बाख्रो वरदान

बाख्रो वरदान

बीउ दिएको एउटा बाख्राबाट यति धेरै बाख्रा फस्टाएको भन्दा कतिपयलाई त पत्यार पनि नलाग्न सक्छ। तर हालसम्म यो परिवारले एक बाख्रो कतैबाट किनेर थपेका भने होइनन्।


 आँगनभरि बाख्राको बथान छ। श्रीमान् श्रीमती दुवै बाख्राका लागि घाँस–दाना खुवाइरहेका छन्। ठूला–साना बाख्रा कराएको आवाज। यो ठाउँ हो— बझाङको झनानाबाट सेती नदी–पुल तरेपछि आधा घण्टाको उकालो हिँडेर पुगिने थलारा गाउँपालिका–६ पिखेतको मान्तोला। धनुदेवी रोकाया र उनका श्रीमान् आनन्द रोकायाको दैनिकी र उनीहरूको बाख्रापालन व्यवसाय हेर्दा जो कसैले पनि उनीहरूको पौरखी कार्यको खुलेर प्रशंसा गर्छन्।

यो जोडीले यसरी खोरभरि बाख्रा होलान्, गाउँठाउँका मानिस बाख्रा किन्न मान्तोलामा आउँलान्, यो एउटा बाख्राका लागि नमुना ठाउँ होला भनेर कल्पनासम्म गरेका थिएनन्। तर मेहनत गरे फल मिल्छ भने जस्तै आज मान्तोला थलारा क्षेत्रकै बाख्रा पाइने ठाउँ भनेर परिचित छ। यसका साथै धनुदेवी र उनका श्रीमान् आनन्द सफल किसानका रूपमा परिचित छन्।

धनुदेवी रोकायाले आमाले दिएको एउटा दाइजोे बाख्रो आफ्ना लागि वरदान साबित भएको बताइन्। एउटा बाख्राबाट सुरु भएको यात्रा अहिले ९५ वटा बाख्रामा पुगिसकेको छ। बीउ दिएको एउटा बाख्राबाट यति धेरै बाख्रा फस्टाएको भन्दा कतिपयलाई त पत्यार पनि नलाग्न सक्छ। तर हालसम्म यो परिवारले एक बाख्रो कतैबाट किनेर थपेका भने होइनन्।

उनको गाउँका अन्य मानिसहरूसँग पनि कुरा बुझ्दा मान्तोलाकी धनु त भगवान् बुहारी हो भन्दा रहेछन्। छिमेकी मोहनलाल रोकायाले भने, ‘एक बाख्रो बीउले यतिका बाख्रा हुनु अचम्मकै कुरा हो।’

२० वर्षको उमेरमा २०५३ सालमा वैवाहिक बन्धनमा बाँधिएकी धनुदेवी रोकाया २०६३ माघमा आफ्नो दुई वर्षको छोरा लिएर माइती गएकी रहेछन्। दूध खाने छोरा लिएर माइत आएकी छोरीलाई स्थानीय चलनअनुसार कोसेली दिएर ‘पोइली घर’ पठाउने प्रचलन छ। यही प्रचलनअनुसार धनुदेवी रोकायाकी आमाले एक बाख्रो र सानो बोका दाइजो दिएकी रहेछन्।

आमाले बाख्रो दाइजो दिने बेला बोका मारेर नातिलाई मासु खुवाउनू, बाख्रो पाल्नू भनेर सम्झाएको धनुदेवीलाई याद छ। आमाले बाख्रो दाइजो दिँदा माइती गाउँबाट बीच बाटोसम्म पुर्‍याएको सम्झना गर्दै धनुदेवीले भनिन्, ‘यसरी एउटा बाख्रोबाट यतिका बाख्रा होलान् भनेर सोचेकी थिइन्, तर जे होस् भगवान्ले साथ दिए, आमाको एक बाख्रो मेरा लागि वरदान भयो।’

धनुदेवीका घरमा २०÷२५ बाख्रा हुने बेलासम्म उनका श्रीमान् भारतमा चौकीदारी गर्थे। उनले बाख्रा बढ्दै छन् यतै घरमा बाख्रापालन गरौं भनेर श्रीमान्लाई सुझाव दिएपछि उनका श्रीमान् भारतको चौकीदारी काम छोडेर घर आएका हुन्। फर्म पनि दर्ता गरेर व्यावसायिक रूपमा बाख्रापालनलाई थप व्यवस्थित गरेका छन्।

घर आएपछि आनन्दले पुरानो गोठमा बाख्रालाई साँघुरो भएको हुँदा घर पछाडि बाख्राका लागि खोर निर्माण गरेका छन्। उनको यो मेहनत र बाख्रा देखेर तत्कालीन जिल्ला पशुसेवा कार्यालयबाट उन्नत जातको बोका पनि दिएको रहेछ। उन्नत जातको बोकाले नश्ल सुधार भएपछि हालका पाठापाठीहरू पनि राम्रा छन्। बाख्रा बढ्दै गएपछि उनले अन्य खेतीपातीको काम पनि घटाएका छन्।

बाख्राको मल उपयोग होस् भनेर उनले मान्तोलामा तरकारी खेती पनि सुरु गरेका छन्। ‘अब मेरो पेसा बाख्रापालन र तरकारी खेती नै हो’ धनुदेवीका श्रीमान् आनन्द रोकायाले भने।
उनीहरूले हालसम्म सात–आठ लाखसम्मका बाख्रा बिक्री गरेको बताए। गाउँमा विवाह हुँदा बोका बढी बिक्री हुने गर्दछन्। केही दिनअगाडि मात्र एक बोका १८ हजारमा उनले गाउँपालिकालाई बिक्री गरेको सुनाए। उनीसँग अझै पाँचवटा खसी पनि छन्।

बाख्रा चराउन ल्याउन ‘ग्वालो’को समस्या भए पनि यो परिवारलाई घरमा भएको कुकुरले ग्वालोको जस्तो काम गरेको छ। जंगलमा पनि बाख्राकै अगाडिअगाडि गएर सुरक्षा दिए जस्तो गरी आउँदा जाँदासँगै जान्छ र यता उति डाँडाकाँडाबाट बाख्रा हेरिरहन्छ। खासगरी स्यालबाट बाख्रा बचाउन कुकुरले धेरै मद्दत गरेको परिवारको भोगाइ छ। बाख्रापालनसम्बन्धी प्राविधिक ज्ञान पाएपछि उनी खसी बनाउने काम पनि आफैं गर्छन्। तर खोर राम्रो नभएकाले समस्या भएको उनको भनाइ छ।

यसपालि गाउँपालिकाले पनि अरू किसानलाई वितरण गर्न ३० बाख्रा धनुदेवीबाट खरिद गरेर लियो। आनन्द भन्छन्, ‘बाख्रा बेचेर छोराछोरीलाई काठमाडौं पढाइरहेको छु।’
यी दम्पतीले बाख्रापालनस“गै मौसमी तथा बेमौसमी तरकारी खेतीलाई पनि जोड दिएका छन्। स्थानीय झनाना बजारमा उनि तरकारी बिक्री गर्छन्। एकलौटी ठाउँ भएकाले उनले घरको वरपर फलफूलका बोट पनि रोपेका छन्।

आनन्द र धनुदेवीलाई गाउ“पालिकाले अगुवा किसानको दर्जा दिएको छ। उनीहरूलाई बाख्रापालन र तरकारी खेतीको बारेमा सिकाउनका लागि स्रोत व्यक्तिका रूपमा गाउ“पालिकाले परिचालन गर्ने गरेको गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.