोइला स्टोर गर्ने रकमले थप चिया उत्पादनमा लगानी गर्न सकिने आदित्य बताउँछन्।
आदित्यको अर्को व्यवसाय पनि छ— त्रिशक्ति ग्यास। १२ वर्षअघि सुरु भएको यो उद्योगमा हाल प्रत्येक महिना ३३ हजार सिलिन्डर ग्यास फिलिङ हुने गर्छ। धरान, इलाम र काँकरभिट्टासम्म उनको ग्यासको व्यापार पैmलिएको छ।
दृढ आत्मविश्वास र नयाँ प्रविधिको प्रयोग गर्न सकियो भने हरेक व्यवसायमा भविष्य राम्रो रहेको बताउँछन् उनी। आदित्य नयाँ प्रविधि बुझ्नकै लागि ६ महिनामा एकपटक आपूmसँग सम्बन्धित व्यवसाय अवलोकन गर्न सकेसम्म कुदिहाल्छन्।
आदित्य अब टी टुरिजम (चिया पर्यटन) अगाडि बढाउन चाहन्छन्। त्यसैलाई लक्ष्य गरेर उनले भद्रपुरमा चारतारे होटल खोल्दै छन्। उक्त होटल हाल निर्माणको क्रममा छ।
आदित्य भन्छन्, ‘टी टुरिजमबाट आर्थिक क्षेत्रमा छलाङ मारेको दार्जिलिङलाई भारतले बनायो तर त्यसभन्दा इलामको फिक्कल र कन्याम दस गुना सुन्दर छन्। त्यसपछि झापालाई पनि टी टुरिजमको केन्द्र बनाउन सकिन्छ।’
एक हजार आठ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिन सफल आदित्य हाल नेपाल चिया उद्योग संघको उपाध्यक्षसमेत छन्। आदित्य नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय युवा उद्यमी पुरस्कार २०७३ बाट र नेपाल जेसिजबाट पनि उत्कृष्ट वर्ष युवा उद्यमी पुरस्कार २०७३ बाटै सम्मानित भइसकेका छन्।