फोहोरमा मलाई
नवलपरासीको रामग्राम सुक्रौलीमा साढे दुई बिघा जग्गा किनेर बायोग्यास प्लान्ट सुरु गर्दा अग्रवाल दाजुभाइलाई यो उद्योग चल्दैन भनेर निराशा देखाउनेहरू धेरै थिए।
भारतको बैङ्लोरबाट ब्याचलर अफ म्यानेजमेन्ट सकेर नेपाल फर्किएका अभिरत अग्रवाल (२६) नयाँ खालको व्यवसाय गर्न चाहन्थे। त्यसैले भैरहवामा अन्य उद्योग चलाएर बसिरहेका काकाका छोरा सन्दीप अग्रवाल (४३) लाई भेटेर उनले प्रस्ताव राखे, ‘वायोविद्युत् उत्पादन गरौं।’
त्यतिबेला भैरहवामा १६ घण्टाभन्दा बढी लोडसेडिङ हुन्थ्यो। लोडसेडिङको समयमै विद्युत् उत्पादन गर्न सके व्यवसाय चल्ने योजना बन्यो। तर विद्युत् उत्पादनको त्यो योजना धेरै दिन टिकेन। अध्ययनकै क्रममा योजना तुहियो। अभिरतले अर्को प्रस्ताव गरे, ‘अब प्रांगारिक मल उत्पादन गरौं।’
यो २०७२ सालको कुरा हो, जति बेला नेपालमाथि भारतले नाकाबन्दी गरेको थियो। मुलुकमा इन्धनको हाहाकार नै थियो। अग्रवाल दाजुभाइ पनि त्यसबाट प्रभावित थिए। एक दिन प्रधानमन्त्री केपी ओलीले भाषण गरेको समाचार सुने। ‘घरघरमा पाइप जोडेर ग्यास चुलो बाल्ने।’ धेरैले यो भाषणलाई रमाइलोका रूपमा लिए। ओलीको खिल्ली पनि उडाए। प्रांगारिक मल उत्पादनको योजना बुनिरहेका सन्दीपलाई यो कुराले छोयो। उनले तत्कालै गुगल सर्च गरे।
युरोपका देशहरूमा यस्ता प्लान्ट धेरै रहेछन्। जहाँ बायोग्यास पाइपबाट घरघरमा पुर्याइएको थियो। हाम्रोमा जसरी विद्युत् र खानेपानीको बिल आउँछ, त्यहाँ त्यसैगरी ग्यासको बिल घरघरमा आउँदो रहेछ। मिटरमा जति चढ्यो, त्यो तिरेपछि जनताले ग्यास बाल्न पाउने।
इन्जिनियर पढेका सन्दीपले जर्मनको त्यो प्लान्ट देखेपछि आप्mना इन्जिनियरिङका साथीहरूसँग पनि सल्लाह मागे। प्रांगारिक मल उत्पादन मात्रै होइन, बायोग्यास पनि उत्पादन गरेर बेच्ने सुझाव उनलाई ठीक लाग्यो। त्यसपछि अग्रवाल दाजुभाइ जर्मनी हानिए, जहाँ ग्यास प्लान्ट लगाइएको थियो। एनविकेट कम्पनीमा पुगेर उपकरण हेरे। एकाध उद्योग चहारे। अनि निर्णयमा पुगे, देश फर्किएर बायोग्यास प्लान्ट सुरु गर्ने र प्रांगारिक मल तथा ग्यास बेच्ने। नवलपरासीको रामग्राम सुक्रौलीमा साढे दुई बिघा जग्गा किनेर प्लान्ट सुरु गर्दा अग्रवाल दाजुभाइलाई यो उद्योग चल्दैन भनेर निराशा देखाउनेहरू धेरै थिए।
सरकारी अड्डामा दर्ता प्रक्रियाका लागि पुग्दा पनि उनीहरूले त्यस्तै कुराको सामना गरे। तर हिम्मत हारेनन्। प्लान्ट बन्दै गयो। २०७४ सालमा अग्रवाल दाजुभाइले योजनालाई साकार बनाए। सिलिन्डरमा ग्यास भरे अनि बोरामा प्रांगारिक मल। उत्पादन सुरु गर्नका लागि अग्रवाल दाजुभाइ कच्चापदार्थको खोजीमा निस्किए।
कुहिने फोहोर, कुखुराको सुली, गाईभैंसीको गोबर, चिनी मिल र आटा मिलको काम नलाग्ने वस्तु उनीहरूको उद्योगका कच्चा पदार्थ हुन्, जसबाट प्रशस्त मात्रामा ग्यास उत्पादन हुन्छ। नगरपालिकाहरूमा पुगेर फोहोर दिनुस् भन्ने अभियान चलाए। चितवनका कुखुरा फर्मबाट सुली ल्याउने व्यवस्था मिलाए। त्यही कच्चापदार्थलाई ३० दिन कुहाएपछि बल्ल ग्यास निस्कियो।
एउटा फरक उद्योग
इन्भिपावर इनर्जी तथा फर्टिलाइजर कम्पनी दक्षिण एसियाकै पहिलो हो। भारतको मद्रासमा सरकारी प्लान्ट छ। तर त्यसको उत्पादन छैन। निजी क्षेत्रबाट २२ करोड लगानीमा पहिलो पटक नेपालमा यस्तो उद्योग सञ्चालनमा आयो, जुन उद्योगले सहरमा उत्पादन हुने कुहिने फोहोर व्यवस्थापन गर्छ। वातावरण प्रदूषण गर्दैन। खेतीकिसानीका लागि प्रांगारिक मल उत्पादन गर्छ।
‘यो विन–विन उद्योग हो, वातावरणलाई पनि फाइदा, उद्योग गर्नेलाई पनि फाइदा’, सन्दीप भन्छन्, ‘अन्य धेरै उद्योग लगाए। तर यो उद्योग लगाएपछि समाजसेवा नै गरे जस्तो लागेको छ। हामी सबैको स्वास्थ्य जोगाउनु पनि समाजसेवा नै हो।’ यी दाजुभाइले रासायनिक मलको प्रयोग हटाउने सरकारी अभियानलाई सहयोग गर्ने गरी प्रांगारिक मल उत्पादनको योजना बनाएका थिए। अन्ततः ग्यास पनि उत्पादन भयो।
यो घरघरमा लगाइने गोबर ग्यास प्लान्टकै विकसित रूप हो। तर यसबाट उत्पादन भएको ग्यासमा मिथेनको मात्रा ९० प्रतिशतभन्दा माथि हुन्छ। काबर्न फ्री, सल्फेट पीपीएम दरमा नगन्य। त्यसैले यो ग्यासले अहिले प्रचलनमा रहेको एलपी ग्यासभन्दा बढी ताप दिन्छ। त्योभन्दा ४० प्रतिशत सस्तो पर्छ।
यो ग्यास उत्पादनले आयातमा थोरबहुत कमी ल्याउने मात्रै होइन, जटिल बनेको फोहोर व्यवस्थापनलाई सहज बनाउँछ। ग्यास बनाउन दक्षिण एसियाकै आधुनिक मेसिन यहाँ जडान गरिएको छ। जहाँबाट ग्यासमा हुने करिब ४० प्रतिशत कार्बनडाइअक्साइड हटाइन्छ। सिलिन्डरमा भर्ने र बजार पठाउने काम त्यसपछि हुन्छ। यो उद्योग व्यवस्थापनको जिम्मा अभिरतसँग छ। सन्दीप बाहिरी रूपमा काम गर्छन्। ग्यास सिलिन्डर भर्ने बजार पठाउने, रिफिलिङ गर्ने काम हुन्छ। कच्चा पदार्थको खोजी, आयात, उद्योग सञ्चालनमा दाजुभाइकै सक्रियता छ।
उत्पादित ग्यास ठूला होटेल, उद्योगमा खपत भइरहेको छ। ठूला आकारका सिलिन्डर भएकाले सर्वसाधारण उपभोक्ताका लागि ग्यास बिक्री भएको छैन। एउटा सिलिन्डरको तौल करिब ७५ केजी हुन्छ। उद्योगले होम डेलिभरीको सुविधा दिएको छ। एउटा सिलिन्डरको मूल्य ६० हजार पर्ने भएकाले उपभोक्तालाई महँगो पर्न जान्छ। सर ग्यास भने एलपीभन्दा सस्तो छ। ‘एलपी ग्यास प्रयोग गर्नेले यो ग्यास प्रयोग गर्दा हरेक महिना पाँच सय रुपैयाँ बचत हुने ग्यारेन्टी गर्छांै’, सन्दीप भन्छन्, ‘तर सिलिन्डर महँगो पर्ने भएकाले सामान्य उपभोक्तामा पुग्न सकेका छैनौं।’ सिलिन्डर बाक्लो र ठूलो आकारको भएकाले केही महँगो परेको हो।
दैनिक २७ टन फोहोर व्यवस्थापन
उद्योगले अहिले दैनिक २७ टन फोहोर व्यवस्थापन गर्छ। यो भनेको बुटवल उपमहानगरबाट एक दिनमा उत्पादन हुने फोहोर जति हो। तर यसमा कुहिनेबाहेक अरू प्रयोग हुँदैन। हाटबजार, होटेल, भान्सा, मासु काटेको फोहोर, सुँगुरको गोबर, ताल आसपासको झार, जंगलमा खसेको पातसमेत यसका कच्चा पदार्थ हुन्। सो वस्तुबाट दैनिक १५ सय किलो अर्थात् १५० सिलिन्डर ग्यास उत्पादन हुन्छ। ग्याससँगै १५ टन मलसमेत उत्पादन हुन्छ।
ल्यान्डफिल्ड होइन, प्लान्ट
अग्रवाल दाजुभाइको अर्को अभियान छ, ‘करोडौं बजेट खर्चेर ल्यान्डफिल्ड साइट होइन, बरु फोहोर व्यवस्थापन गर्न सिकाऔं।’ उत्पादन हुने फोहोर छुट्ट्याए रूपन्देहीका सबै सहरका फोहोर आफूहरूले लैजाने उनीहरू बताउँछन्। ‘नगरपालिकाले त्यसो गर्न सके वातावरण संरक्षणमा पनि ठूलो योगदान पुग्छ’, सन्दीप भन्छन्। बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर नगरपालिकाले ल्यान्डफिल्ड साइट बनाउने योजना बनाइरहेका छन्।
अब ल्यान्डफिल्ड साइटभन्दा ग्यास उत्पादन गर्ने प्लान्ट बनाउन अग्रवाल दाजुभाइको सुझाव छ। जर्मनीका सहरैपिच्छे प्लान्ट छन्। नेपालमा पनि त्यो सम्भव रहेको सन्दीपको भनाइ छ। एउटा प्लान्ट बनाउन १६ करोड मात्रै खर्च हुन्छ। ग्रिन इनर्जी कन्सल्टेन्सीबाट त्यस्तो प्लान्ट बनाएर हस्तान्तरण गर्न सकिने उनी बताउँछन्। सरकारी र निजी स्तरबाट प्लान्ट बने ग्यासमा परनिर्भरता अन्त्य हुने उनीहरूको विश्वास छ।
नेपालमा सुक्रौलीकै जस्ता सात सय प्लान्ट बने भने ग्यास आयात गर्न पर्दैन। कच्चापदार्थमा फोहोर खपत हुन्छ। पशुपालन बढ्छ। प्रांगारिक मलको उत्पादनले रासायानिक मलको आयात प्रतिस्थापन हुन्छ। सात सय प्लान्ट बनाउन एक खर्ब १२ अर्ब रकम चाहिन्छ। करिब दुई लाख जनाले रोजगारी पाउँछन्। ग्यास र मल आयात करिब प्रतिस्थापन नै हुन्छ। ‘सरकारले चाहेमा त्यति कठिन काम होइन, निजी क्षेत्र पनि यसमा जोडिन सक्छन्’, सन्दीपले भने।
गाडी गुडाउने योजना
अग्रवाल दाजुभाइको अर्को योजना पनि छ, पाइपबाट ग्यास घरघरमा पुर्याउने र गाडी गुडाउने। भारतमा यस्तै ग्यासबाट गाडी चलेको देखेका उनीहरू ६ महिनापछि अर्को प्लान्ट थप्ने तयारीमा छन्, जहाँबाट उत्पादित ग्यासले गाडी कुदाउन मिल्नेछ।
‘सरकारले सहयोग गर्यो भने धेरै सहज हुन्छ, वातावरण जोगाउने यस्ता उद्योगमा कर छुट र अनुदानको व्यवस्था हुनुपर्छ’, अभिरतले भने। यो प्लान्टका लागि सरकारले करिब चार करोड अनुदान भने दिएको छ। उनीहरू सिलिन्डरमा उपभोक्तालाई अनुदान दिइयोस् भन्ने पक्षमा छन्। सहरी क्षेत्र भएको स्थानमा पाइपबाट ग्यास पुराउने अर्को योजना छ। तिलोत्तमा नगरपालिकामा प्रस्तावसमेत पेस गरेका छन्। उपभोक्ता, स्थानीय सरकारको रुचि भयो भने यो काम हुनेमा उनीहरू विश्वस्त छन्। ५०–५० परिवारलाई जोडेर पाइपलाई विस्तार र च्याम्बर बनाएर ग्यास घरघरमा पठाउन सकिने योजना उनीहरूसँग छ।
गर्विलो इतिहास
अग्रवाल परिवार उद्यमीकै रूपमा चिनिन्छ। कुनै समय भैरहवाको अग्रवाल कपडा पसल चर्चित थियो। हजुरबुवा लक्ष्मण अग्रवालको शेषपछि भाइहरू उद्योगमा लागे। सन्दीपका दाल उद्योगसहितका अन्य पाँचवटा उद्योग पनि छन्। उनी मसुरोको दाल सिंगापुर, बंगलादेश, दक्षिण कोरियासहित केही खाडी मुलुकमा पनि निर्यात गर्छन्। उनी आफ्ना अरू उद्योगमा पनि बायोग्यास नै प्रयोग गर्छन् जुन अन्य ग्यासको तुलनामा ३८ प्रतिशत सस्तो छ। उनीहरूको एउटै अपेक्षा छ, यस्तै प्लान्ट देशमा अझै बन्दै जाऊन्, सरकारले आफैं बनाओस्। जसले देश आत्मनिर्भर हुन्छ। वातावरण प्रदूषण रोकिन्छ।
प्रतिक्रिया दिनुहोस !