गाउँपालिका कार्यालयबाट टेन्डर फाइलै गायब
सिन्धुली : फिक्कल गाउँपालिका कार्यालयबाट गत साता टेन्डर फाइल गायब भएको छ। पहिलो कम्पनीले काम नगर्ने भएपछि दोस्रोलाई जिम्मा दिने तयारी गर्दा कागजपत्र नभेटिएको प्रमुख प्रशासकीय अधिकृत दीपक रिजालको भनाइ छ।
‘न्यून रकम कबोल गर्ने श्रीकृष्ण दाहाल जेभीसँग निर्माण कार्य सम्पन्न गर्ने आधार माग गर्दै सम्झौताका लागि पत्र पठाएका थियौं’, उनले भने, ‘तर, काम गर्न नसक्ने पत्र गाउँपालिका कार्यालयलाई पठायो।’
वडा नम्बर ३ चनौटेमा ७९ लाख २६ हजार रुपैयाँ लागतमा स्वास्थ्य चौकी भवन बनाउन गाउँपालिकाले फागुन २ मा टेन्डर खोलेको थियो। १२ निर्माण कम्पनीले आवेदन दिएका थिए। त्यसमध्ये श्रीकृष्ण दाहाल जेभी र सिद्धकाली निर्माण सेवाले न्यून रकम कबोल गरेका थिए। कबोल गरिएको रकमअनुसार कामको जिम्मा दिन सम्झौता भए पनि पछि श्रीकृष्णले काम नगर्ने जनाएको थियो।
सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ अनुसार उक्त कम्पनीलाई कारबाही र धरौटी जफत गर्दै सिद्धकालीलाई सम्झौताका लागि आसयपत्र प्रकाशन गरिएको थियो। उक्त कम्पनीले ५१ लाख रुपैयाँमा काम सम्पन्न गर्ने कबोल गरेको थियो। ‘सम्झौताको सम्पूर्ण काम सकी कार्यादेश लिने तयारी गर्दा कार्यालयमा कागजात फेला परेन’, उनले भने, ‘टेन्डर त नियमअनुसार भएको हो तर कागजपत्र कसरी हरायो भन्ने गम्भीर छ। यस विषयमा म आश्चर्यमा परेको छु।’ गाउँपालिकामा आकस्मिक बैठक बसी छानबिनका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको उनको भनाइ छ।
सिद्धकालीका प्रोप्राइटर रुमबहादुर राईले सम्झौताका लागि आफूले पेस गरेको बैंक ग्यारेन्टी, आवश्यक कागजपत्र र सम्झौता किताबसमेत गाउँपालिकाले नियोजित तरिकाले गायब पारेको बताए। ‘मैले ११ लाख ५० हजारको बैंक ग्यारेन्टीपत्रसहित आवश्यक कागजात बुझाएर सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको थिएँ’, उनले भने, ‘हाकिम सा’बले अध्ययन गरी सही गरी पठाइदिन्छु भन्नुभएको थियो।’
निर्माण व्यवसायी संघ सिन्धुलीका उपाध्यक्ष उद्धवप्रसाद दाहालले यो घटनालाई लापरवाहीको पराकाष्ठाको संज्ञा दिए। कर्मचारीकै मिलेमतोमा टेन्डरका कागजपत्र चोरी भएको आरोप उनले लगाए। ‘पहिलो फर्मलाई दिनुपर्ने ठेक्का दोस्रो फर्मसँग सम्झौता गरियो। सम्झौतापछि कागजपत्र हरायो’, उनले भने, ‘यो नजिकको निर्माण कम्पनीलाई टेन्डर पार्ने खेल हो।’
गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले कर्मचारीको लापरवाहीका कारण टेन्डर फाइल हराएको बताइन्। उनका अनुसार आवश्यक छानबिनका लागि जिल्ला प्रहरीमा पत्र पठाइएको छ। मुचुल्कासहित निवेदन आएकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यही वर्ष निर्माण सम्पन्न हुनुपर्ने भवन फागुनमा मात्र टेन्डर भएको थियो।