अस्थायी साधन प्रयोग गर्ने बढे
ललितपुर : स्वास्थ्य कार्यालय ललितपुरको पछिल्लो तथ्यांकले गर्भनिरोधक साधन प्रयोग गर्नेमा काठमाडौंभन्दा ललितपुर अगाडि रहेको देखाएको छ। काठमाडौंका २८ प्रतिशतले परिवार नियोजनका साधन प्रयोग गरे पनि ललितपुरका ५० प्रतिशतले प्रयोग गरेको देखिएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका सूचना अधिकारी हरिओम पोखरेलका अनुसार ०७४/७५ मा १८ हजार १ सय २२ जना २० वर्षमाथिका देखिए। तर, १३ सय ५६ जना २० वर्षमुनिका छन्।
त्यस्तै, ०७३/७४ को तथ्यांकमा पनि ९ हजार ४ सय ८० जना २० वर्षमाथिका र ७ सय ७ जना २० वर्षभन्दा कम उमेरका छन्। ‘सयमा एक जना कम उमेरका छन् भन्न सकिन्छ’, पोखरेलले भने, ‘ललितपुरको दुर्गमतिर यस्तो समस्या हुन सक्छ।’ उनले गोपनीयताको हकलाई ध्यानमा राख्दै स्वास्थ्य जाँच गर्न आउनेका नाम लेख्न नमिल्ने बताए। गर्भपतन रजिस्टरमा थर मात्रै लेखिन्छ। ठेगाना र थरको आधारमा कहाँ र कुन समुदायका धेरै गर्भपतन गर्न आए हेर्न सकिने उनले जानकारी दिए।
०७४/०७५ मा १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको संख्या १ लाख १० हजार ९ सय ६९ थियो। हालको संख्या १ लाख १३ हजार ४ सय ९५ छ। यसै संख्यालाई गर्भनिरोधक साधन प्रयोग गर्ने समूह मानिएको पोखरेलले जानकारी दिए। परिवार कल्याण महाशाखा टेकुका तथ्यांक अधिकृत दीपक दाहालले प्रदेश ३ मा ललितपुर गर्भनिरोधक साधन प्रयोग गर्नेमा सबैभन्दा अगाडि रहेको बताए।
प्रतिक्रिया दिनुहोस !