उनलाई जापान पनि यहीँ

उनलाई जापान पनि यहीँ

घरभित्र र बाहिर हेला खपेर गुजाराका लागि एउटा दुहुनो भैंसीबाट सुरु भएको दूधको व्यवसाय अहिले ठूलो व्यवसाय बनेको छ। राष्ट्रपति उद्यमशील महिला पुरस्कारबाट सम्मानित अनिता आफैं पनि चकित छिन्— यो कसरी सम्भव भयो ?


नेपालमा रोजगार नपाएपछि धनगढी उपमहानगरपालिका–३, बडहराकी अनिता केसीका श्रीमान् रतन केसी दुई वर्षकी छोरी कृतिकालाई छोडेर मलेसिया हानिए। २०६२÷६३ सालको आन्दोलनको बेला थियो।

मेनपावरले राम्रो तलब पाउने मुलुक पठाइदिने भने पनि रतनको आम्दानी सोचेअनुसार भएन। घरमा श्रीमनी अनिता र दुई वर्षकी छोरी। विदेश गएका श्रीमान्ले केही महिना पैसा नै नपठाएपछि घरखर्च गर्नै अनितालाई धौ धौ भयो।

सासूससुरा अलग भइसकेका देवरसँग बस्थे। अनितासँग आम्दानीको कुनै विकल्प थिएन। २०६३ सालमा एउटा भैंसी किनिन्। दुहुनो भैंसी किनेकी अनिताले दैनिक लिटरको ५० रुपैयाँका हिसाबले १० लिटर दूध बजार पुर्‍याउन थालिन्।

‘प्यूठानबाट २०२२ सालमै कैलाली झरेको परिवार, कुलमै भैंसी पाल्ने चलन थिएन, मलाई परिवार भित्रैकाले भैंसी पाल्यो भनेर गर्नसम्म हेला गरे’, अनिताले अतीत सम्झिइन्, ‘अहिले नाम पनि छ, दाम पनि, सबैले माया गर्न थालेका छन्।’

तर सुरुका दिन कम्ता पीडादायी थिएनन्। ‘दिनभरि भैंसीको स्याहार अनि बिहानै बजारमा दूध पुर्‍याउन जानुपर्ने’, उनी सम्झन्छिन्, ‘घरमा छोरी हेरिदिने कोही नभएकाले चुन्नीले छोरीलाई पिठ्यूँमा बाँधेर साइकलमा बिहान ४ बजे दूध पुर्‍याउन बजारमा जान्थेँ।’

त्यति बेला भैंसी पालेर बजारमा दूध बिक्री गर्नेलाई हेँलाको दृष्टिले हेर्थे। ‘सँगै पढेका साथीहरूले हेला गर्छन् भनेर म बिहान ३ बजे उठ्थेँ, अँध्यारोमै छोरी पिठ्यूँमा बोकेर साइकलमा दूध बिक्री गरी अँध्यारोमै घर फर्किहाल्थेँ’, अनिताले भनिन्, ‘अहिले त गर्व महसुस हुन्छ।’

नमुना व्यवसाय

धनगढी उपमहानगरपालिका–३, बडहरामा अनितासँग अहिले एक सय ५० उन्नत जातका गाई, भैंसी, पाडा र बाच्छी छन्। कैलालीभरिमै अनिताको केसी गाईभैंसी पालन व्यवसाय नमुनाका रूपमा रहेको छ।

अहिले उनको फर्मले दैनिक साढे तीन सय लिटर दूध बेच्छ। धनगढीको चटकपुरमा उनको आफ्नै केसी डेरी छ। आफ्नो फर्मबाट साढे तीन सय र अरूबाट पनि डेढ सय लिटर गरी उनको डेरीमा दैनिक पाँच सय लिटरभन्दा बढी दूध दही बिक्री हुन्छ।

२०६३ सालमा एउटा भैंसीबाट सुरु गरेको पशुपालन व्यवसाय विस्तार हुँदै गयो। ‘कुनै तालिम पनि होइन, यत्तिको ठूलो फर्म होला भनेर सोचेको पनि थिइनँ, दैनिक गुजाराका लागि एक भैंसीबाट सुरु गरेँ, अहिले यत्तिको ठूलो फर्म नै भएछ’, अचम्म मान्दै अनिताले भनिन्।

अनिताका श्रीमान् रनत केसी मलेसिया तीन वर्ष बसे। उनले महिनामा लगभग १० हजार नेपाली रुपैयाँ मात्रै पठाउने गर्थे। ‘ श्रीमान्को तीन वर्षको मलेसिया बसाइका दौरान मैले तीन भैंसी बनाइसकेको थिएँ। दैनिक ३० लिटर दूध बेचेर महिनामा ४५ हजार रुपैयाँ आम्दानी हुने गथ्र्यो’, उनले भनिन्।

मलेसियाको जागिर छोडेर घर फर्केका श्रीमान्लाई फेरि विदेश जान दिने पक्षमा थिइनन् उनी। तर श्रीमान्मा विदेशमोह कायमै थियो। ‘मलेसियाबाट फर्केपछि  श्रीमान्ले जापान जाने भनेर पासपोर्ट जम्मा गरिसक्नुभएको थियो। तर मैले धेरै सम्झाएर रोकेँ’, अनिता भन्छिन्, ‘जापान जाने रकमले भारतबाट दुईवटा हलिस्टिन जातको गाई ल्याइदिन भनँे, त्यही गाईले अहिले यत्तिको फर्म भएको छ।’

अनिताको फर्ममा मुर्रा र स्थानीय जातका ३९ वटा भैंसीले दूध दिन्छन् भने ५० वटा होलस्टिन, जर्सी र साइवाल जातका दूधालु गाई छन्। आफ्नै १५ कट्ठा जग्गामा उनको फर्म छ। धनगढी बजारदेखि झन्डै एक किलोमिटर दूरीमा रहेकाले दूध बिक्रीमा कुनै समस्या छैन। ‘हाम्रो फर्मको दूध साढे तीन सय लिटर जति हुन्छ, तर हाम्रै डेरीबाट पाँच सय लिटरभन्दा बढीको बिक्री हुन्छ’, अनिताले भनिन्। उनले बाँकी दूध गाउँबाट किनेर बिक्री गर्ने गरेको बताइन्।

फर्ममा वार्षिक १५ लाख रुपैयाँ भुसा र पराल खर्च हुन्छ। गाईभैंसीका हेरालु र दूध दुहुने कर्मचारी गरी सात जना राखिएको छ। ‘सात जनाले रोजगारी पाएका छन्, १० हजारदेखि १५ हजारसम्म तलब दिएकी छु, बस्ने ठाउँ दिएकी छु। म श्रीमान् र छोरी पनि गोठमा काम गर्छौं’, अनिताले भनिन्।

 परिवारलाई पनि बुझाउन मुस्किल

सुदूरपश्चिमको समाजमा अहिले पनि गाईभैंसी पाल्नेलाई हँेलाको दृष्टिले हेरिन्छ। शिक्षित युवा पशुपालनमा लाग्न थालेपछि विस्तारै त्यो दृष्टिकोणमा परिवर्तन आइरहेको अनिताको अनुभव छ। ‘मलाई सम्झना छ— तीन भैंसी पाल्दासम्म, जब       श्रीमान् विदेशमै हुनुहुन्थ्यो, मान्छेले हेँला गरेको महसुस हुन्थ्यो’, अनिताले भनिन्, ‘अहिले       श्रीमान्ले पनि सहयोग गरिरहनुभएको छ, सबैले इज्जतले हेर्ने गरेका छन्।’

बाहिरका मान्छे मात्र होइन, पशुपालनलाई आफ्ना श्रीमान्ले पनि राम्ररी बुझ्न नसकेको अनिताको अनुभव छ। श्रीमान्ले जापान जान ऋण सापटी गरी संकलन गरेको पाँच लाख रुपैयाँले गाई किन्न आग्रह गर्दा श्रीमान्ले सर्त राखेको उनी सम्झन्छिन्। ‘उहाँको एक सर्त थियो। भन्नुभयो कि– दूध बेच्न म बजार जान्नँ। मैले हुन्छ भनेँ।’ गाईभैंसीको गोठमा काम नगर्ने पनि उनको र्ति थियो। ‘किनकि मलाई ‘ब्याक सपोर्ट मात्रै चाहिएको थियो’, अनिताले भनिन्।

तर अहिले उनका श्रीमान् रतन आफंै स्कुटीमा दूध लगेर डेरीमा बिक्री गर्छन्। ‘पाँच महिनासम्म मैले न दूध बजारमा लगेँ, न गोठमा काम गरेँ। त्यति बेला १८ वटा गाईभैंसी भइसकेको थियो। श्रीमती छोरी एक्लै गोठमा काम गरिरहेका छन्, बजारमा दूध पनि लगिरहेका छन्’, भन्छन्, ‘मलाई नराम्रो लागेपछि बल्ल काम गर्न थालेँ।’

अनिता दूधसँगै गाईभैंसी पनि बिक्री पनि गर्छिन्। हालै मात्र उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको एक सहकारीलाई एक लाख पाँच हजार रुपैयाँका दरले २० वटा भैंसी र ७५ हजार रुपैयाँका दरले २४ वटा गाई बिक्री गरेकी छन्। ‘दूधभन्दा पनि गाईभैंसी बिक्रीमा राम्रो आम्दानी हुन्छ। त्यसैले ब्याउने बाच्छी, पाडी बिक्री गर्छु। दूधालु भैंसी र गाई पनि ग्राहकअनुसार किनबेच गर्दै आएकी छु’, अनिताले भनिन्।

प्रदेश सरकार र संघीय सरकारले पशुपालनका लागि धेरै प्रकारका अनुदान दिने गरेका छन्। तर अनिताको फर्ममा कसैको अनुदान छैन। उनले तीन वर्षअघि गोठ सुधारका लागि जिल्ला पशुसेवा कार्यालयबाट लिएको दुई लाख रुपैयाँबाहेक कुनै अनुदान पाएकी छैनन्।

‘राष्ट्रिय वाणिज्य बैंकको महिला उद्यमशील कर्जामा डेढ प्रतिशत ब्याजदरमा १० लाख ऋण लिएकी छु, त्योबाहेक कसैले अनुदान दिन्छु पनि भनेको छैन, माग्न पनि गइएको छैन’, अनिताले भनिन्। उनको विचारमा अनुदान हुनेखानेले मात्रै पाउने गरेका छन्। ‘हामीलाई कसले अनुदान दिन्छ र, हुने खानेका लागि नै पुग्दैन। अरूका गाईभैंसी राखेर अनुदान खानेहरू पनि छन्, त्यसैले कसैसँग हात फैलाइएको छैन’, अनिताले भनिन्।

साक्षर मात्र रहेकी अनिताको यो मेहनत देखेर २०७२÷७३ मा उनलाई जिल्ला र क्षेत्रबाट राष्ट्रपति उद्यमशील महिला पुस्कार दिइएको छ। ‘मैले पशुपालन पनि सम्मानित पेसा हो, यसमा पनि इज्जत र आम्दानी दुवै छ भन्ने प्रमाणित गरेकी छु’, अनिताले भनिन्, ‘मेरो सन्तुष्टिको आधार त्यही हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.