महाकालीका वासिन्दालाई पानीकै चिन्ता
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका सेराकी तारा कार्कीलाई सुख्खा मौसम सुरु भएयता खानेपानीकै चिन्ता छ। सुख्खा मौसमसँगै गाउँमा खानेपानीको अभाव भएपछि नदीको पानीले गुजरा गर्नुपरेको स्थानीय तारा कार्कीले बताइन्।
उनले भनिन्, 'सुख्खा मौसम सुरु भएसँगै खानेपानीको हाहाकार हुन्छ। हामीले महाकाली नदीको दूषित पानीको प्रयोग गर्न बाध्य छौं। कतिपयले परमलीगाड नदीको पानी प्रयोग गर्दै आएका छन्।'
माघ फागुन महिनादेखि नै गाउँमा खानेपानीको समस्या हुने गरेको स्थानीय देवकी कार्कीले बताइन्।उनले गाउँमा आउने पानीको मुहानमा नै पानी सुक्न थालेको बताइन्।
आफूहरुले गाउँमा भएका समस्या पहिचानका लागि सशक्तीकरण केन्द्र बनाएर समस्या राख्ने गरेको स्थानीय धाना जोशीले बताइन्। उनले भनिन्, 'हामीले गाउँमा भएको खानेपानीको समस्याका बारेमा नगरपालिकाको समेत ध्यानाकर्षण गराएका छौं । खानेपानी निर्माण गर्छौ भन्ने आश्वासन त पाएका छौं तर कहिले निर्माण हुनेबारे जानकारी छैन।'
सेराका एक सय बढी घरपरिवारले सुख्खायाममा प्रत्येक वर्ष खानेपानीको समस्या झेल्दै आएका छन्। केहीले परमलीगाड नदी र केहीले नजिकैको महाकालीबाटै ल्याएर खानेपानी पिउने गरेको स्थानीय पुष्कर कार्कीले बताए। उनले भने, 'हामी तटीय क्षेत्रका बासिन्दाले विभिन्न समस्या झेल्दै आएका छौं। सबैभन्दा बढी हामीलाई खानेपानीको समस्या छ। यो समस्या समाधानका लागि सबैसँग आग्रह गरेका छौं।'
खानेपानीका लागि स्थानीयले नगरपालिकासँग माग गरेको सशक्तीकरण केन्द्रकी सहजकर्ता ममता कार्कीले बताइन्।उनले केन्द्रमार्फत वडा र नगरपालिकामा खानेपानीको समस्या समाधानका लागि निवेदन दिएका छौं।'
तिरखडेनी र भेक्करमा खानेपानी योजना बन्ने
सेराको जस्तै खानेपानीको समस्या झेलिरहेका दशरथचन्द नगरपालिका १० तिरखडेनी र भेक्करमा खानेपानीको समस्या हट्ने भएको छ। खानेपानीको समस्या समाधानका लागि महाकाली नदीबाट पम्पिङ प्रणालीबाट खानेपानी योजना निर्माण गरिने नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए।
उनले भने, 'हामीले नदी किनाराका बासिन्दाको खानेपानी समस्याको लागि पहल गरिरहेका छौं।स्थानीयको आग्रहअनुसार महाकालीको पानी पम्पिङ प्रणालीबाट तानेर खानेपानीको व्यवस्था गर्ने तयारी गरेका छौं।' केही समय अघि तीरखडेनी र भेक्करमा खानेपानीको अभावबारे अन्नपूर्णपोस्टडटकममा समाचार प्रकाशित भएको थियो।
दशरथचन्द नगरपालिका,दशरथचन्द नगरपालिका-१० को कार्यालय र ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज रुडेस बैतडीको संयुक्त ६ लाखको लगानिमा खानेपानी योजना निर्माणका लागि डिजाइन स्टमेट भइरहेको रुडेस बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताए। उनले भने, 'तटीय क्षेत्रका नागरिकले धेरै पटक खानेपानीको समस्याका बारेमा कुरा उठाए। अहिले नगरपालिका, वडा कार्यालय र स्थानीयको पहलमा खानेपानी बन्न भएको छ।'
प्रतिक्रिया दिनुहोस !