व्यवसायको सारेगम

व्यवसायको सारेगम

गीतसंगीतमा अब्बल शिवले बाबुको निधनपछि व्यवसायमा हात हाले। संगीतको दुनियाँबाट ओझेल परेर व्यवसायको सारेगम सिक्न थालेका उनको व्यवसाय आज विदेशसम्म फैलिएको छ।


गीतसंगीतबाट दर्शकलाई मनोरञ्जन दिन देशका कुनाकाप्चा दौडिरहने धरानका शिव लामिछाने विक अप्रत्याशित रूपमा व्यवसायमा प्रवेश गरे। गायक तथा संगीतकार उनका लागि व्यवसाय एउटा बाध्यता थियो। तर बाध्यता भनेर उनले उम्किन पाउने स्थिति थिएन।

२०७० सालमा बाबु इन्द्रकुमार लामिछानेको निधनपश्चात् व्यवसायको बागडोर सम्हाल्नु छोराको कर्तव्य बन्न पुग्यो। गायनको स्वतन्त्र दुनियाँमा दौडिरहेका उनलाई करिब साढे दुई करोड लगानीको बाबुको व्यवसाय अगाडि बढाउनु फलामको चिउरा चपाउनुसरह थियो।

एकातिर बाबु गुमाउनुको शोक, अर्कोतिर आफ्नो ‘प्यासन’मा ब्रेक लाग्ने डर। धरान, काठमाडौं, बेलायत र हङकङसम्म फैलिएको करोडौंको व्यापार व्यवसाय सम्हाल्न सजिलो थिएन। गीतसंगीतलाई केही समय रोकेर व्यवसायको सारेगम सिक्दै गरेका ३९ वर्षीय शिव सफल व्यवसायीका रूपमा स्थापित भएका छन्।

बाबुको जग

शिवका बाबुले धरानमा २०५२ सालमा ६० हजार रुपैयाँ लगानीमा सानो सुन पसल थालेका थिए। वराह ज्वेलरी सुन पसलबाट सुरु भएको व्यवसाय वराह डिपार्टमेन्ट स्टोर हुँदै हाल वराह ग्रुपका नाममा नेपालसहित अरू मुलुकमा समेत विस्तार भएको छ। सुरुमा ८० प्रतिशत समय गीतसंगीतमा बिताउने शिव हाल ८० प्रतिशतभन्दा बढी समय व्यापार व्यवसायलाई दिन्छन्।

शिवले वराह ग्रुपमा आबद्ध विभिन्न २३ वटा व्यावसायिक कम्पनीमार्फत नुनदेखि सुनसम्मको कारोबारलाई अगाडि बढाइरहेका छन्। उनले धरान, काठमाडौं, पोखरा र चितवनमा सञ्चालन गरेको वराह डिपार्टमेन्ट स्टोरमा फलपूmल, तरकारी, खाद्यान्न, लत्ताकपडासहित कयौं सामग्री पाइन्छन्। उनले बेलायत, हङकङ र दुबईमा समेत सुनको कारोबार विस्तार गरेका छन्। नेपाली डिजाइनका गरगहनालाई अन्तर्राष्ट्रिय बजारमा पुत्र्र्‍याएको उनी बताउँछन्।

शिवले कृषि क्षेत्रमा पनि लगानी विस्तार गरेका छन्। उनले मोरङको ग्रामथान गाउँपालिकाको तेतरियामा सात बिघा जमिनमा कृषि फर्म सञ्चालन गरेका छन्। उन्नत जातका गाई पालेका उनले दूधबाट चकलेट उत्पादन गर्ने तयारी थालेका छन्। सँगै कुखुरा, माछा, खसीबाख्रासमेत पालेका छन्। मासु व्यवसायमा पनि हात हाल्ने आफ्नो सोच रहेको सुनाउँछन्।

शिवले वराह यातायात प्रालिमार्फत एम्बुलेन्स सञ्चालन गरेका छन्। यातायात व्यवसायमा समेत हात हालेका उनले धरान–काठमाडौं गुड्ने पाँचवटा बस र ११ वटा माइक्रोबस सञ्चालन गरेका छन्। दुई छोरी र एक छोराका बाबु शिवले उनीहरूको अध्ययन पूरा भएपछि आफ्नै व्यवसायतर्फ सँगै हिँडाउने सोचेका छन्।

वार्षिक १५ करोड मुनाफा

वराह ग्रुपद्वारा सञ्चालित २३ कम्पनीको कुल लगानी ६ अर्ब रुपैयाँ छ। बाबुले छाडेर गएका १२ वटा कम्पनी र दुई अर्ब ५० करोडको लगानीलाई वृद्धि गरी ६ अर्बमा पुर्‍याएका उनले थप ११ कम्पनी दर्ता गरी व्यवसाय फैलाएका छन्। विभिन्न बैंकबाट ७० करोड रुपैयाँ ऋण लिएका छन्। वराह ग्रुपको वार्षिक दुई अर्बको कारोबारबाट वार्षिक १५ करोड मुनाफा कमाउने गरेको शिवले बताए।

व्यापारबाट कमाएको रकमले पारिवारिक प्रयोजनाका लागि डेढ अर्ब मूल्य बराबरको घरजग्गा जोडेको पनि शिवले बताए। व्यवसाय नाफामूलकमात्र नभएर सेवा र सुविधामूलक सञ्चालन गर्नसके व्यावसायिक क्षेत्रमा सफलता हासिल गर्न सकिने उनको भनाइ छ। व्यापारमा गुणस्तरलाई प्राथमिकता दिनसके ग्राहकलाई आकर्षण गरी सन्तुष्ट बनाउन सकिने शिवको ठम्याइ छ।
 
एक हजारलाई रोजगारी

शिवले सञ्चालन गरेको वराह ग्रुपमा आबद्ध २३ वटा कम्पनीमा एक हजारले रोजगारी पाएका छन्। डिपार्टमेन्ट स्टोर, सहकारी, सुन कारखाना, कृषि फर्म, होटल र यात्रु बसमा गरी ६ सय ५० जनालाई मासिक तलब खुवाउने गरी नियुक्त गरिएको छ। त्यस्तै दैनिक ज्यालादारीमा काम गर्ने तीन सय ५० गरी एक हजार जनालाई रोजगारी दिएको उनले बताए। कर्मचारीहरूको इमानदारिता, लगनशीलता, मेहनत र पारदर्शिताले गर्दा आफ्नो व्यवसाय प्रगतिपथमा लम्किरहेको शिवको भनाइ छ।

शिवले आफ्नो व्यापार, व्यवसायलाई थप अगाडि बढाउनका लागि विश्वभर रेमिट्यान्स सेवा सञ्चालन गरेका छन्। उनले धरान र काठमाडौंमा सहकारी संस्था सञ्चालन गरी आर्थिक कारोबारको व्यवसायसमेत सञ्चालन गरेका छन्।

धरानमा वराह बचत तथा ऋण सहकारी संस्था र काठमाडौंमा अभिमत बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरी आर्थिक कारोबारसमेत अगाडि बढाइएको उनले बताए। धरानमा सञ्चालन गरेको सहकारीमा तीन हजार तीन सय सेयर सदस्यलाई साढे पाँच करोड र काठमाडौंमा सञ्चालनमा रहेको सहकारीमा एक हजार सात सय सेयर सदस्यलाई सात करोड रुपैयाँ लाभांश वितरण गरेको शिवले बताए। धरानमा सञ्चालित सहकारीले वार्षिक ७० करोड र काठमाडौंमा सञ्चालित सहकारीले सात करोड रुपैयाँको कारोबार गर्दै आएका छन्।
 
विदेशमा सुनचाँदीका गहना

शिवले बेलायत, हङकङ, यूएईजस्ता विकसित मुलुकमा सुन पसल सञ्चालन गरी नेपाली डिजाइनका गहनाको व्यवसाय सञ्चालन गरेका छन्। तीनवटै मुलुकमा नेपालबाट कालिगढ लगेर नेपाली डिजाइनका सुनचाँदीका गरगहनालाई अन्तर्राष्ट्रिय बजारीकरण गरेको उनले बताए।

हङकङमा आफ्ना बाबुले सुरु गरेको व्यवसायलाई थप प्रभावकारी बनाउन सुनचाँदीका गरगहना बनाई बिक्री गर्न थालेको उनको भनाइ छ। नेपाली मौलिक डिजाइनका गरगहनाको माग अत्यधिक रूपमा बढेको र आम्दानीसमेत राम्रो हुने भएकाले अन्य देशमा सुनचाँदीको गहनाको कारोबारलाई विस्तार गर्ने भावी योजना रहेको उनी बताउँछन्। पछिल्लो समय बेलायत र हङकङमा नेपालीको बसोबास बढ्दै गएकाले यी दुवै मुलुकमा नेपाली डिजाइनका सुनचाँदीका गहनामा उनीहरू आकर्षित हुने गरेका छन्।

गायन र समाजसेवा
व्यवसायमा सफलता हासिल गर्दै गएका शिव गायनबाट टाढिएका छैनन्। पाँचवटा गीतिएल्बम बजारमा ल्याएका उनले ६० वटा गीतमा स्वर भरेका छन्। ५५ वटा गीत लेखेका छन्। आफूले लेखेका गीतमा स्वर र संगीत आफैंले भरेका छन्। उनका ‘रेशमी घुम्टो’, ‘चिसो सिरेटो’, ‘चाहे माया गर’, ‘किन दुख्छ मुटु’, ‘शैलुङको चिसो हावा’, ‘जय नेपाल’ बोलका गीतहरू दर्शकमाझ चर्चित छन्। शिवले कृपा दृश्य डिजिटलमार्फत देशविदेशमा सांगीतिक कार्यक्रम गर्दै आएका छन्।

वराह ग्रुपबाट सञ्चालित व्यापार व्यवसायबाट वार्षिक रूपमा कमाएको कुल मुनाफाको एक दशमलव आठ प्रतिशत रकम सामाजिक काममा खर्च गर्ने गरिएको शिव सुनाउँछन्। वराहले गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति, गरिब तथा अशक्त असहायलाई सहयोग र विभिन्न मठमन्दिर र सामाजिक निर्माण र भौतिक पूर्वाधारमा समेत आर्थिक सहयोग गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.