अपहरित बालक हत्या : आमा भन्छिन् - ‘एक पटक छोरा देखाइदेऊ’
(ढल्केबर) धनुषा : ‘मेरो राजाबाबु मलाई छोडेर कहाँ गयो,’ ३५ वर्षीय रेनु साह अढाई वर्षीय काखे छोरो आर्यन खोज्दै चिच्याइचिच्याई रोइरहेकी थिइन्। आफन्तले उनलाई सम्झाइरहेका थिए। १२ वर्षीया छोरी अर्चना पनि आमासँग भन्दै थिइन्, ‘मेरो भाइ आँगनमा खेल्दै छ, एकछिनपछि आउँछ।’ आमालाई सम्झाउँदै गर्दा अर्चनाका पनि आँसु झरिरहेका थिए।
तर अर्चनाले भने जस्तो आर्यन आउनेवाला थिएनन्। उनी त कहिल्यै नफर्किने गरी कालको मुखमा परिसकेका थिए। सोमबार साँझ गाउँबाटै अपहरणमा परेका आर्यनको घाँटी रेटी हत्या गरेर बगैंचामा फालेको अवस्थामा शव भेटिएको थियो।
‘बालकलाई हामीले जिउँदै फेला पार्न हराएको बेलादेखि नै खोजिरह्यौं’, जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर कोइरालाले भने, ‘तर मंगलबार बिहान एकाएक घाँटी रेटी हत्या गरेको अवस्था शव भेटियो।’ पछाडिबाट घाँटी रेटिएको अवस्थामा बालक भेटिएको उनको भनाइ छ।
प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान थालेको छ। घटनास्थलबाट इलाका प्रहरी कार्यालय ढल्केबर एक किलोमिटर दूरीमा छ। ‘सर, मेरो राजाबाबु कहिले भेट्छ,’ रेनुले सोधिन्।
छोराले ‘माई (आमा)’ भनेर बोलाउने तोते बोली रेनुको मानसपटलमा ताजै छ। ‘मेरो छोरो काखमा राखिदेऊ। एक पटक छोरो देखाइदेऊ’, पापीहरूले बाबुको हत्या कसरी गरे होलान्’, उनी भक्कानिइन्। मृतकका बाबु शम्भु साह वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया छन्।
अबोध बालकको हत्याले ढल्केबर शोकमा डुबेको छ। मंगलबार गाउँलेहरूको चुलोमा आगोसमेत बलेन।
‘समाजमा सुरक्षित भइन्छ भन्ने आत्मविश्वास गुमेको छ’, मृतक आर्यनका काका सञ्जय साहले भने, ‘समाजमा हिजोआज के भइरहेको छ, बुझ्न सकिएन।’
गाउँमै शोकमा
अबोध बालकको हत्याले ढल्केबर शोकमा डुबेको छ। मंगलबार गाउँलेहरूको चुलोमा आगो बलेन। समाजमा बढ्दै गरेको असुरक्षाले स्थानीयको होसहवास उडेको छ।
छोरा आर्यनलाई दालभात खुवाएर सोमबार दिउँसो छोरीहरूलाई भाइ हेर्न भन्दै रेनु घाँस काट्न खेततिर गएकी थिइन्। गाउँका बालबालिकासँग छिमेकमै खेलिरहेका आर्यनको साँझ साढे पाँच बजे अपहरण भएको थियो।
हत्याको कारण ‘दुस्मनी’
इलाका प्रहरी कार्यालय ढल्केबरका टोली र गाउँलेले रातभर बालकको खोजी गरेका थिए। तर बिहान आफ्नै घरपछाडिको बगैंचामा हजुरबुबा पीताम्बर साहले नातिको शव देखेका थिए।
‘एक वर्षअघि हाम्रो परिवारमाथि छिमेकीका छोराले गर्न नहुने काम गरे। प्रहरीमा उजुरी हाल्दा छिमेकीसँग दुस्मनी भएको थियो,’ पीताम्बरले भने, ‘छिमेकीले भनेको नमान्दा उनले भनेका थिए, आज न भोलि बदला लिएर छोड्छौं।’ नातिको हत्या गरेर सायद त्यसैको बदला लिए जस्तो शंका भइरहेको उनले सुनाए।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर कोइराला नेतृत्वको टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ। प्रहरीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर सरोज रायले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !