त्यो पहिलो बिजुली घर
ललितपुर : एक सय ७ वर्षअघि नेपालमा पहिलोपटक बत्ती बल्यो खोकनाका मदनकृष्ण डंगोलको घरमा। उनको घर ०७२ सालको भूकम्पले बस्न नमिल्ने बनायो। इतिहास बोकेको घरलाई संग्रहालय बनाउन वडा कार्यालयले पहल गर्यो। हातले लेखिएको मुलुकी ऐन, पुराना कथा, किताब एवं खोकनाका नेवारी संस्कृति झल्कने परम्परागत सरसामान राखियो। ती सामानको सुरक्षा सुनिश्चित भएन। त्यसपछि ताल्चा लाग्यो।
ऐतिहासिक महत्त्व बोकेको घरलाई राज्यले हेला गरेको गुनासो खोकनाबासीको छ। स्थानीय कृष्णभगत महर्जन भन्छन्, ‘यस्ता महत्त्वपूर्ण सम्पदालाई राज्यले बचाउनुपर्ने हो।’ यस्ता सम्पदाको प्रचार गर्न सके खोकनामा पर्यटक अझै बढी भित्त्याउन सकिन्छ। वडा नम्बर २१ का अध्यक्ष रवीन्द्र महर्जनले आगामी दिनमा बजेट पारित गरेरै संरक्षण गर्न चाहेको बताए। ‘पुरानो स्वरूपमा बनाएर त्यसको प्रयोग गर्न प्रयासरत छौं’, उनले भने, ‘जस्तो छ त्यस्तै राख्नुपर्छ भन्दै आएको छु।’
डंगोलको घरमा बत्ती बालिनुको पछाडि फरक इतिहास छ। चन्द्रशमशेरले १९६८ सालमा फर्पिङमा बिजुली निकाले पाँच सय किलोवाट क्षमताको। त्यसको नाम थियो ‘चन्द्रज्योति हाइड्रोपावर’। यसलाई दक्षिण एसियाको पहिलो विद्युतगृह मानिन्छ। यहाँ पुग्न खोकनाबाट करिब ४० मिनेट हिँडे पुग्छ। राणा र राजाका दरबारमा बाल्न निकालिएको थियो बिजुली। ‘तर रूढिवादी सोच र अनिष्ट हुने त्रासले दरबारले बत्ती बाल्न चाहेन’, महर्जनले भने, ‘परीक्षणका लागि खोकनाका यी घरमा बत्ती बलेका रहेछन्।’ खोकनाका ४÷५ घरमा झिलिमिली बत्ती बलेका थिए। मदनकृष्ण डंगोलले हजुरबुवा (सिद्धिलाल डंगोल) को पालामा बिजुली बलेको बताए। ‘राणासँग नजिक सम्बन्ध हुनेको घरमा बत्ती बलेको थियो’, उनले भने।
लिच्छविकाल तथा मल्लकालमा मानिस खोकनाको बाटो आउजाउ गर्थे। फर्पिङ जाने बाटो भनेकै खोकना मात्रै थियो। खोकना र फर्पिङ एउटै भेगमा पथ्र्यो। राजा महेन्द्रको पालामा राजनीतिक विभाजन भएपछि खोकना छुट्टियो। त्यसपछि खोकनाका ज्यापू र राणाको सम्बन्ध नजिकिएको नन्दश्याम डंगोलले बताए। ‘मेरा तीनैजना हजुरबुवा दरबारमा काम गर्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँहरूको पालामा बत्ती बलेको थियो।’
फर्पिङमा बिजुली निकाल्दा खोकनाले करिब एक लाख जनाको श्रमदान गरेको थियो। दैनिक ५०÷६० जना खोकनावासी श्रमदान गर्न जान्थे। त्यसबेला सात लाख २५ हजार रुपैयाँको लगानीमा बनेको आयोजनामा देशभरिका सैनिक तथा कैदीले काम गरेका थिए। तर यो जलविद्युत् २०३८ सालमा बन्द भयो। त्यसपछि कुलेखानीबाट ६० मेगावाट बिजुली निकालियो।
पहिलोपटक बत्ती बालिएको घरजस्तै खोकनामा इतिहास बोकेका धेरै संस्कृति र सम्पदा छन्। समयमै यस्ता महत्त्वपूर्ण सम्पदा संरक्षण गर्न सकिएन भने इतिहास मरेर जाने महर्जन बताउँछन्। नेपाल एनर्जी सिचुएसनको तथ्यांकले देशको २४ प्रतिशत जनसंख्या अझै विद्युतीय पहुँच बाहिर छ। तर सय वर्षअघि गरिएको प्रयत्न यतिबेला महत्त्वहीन भइरहेको र खेर गइरहेको खोकनावासीको गुनासो छ।
प्रतिक्रिया दिनुहोस !