न्यायका गुरु
सहयोगी नभएको खण्डमा विद्यार्थी नै आएर कार्यालयबाट कक्षासम्म डोहोर्याएर ल्याउने र लैजाने गर्छन्। ललितपुर बागडोलस्थित निवासबाटै कलेज आउजाउ गर्छन्।
संघर्ष, मेहनत अनि सिर्जनशीलताका पर्याय। कानुन र न्याय क्षेत्रका अथक साधक। अर्थात् प्रोफेसर माधवप्रसाद आचार्य। २००३ साल पुस १७ गते काठमाडौंको जैसीदेवलमा जन्मिए। पारिवारिक अवस्था सामान्य थियो।
पिता रघुनाथ संस्कृतका पण्डित शिक्षण पेसामा थिए। पिता पण्डित अनि शिक्षक भएकाले घरपरिवार सामान्य ढंगले चलेको थियो। अरू आम्दानीको बाटो भने थिएन। यही बीचमा आचार्य चार वर्षको हुँदै एक्कासि ठूलो बज्रपात खेप्नु पर्यो।
लालनपालन गर्ने र हुर्काउने अभिभावकीय भूमिकामा रहेका पिताको स्वर्गबास भयो। झाडापखालाका कारण अल्पायुमै मृत्युवरण गर्नु परेको थियो। २००७ सालको कुरा थियो, यो। परिवारका एक्लो छोरा थिए आचार्य। कलिलो वयमै पितृत्वको माया स्नेहविमुख भए उनी। जति बेला आफ्ना पिताको अस्पष्ट रेखांकन मात्र याद थियो उनलाई।
घरका मूली मान्छेको निधनपछि परिवारले निकै आर्थिक विशृंखलता झेल्नु परेको वेदना आचार्यले कुराकानीमा सुनाए। दुईवटी दिदीको पनि बिहे भएपछि कलिलो उमेरमै सबै जिम्मेवारी आचार्यको थाप्लोमा आइपर्यो। आर्थिक कठिनाइ र घरायसी समस्याले कसरी पिरोल्यो भने आचार्यको पढ्ने वातावरण बिथोलियो।
सानो छँदा उनले स्कुल पढ्न पाएनन्। आफ्नी आमा र मामाका छोराहरूको रेखदेखका बीच घरमै सामान्य लेखपढ गरे। पछि मात्र एकैचोटि ताहाचलको अभ्यास हाइस्कुलमा गएर ९ कक्षामा भर्ना भए। त्यहाँ पढ्ने वातावरण नभएपछि पुनः विश्वनिकेतन हाइस्कुलतर्फ लागे।
पढ्ने खर्च नभएर विश्वनिकेतनमा छात्रवृत्तिका लागि निवेदन दिए। तर छात्रवृत्ति भने मिलेन। तैपनि उनले पढ्न छाडेनन्। विश्वनिकेतनमा पढ्दाताका केदारभक्त माथेमा उनका सहपाठी थिए।
२०१८ सालमा उनले एसएलसी पूरा गरे। त्यसपछि त्रिचन्द्र कलेजमा आईएमा भर्ना भए। आर्थिक समस्याले जगड्दै थियो। ससाना बाबुनानीलाई ट्युसन पढाएर खर्चको जोहो गर्थे, उनी। ट्युसनले खर्च धान्न नसकेर विद्युत् समितिको कार्यालयमा जागिर गर्दै पढ्दै गर्न थाले। यता द्वितीय श्रेणीमा आईए उत्तीर्ण भए। दिउँसो काम गरेर पैसा जुटाउनुपर्ने बाध्यता थियो। आईए पास भएपछि बीए पढ्न भनेर दरबार हाइस्कुलमा रात्रि कक्षामा भर्ना भए।
सहकारी बैंकमा ‘सुपरभाइजर’को जागिर खुल्यो। आचार्यले आवेदन दिए। संयोगवश नाम निस्कियो। द्वितीय श्रेणीमा आईए उत्तीर्ण गर्ने अर्को व्यक्ति नभएकाले बैंकमा जागिर भएको सम्झन्छन् उनी। त्यसपछि भने उतिविघ्न खर्चले पिरोलिन परेन। बैंकमा काम गर्दागर्दै बीए पूरा गरे। बैंकमा हुँदा मुलुकका विभिन्न ठाउँ घुम्ने मौका मिल्यो। बैंकमा अडिटरको जिम्मेवारी थियो उनको। यता घरमा आमालाई हेर्नुपर्ने अर्को जिम्मेवारी छँदै थियो।
‘मातालाई घरमै छाडौं, पुरानो घर छ। बाहिर लैजाऔं पनि कसरी ? त्यति बेला बडो समस्यामा परेँ म’, कुराकानीका क्रममा आचार्यले ती दिन सम्झन्छन्। त्यति बेला जागिरका क्रममा उनी हेटौंडामा खटाइएका थिए। हेटौंडामा पहिलोपल्ट बैंकको शाखा खोलेर प्रमुखको जिम्मेवारीमा पठाइएका थिए उनी। गाउँगाउँमा पुगेर कृषकसँग मौसमी खेतीपाती र ऋणको विषयमा ‘डिल’ गर्नुपथ्र्यो।
यही फेरोमा वृद्ध आमालाई आफूसँगै लगेर हेरचाह गर्ने कि जागिरै छाड्ने भन्ने द्विविधा भयो। आमालाई सँगै लैजाँदा यता जैसिदेवलको बूढो घर यत्तिकै खाली हुन्थ्यो। आखिर आमाको मायाले उनले त्यो छँदाखाँदाको जागिर छाडे। अनि हेटौंडाबाट घर फर्किए। ‘मैले जागिर छाडेको कुरा कसैलाई भनिनँ। घरमा आमालाई पनि भनिनँ’, आचार्य भन्छन्। आमालाई चिन्ता पर्ला भनेर उनले बिदामा घरमा आएको भनेछन्।
घर फर्केपछि फेरि के गर्ने भन्ने चिन्ता त छँदै थियो। सञ्चय कोषमा जम्मा भएको अलिअलि पैसा निकालेर घरखर्च चलाए। काठमाडौं फर्केपछि यत्तिकै बस्नुभन्दा कानुन पढ्ने सोच उनको मनमा पलायो। उति बेला लको पढाइ पनि दरबार हाइस्कुलमै हुन्थ्यो। ल पढ्दै गर्दा मानविकीभन्दा यही विषयमै लाग्दा पो फाइदा हुन्छ कि जस्तो मनमा लाग्न थाल्यो।
द्विविधाबीच उनले मानविकीबाट नेपाली र अर्थशास्त्रमा डिग्री पढ्ने सोचलाई पूरै त्यागेर कानुनमै केन्द्रित हुने निधो गरे। घरमा बूढी आमाको सेवासुसार, दिउँसो विद्यार्थीलाई ट्युसन र राति बीएलको पढाइ दैनिकी बनेको थियो।
अब भने उनले दायाँबायाँ नहेरी घोटिएर ल पढ्न थालिसकेका थिए। विश्वकान्त मैनाली, शंकरनाथ घिमिरे, थानेश्वर भट्टहरू बीएल पढ्दा रात्रि कक्षामा साथी थिए। आचार्य बीएलमा प्रथम श्रेणीमै उत्तीर्ण भए। सामान्यतया त्यो जमानामा ल विषयमा प्रथम श्रेणी आउँदैनथ्यो। विरलै मात्र हुन्थ्यो।
‘प्रथम श्रेणी आएपछि त के के न हुन्छ भन्थे उतिबेला। बाहिर पढ्न जान पो पाऊँ छु कि भनेर म पनि खुसी भएँ’, आचार्य सम्झन्छन्। बीएलमा प्रथम श्रेणीमा उत्तीर्ण भएकाले आचार्यलाई तत्कालीन राजा महेन्द्रबाट ‘महेन्द्र विद्याभूषण’ प्रदान गरियो। आचार्यको खुसीको सीमा रहेन। पहिलोपल्ट यसरी सम्मानित हुँदा निकै गौरवान्वित बनेको आचार्यले बताए। त्यो दिन साँझ राजा महेन्द्रद्वारा शीतल निवासमा आयोजित भव्य पार्टीमा निम्त्याइएको स्मरण आचार्यको मानसपटलमा अहिले पनि ताजै छ।
प्रथम श्रेणीमा बीएल गरेका कारण परीक्षाफलको भोलिपल्टै ल कलेजमा पढाउन ‘अफर’ आयो। त्यति बेला राम्रो शिक्षकको खाँचो हुनु स्वाभाविक थियो। त्यसपछि उनको जीवनले नयाँ मोड लियो। आचार्यलाई पहिल्यैबाट शिक्षक हुने रहर त थियो नै। उनले सहजै स्वीकारे।
२०२८ सालमा नयाँ शिक्षा योजना लागू हुने चरणमा थियो। अस्थायी शिक्षकका रूपमा उनले ल कलेजमा पढाउन सुरु गरे। ल कलेज पनि दरबार हाइस्कुलबाट प्रदर्शनीमार्गमा सरिसकेको थियो। नयाँ शिक्षा सुरु भएपछि आचार्यले प्रथम ‘ब्याच’लाई पढाए। तत्कालीन प्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, गोपाल पराजुली, सर्वोच्चका न्यायाधीश दीपकराज जोशी, मीरामैयाँ खड्का, टंक मोक्तान, उच्च अदालतका मुख्य न्यायाधीश शम्भुबहादुर खड्कालगायत आचार्यका विद्यार्थी थिए।
लको प्राध्यापनबाट उनी प्रशंसित बने। तीन वर्षमै उपप्राध्यापकमा बढुवा भयो। नयाँ शिक्षा लागू भएसँगै राष्ट्रको उन्नयन गर्ने र नयाँ जागरण ल्याउने लक्ष्य राजा महेन्द्रको थियो। आचार्यले उपप्राध्यापकमा पढाउँदै थिए। यही बीचमा त्रिभुवन विश्वविद्यालयबाट कोलम्बो ‘प्लान’ अन्तर्गतको सिटमा पनि आचार्य नै छानिए।
ल कलेजबाट पूरै तलब दिएर छात्रवृत्तिमा पढ्न उनी बेलायत पुगे। त्यहाँको सेफिल युनिभर्सिटीमा भर्ना भएर फौजदारी कानुन पढे। त्यति बेला एलएलएम पढ्ने प्रायः सबैले अन्तर्राष्ट्रिय कानुन रोज्थे। आचार्यले सेफिल युनिभर्सिटीबाट सन् १९८० मा फौजदारी कानुनमा एलएलएम गरे। बेलायतमै रहेका बेला उनले आमा गुमाउनु पर्यो।
बेलायतबाट फर्केपछि ल कलेजमा फौजदारी विधामै पढाउने प्रस्ताव भयो। त्यति बेला प्राध्यापकको अभाव जुन विषयमा पनि थियो। उनले प्रमाण कानुनका साथमा फौजदारी कानुन पनि प्राध्यापन गरे। बेलायतबाट नयाँ विषय पढेर आएकाले नेपाल प्रहरीको तालिम र प्रशिक्षणमा पनि उनको माग बढ्न थाल्यो। अहिलेसम्मै उनी नेपाल प्रहरीमा विज्ञका रूपमा निरन्तर छन्। सयौं प्रहरी उनीबाट प्रशिक्षित छन्।
२०४२ सालमा कानुन प्राध्यापकको विज्ञापन खुलेको थियो। त्यो विज्ञापनमा आचार्य पनि प्रतिस्पर्धी थिए। तर पनि बढुवामा ‘गडबडी’ भयो। अब्बल हुँदाहुँदै पनि उनी फालिए। तै पनि ‘ठीकै छ’ भनेर चित्त बुझाउँदै उनी सेवामा समर्पित थिए।
फेरि २०४५ सालमा आएर पनि त्यही नियति खेप्नु पर्यो। यो विज्ञापनमा सीधै आचार्यले प्राध्यापक पाउनुपर्नेमा फेरि पनि गडबडी भयो। ‘साह्रै अन्याय भयो। अब अन्याय सहन्नँ। यहाँबाट पनि बिदा लिनुपर्छ भन्ने महसुस भयो त्यस बेला’, कुराकानीमा आचार्यले भन्छन्, ‘जीवनमा यतिका समय कानुन के हो ? मुद्दा के हो ? भनेर पढाएँ। अन्यायविरुद्ध फाइट गर्नुपर्छ कि भनेर पनि मनमा पलायो। अनि त्रिवि सेवा आयोगमा अन्याय भयो भनेर उजुरी पनि गरेँ।’
उजुरीमा एक सातामा निर्णय दिनुपर्नेमा त्यहाँ पनि त्रिवि सेवा आयोगले तीन वर्ष लगायो। आयोग अनिर्णयको बन्दी भयो। यता उजुरीको निर्णय नहुँदै त्रिविले नियमविपरीत ‘चोर बाटो’ तय गरी अरूलाई नै बढुवा दिलायो। आचार्यले फेरि पनि अन्यायविरुद्ध त्रिवि आयोगमा पुनरावेदन गरे। उता अख्तियारलाई पनि गुहारे। यता त्रिविको पुनरावेदन समितिले आचार्यलाई हराइदियो। अख्तियारले पनि उजुरीमा कुनै कारबाही चलाएन।
अन्यायदेखि आचार्य अवाक् थिए। सर्वोच्च अदालतको ढोका ढक्ढक्याउने विचार पनि उनमा नआएको होइन। यही दुष्चक्रका बीच उनमा फेरि अर्को विपत्ति थपियो। २०४६ सालतिरको कुरा हो। दुवै आँखाको ‘रेटिना’मा खराबी देखियो। जँचाउन बेलायतको सेफिल सहरस्थित हालामसायर हस्पिटल गए। बेलायतमा पनि कुनै उपचार हुन सकेन। बरु मेडिकल साइन्समै कुनै ‘ट्रिटमेन्ट’ नभएको कुरा चिकित्सकले सुनाए। ‘सायद मेरो आँखाको कारण बनाएर प्रमोसनमा गडबडी भयो’, आचार्य अनुमान लगाउँछन्।
उनले क्रमशः आँखाको दृष्टि गुमाउँदै गए। उनलाई सहयोगीको आवश्यकता परिसकेको थियो। अन्यायविरुद्ध न्यायालयमा जाने इच्छा पनि मरिसकेको थियो। फेरि न्यायालयमै पनि कहाँ पो चाँडो न्याय मिल्थ्यो र ? आचार्यले ल क्याम्पसमा सहप्राध्यापकबाट राजीनामा दिए। राजीनामापछि भने त्रिविले दीर्घसेवा पदक दिएको छ।
युवराज संग्रौलाले काठमाडौं स्कुल अफ ल (केएसएल) कलेज स्थापना गरे। संग्रौलाबाट प्राध्यापनमा सहयोग गर्न आचार्यलाई प्रस्ताव आयो। आचार्यको मनमा प्राध्यापनको हुटहुटी ताजै थियो। आचार्य फेरि २०५७ सालदेखि केएसएलसँग जोडिए। आचार्यले अभिभावकीय भूमिकामा अध्यक्षको जिम्मेवारी पाए। जतिबेला उनका दुवै दृष्टि गुमिसकेका थिए। केएसएलमा प्राध्यापन र पाठ्य योजनामा मद्दत गर्न दुई जना सहयोगीले उनलाई साथ दिएका छन्। नयाँ पुस्तक वा अदालतका नयाँ फैसला वा ‘जुरिस्पुडेन्स’ आवश्यक भएमा उनीहरूमार्फत सहयोग हुन्छ।
विद्यार्थीका लागि ‘प्रिन्ट नोट’ बाँडेपछि आचार्य कक्षामा उभिएर घण्टौंसम्म खरर्र ‘लेक्चर’ दिन्छन्। ‘लामो समयदेखि अध्ययन अध्यापनमा अभ्यस्त र दखल भएका कारण मलाई कुनै सामग्री या दर्शनको समस्या रहेन’, उनी भन्छन्। सहयोगी नभएको खण्डमा विद्यार्थी नै आएर कार्यालयबाट कक्षासम्म डोहोर्याएर ल्याउने र लैजाने गर्छन्। ललितपुर बागडोलस्थित निवासबाटै कलेज आउजाउ गर्छन्। आउन जान कलेजले नै गाडी र चालकको प्रबन्ध गरिदिएको छ।
कार्यालयमा बस्नका लागि आचार्यलाई कलेजको एक तलामाथि सहज र वातानुकुलित कोठा छ। घरमा पुगेपछि अर्धांगिनी जीवनसाथी र छोराको सहयोग हुन्छ। दुई छोराछोरीमध्ये छोरा चार्टर्ड एकाउन्टेन्ट हुन् भने छोरी अस्ट्रेलियामा आर्किटेक्चरल इन्जिनियर छन्। कार्यालयमा होस् वा घर, दश्य बन्द भए पनि सकेजति आफ्नो काम आफैं गर्छन् उनी।
७२ वर्षमा आइपुग्दा अग्रज गुरुका रूपमा आचार्यले सबैको माया पाएका छन्। झन्डै पाँच दशकको अवधिमा उनले असल र निर्भीक गुरुका रूपमा हजारौंलाई आँखा देखाए।
आधा दर्जन त कानुनका ‘ठेली’ नै लेखिसकेका छन्। उनका ‘फौजदारी कानुन ः एक समीक्षात्मक विवेचना’, ‘क्रिमिनल जुरिस्पुडेन्स’, ‘क्रिमिनालोजी पेन्लोजी’, अपराधशास्त्र, फौजदारी कानुन र फौजदारी न्याय, अपराध शास्त्र, विभिन्न लेखहरूको संग्रह प्रकाशित छन्।
मुलुकमा अझै इमानदार व्यक्तिको अभाव नभएको बताउँछन् उनी। ‘केही भएन भनेर अर्काको आलोचना गरेर मात्रै सिर्जनशीलता हुँदैन’, आचार्य भन्छन्, ‘जो जो जुन ठाउँमा छौं, सबैले इमानदारीपूर्वक देशलाई माया गरेर पछिको पुस्ताका लागि कुनै न कुनै योगदान दिन सकौं।’